‘जिम्मेवार व्यवसायिक सम्मेलन’ हुँदै

‘जिम्मेवार व्यवसायिक सम्मेलन’ हुँदै


नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्नका लागि यही साउन १९ र २० गते दोश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्दैछ । नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचार प्रसार गर्न राष्ट्रिय व्यवसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयासहरु गर्दै आइहरको छ ।

आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्यज्योतिले दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल गरिने कार्यक्रम रहेको बताए ।  यस सम्मेलनले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि नयाँ कानूनको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने दाबी समेत आयोजकको रहेको छ ।

नेपाल सरकारले नयाँ औद्योगिक व्यवासाय ऐन २०७३ र नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति अन्तर्गत तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने उद्योग व्यवसाय र वित्तिय संस्थाहरुमा व्यवसायिक सामाजिक उत्तरदायित्वलाई बाध्यकारी बनाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।