गीतकार काजीराजको ‘तर्कना’ गीति संग्रह सार्वजनिक

गीतकार काजीराजको ‘तर्कना’ गीति संग्रह सार्वजनिक


नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गीतकार काजीराज शाक्यको ‘तर्कना’ गीति संग्रहको बिहीबार साँझ राजधानीमा लोकार्पण गर्नुभयो । जीवनका भोगाइ, पे्रम, समर्पण र सामाजिक परिवेशलाई उजिल्याइएका १० वटा गीत यस एल्बममा संगृहीत छन् । गायक रबिन शर्मा, संगीता शाक्य थापा संगीता राना प्रधान, आनन्द कार्की, रामकृष्ण ढकाल, यम बराल, अञ्जु पन्त, निशा देसार, मिलन अमात्य र हरिशरण साय्मीले यसमा स्वर दिनुभएको छ ।

यस एल्बममा गीतकार स्वयं र अर्का संगीतकार हरिशरण साय्मीले संगीत भर्नुभएको छ । विन्धवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको यो गीति संग्रहको मूल्य रु २५० रहेको छ । यो शाक्यको चौथो सांगीतिक कोशेली हो । यसअघि उहाँले ‘झंकार’, ‘बैसालु यौवन’ र ‘नौलो तरंग’ नामक गीति संग्रह नेपाली संगीत बजारमा ल्याइसक्नुभएको छ । नेपाल भाषाको ‘निभाः लुईवं’ उहाँको पहिलो गीति संग्रह हो जुन विसं २०५६ मा बजारमा आएको थियो ।

सो अवसरमा कुलपति श्रेष्ठले जीवनका तितामिठा भोगाइलाई गीतकारले उत्कृष्ट शब्द चयनबाट अभिव्यक्त गर्न सकेको भन्दै सर्जकको प्रशंसा गर्नुभयो । विन्धवासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुवास रेग्मीले स्रष्टा र व्यवसायी ढुँगा र माटो जस्तै रहेको र आफ्नो कम्पनीले स्रष्टालाई थोरै भएपनि लेखकस्व प्रदान गर्र्ने जमर्को गर्दैआएको बताउनुभयो । गीतकार शाक्यले अर्काको मनमा गुम्सिरहेका भावलाई आफ्नै भोगाइसँग जोडेर आफूले तर्कना गर्ने प्रयास गरेको विचार व्यक्त गर्नुभयो । रासस