किन मिलेनन् राजा महेन्द्र र बीपी ?

किन मिलेनन् राजा महेन्द्र र बीपी ?


– कुसुम भट्टराई

राजा महेन्द्र नारायणहिटीमा, बीपी कोइराला सिंहदरबारमा । तर यी दुई व्यक्तित्वबीच सहकार्य हुन सकेन । अहिले पनि कतिपय मानिसहरू भन्ने गर्छन्, यी दुई प्रतिभाशाली व्यक्तित्वबीच सहकार्य भएको भए देशको विकास धेरै पहिले भइसक्थ्यो होला ।

बीपी र महेन्द्र किन नदिका दुई किनार झैँ भए त ? राजा महेन्द्रले ०१७ सालमा शासन हातमा लिएपछि सरकारमा मन्त्रीसमेत भइसकेका पुराना राजनीतिज्ञ राजेश्वर देवकोटाको विश्लेषणमा शक्ति र संस्कारले यी दुबै नेता परस्पर विपरीत ध्रुवमा थिए ।

महेन्द्र परे राजाको छोरा । उनी दरबारको आफ्नै रीतिरिवाज, भाषा र मान्यतामा हुर्किएका । राणाहरूले थुनेर राखे पनि व्यवहारमा उनीहरू राजाप्रति राजकिय मर्यादा नै राख्थे । त्यो बेलामा राजा भनेपछि आम जनतामा भक्ति श्रद्धा गहिरो थियो । राजाको आलोचना हुँदैनथ्यो । किनभने शासन राणाहरूले गरे । अवगालजती राणाहरूकै थाप्लोमा जान्थ्यो । राजा त दोषरहित र दागरहित भएर बसेका ।

प्रधानमन्त्री बीपी कोइराला जनताका छोरा । उनी भारतमा पढेका । त्याहाँ नयाँ जागरणको बेला भिन्नै प्रकारको बातावरण थियो । बिपी त पछि सोसलीष्ट पनि बने । सोसलीस्ट भनेपछि समानताको व्यवहार गर्नुपर्छ भन्ने मान्यता । कमरेडशीप । उनका बाबु पनि क्रान्तिकारी स्वभावका मान्छे । बीपीको भाषा, सोच र स्वभाव समाजवादी खालकै विकास भयो ।

‘नेपाल आएर बीपी जब गृहमन्त्री भए, उनमा राजकीय भाषा, व्यवहार, तौरतरिका र संस्कार नै थिएन । राजा त्रिभुवनलाई पनि त्यो कता–कता बिझेको थियो, उनको रहन सहन र बोलीचाली । महेन्द्रलाई पनि पाच्य भएन’, देवकोटाको विश्लेषण छ ।

बिपी जानी बुझीकन राजाको मानहानी गर्थे । राजाहरू धार्मिक आस्थामा पालीनुपर्ने । राजाहरूको जिवनको आधार नै धार्मिक मान्यता । बीपीको दृष्टीकोण भने समाजवादी । उनले एकपटक भनेछन्, ‘यो पशुपतिनाथलाई म्युजियममा लगेर राखीदिए हुन्छ ।’ बीपीको त्यो भनाई धेरै आलोचनाको विषय भयो ।

यसरी बिउ नै अलग अलग विकसीत भएर आएकाले गृहमन्त्रीबाट छुटेपछि बिपीलाई राजाको नजिक हुनुपर्ने कुनै कारण भएन । देवकोटाका अनुसार २०१५ सालमा प्रधानमन्त्री भएपछि भने उनले प्रधानमन्त्री पद धान्न जे जे सिक्नुपर्ने हो, सिके । त्यसबेला रिझाउनुपर्ने दुईटा पक्ष थिए । एउटा राजा, अर्को हिन्दुस्तान । बहुमतमा आएपछि बीपीले दिल्लीको मुख पनि सुंघे । नेहरूबाट ‘तपाई प्रधानमन्त्री भए पनि हुन्छ’ भन्ने क्लियरेन्स लिए ।

यता राजालाई पनि रिझाउन थाले । पशुपतिको दक्षीणतीरको ढोकामा राजाको मुर्ती राख्ने परम्परा अनुसार राजा महेन्द्रको मुर्ती राखीयो । त्यसको उदघाटनको अवसरमा प्रधानमन्त्रीको हैसियतले भाषण गर्दै बीपीले ‘राजाहरू भनेका विष्णुका अवतार हुन’ भनेर राजाको चाकडी गर्न खोजेको देवकोटाको दावी छ । कुनैबेला ‘पशुपतिलाई म्युजियममा राख्नुपर्छ’ भन्नेले ‘राजा विष्णुका अवतार हुन’ भने । यसबाट उनमा कसरी राजासँग मिलेर जाने भन्ने चिन्ता देखिन्छ । दिल्लीको क्लीयरेन्स आएकाले राजालाई पनि रिझाउन पाए टिक्न सक्छु भन्ने उनलाई लागेको थियो ।

‘बीपीले राजालाई रिझाउने केही कला सिके पनि त्यो सिकेको कुरा भो, स्वभावीक संस्कार भएन । मातृकाप्रसाद दरबारमा काम गरेकाले उनमा त्यो कला संस्कारमै थियो, बीपीमा भएन । यसरी राजा महेन्द्र र वीपीवीच कार्यशैली र स्वभाव नै मिलेन । यसले नै अन्र्तविरोध सिर्जना ग¥यो’, देवकोटाको दावी छ ।

प्रधानमन्त्री वीपीमा चाँही संघर्षको संस्कार थियो । अध्ययन ज्ञानको हिसाबले बीपी धेरै माथि थिए । राजा महेन्द्रले त्यति पढने अवसर पनि पाएनन् । राजा आफैराज्य गर्दै आएका । सर्वेसर्वा आफै भएर खेलीरहेका । निर्वाचीत सरकारलाई शासनसत्ताको बागडोर दिएपछि राजाले आफुलाई रित्तो महसुस गर्न थाले । आम निर्वाचनको परिणामपछि बीपीलाई भारी अनुभव भयो, महेन्द्रलाई रिक्त अनुभव भयो । यसले नै दुबै नेतावीच ‘टसल’ उत्पन्न गर्न थाल्यो । कारण थियो, संस्कार र शक्तिको असन्तुलन । राजा महेन्द्र र बिपीवीच शक्ति र संस्कार दुइटैको मेल हुन सकेन । एउटालाई शक्ति थुपरीएको, अर्को शक्ति हराएको ।

कसै कसैले ‘राजा महेन्द्र र बिपी मिलेर गएको भए नेपाल बन्थ्यो’ पनि भन्ने गरेका छन् । तर देवकोटालाई त्यस्तो लाग्दैन । ‘त्यो एउटा परिकल्पना मात्र हो । इतिहासको अध्ययन गर्नेहरूलाई त्यस्तो लागेको हुनसक्छ । तर राजा महेन्द्र र बिपीको संस्कार नै फरक भएकाले दुईजना मिलेर गएको भए झन नराम्रो पो हुन्थ्यो की ?’, उनी प्रश्न गर्छन् ।

राजा र प्रधानमन्त्रीबीच शाषनाधिकारकै बिषयमा मतभेद हुन थाल्यो । कांग्रेसले गरेका कतिपय निर्णय राजालाई मन परेन । जंगलको राष्ट्रियकरण, बिर्ता उन्मुलनलगायतका कतिपय निर्णयले दरबारका भाई भारदारमा असन्तुष्टी बढ्न गयो । २०१६ साल माघमा नेपालगञ्जमा भाषण गर्दै राजाले कांग्रेसले गरेका कामहरूप्रति कडा प्रतिबाद गरे । ‘यस्तै रहीरहे आफु चुप लागेर नबस्ने’ संकेत गरे ।

‘सरकारमा आएपछि कांग्रेसमा सत्ता अहंकार बढ्यो । अब हामी सधैका लागि आयौं, आफ्नो पार्टीबाहेक अरुलाई नजिक आउन दिनुहुदैन, कसैको कुरालाई पनि मान्यता दिनुहुदैन भन्ने सोच पलायो । केही माग ग¥यो भने कांग्रेसलाई कति फाइदा हुन्छ, भन्ने हिसाबले व्यवहार हुन थाल्यो । राजालाई भारदारहरूले पनि उक्साए । बढ्ता हुन थाल्यो भने । राजा रुष्ट भए’, देवकोटा भन्छन् ।

राजा त्यसैताक अमेरीका भ्रमणमा गए । सवारी मन्त्रीको हिसाबले सुवर्णशमसेर पनि राजासँगै गए । उनी शक्तिशाली राजाजस्तै गरेर घुमे । त्यो कुरा बीपीलाई मन परीरहेको थिएन । राजाले आफै सर्वेसर्वाजस्तो व्यवहार गर्न थाले । प्रशासन र सेनामा उनकै प्रभाव थियो ।

भारतमा नेहरूको शासन । नेहरू र बीपीको सम्बन्ध राम्रो छैन भन्ने पाठ त महेन्द्रले पनि पढेकै थिए । त्यसैले उनले भित्र भित्र संसदका सदस्यलाई आफुतिर मिलाउन थाले । भरतशमसेर राणालाई समेत थाहै नदिई राजाले गोर्खा परिषदका धेरै सांसद आफुतीर मिलाए । कांग्रेसमा पनि हात हाले । कम्युनिष्टलाई पनि ‘न्युट्रलाइज’ गरे । राजाको त्यो चाल बीपीले बुझेनन् । आफ्ना नजिकका मानिस दरबारतिर लहसिएका छन् भन्ने बीपीले विश्वास गर्न सकेनन् । कांग्रेसको झुकाव भारततीरै हो, तर नेहरूसँग सम्बन्ध राम्रो छैन, सोसलिस्टसँग छ भन्ने राजाले अध्ययन गरिरहेका थिए । नेहरूको सहयोग पाउँछु भन्ने उनलाई लाग्यो । सबै परिस्थिति मिलाउने उनमा क्षमता देखियो ।

राजा आफै शासन हातमा लिने तयारीमा लागे ।

यसरी २०१७ साल पुस १ को घटना भयो ।

(वरिष्ठ राजनीतिज्ञ देवकोटाको व्यक्तित्व र कृतित्वबारे पत्रकार भट्टराइले लेखेको पुस्तक ‘विद्रोही’बाट साभार)