खुश्बु ओलीको ‘आश्रय’का बालबालिका विश्व कपमा सहभागी हुँदै

खुश्बु ओलीको ‘आश्रय’का बालबालिका विश्व कपमा सहभागी हुँदै


सन् २०१८ मा रुसको राजधानी मास्कोमा आयोजना हुने सडक बालबालिकाको विश्व कप फुटबलमा नेपालले पनि भाग लिने भएको छ । सडक बालबालिकाको विश्व कप मे १९ देखि २७ तारिखसम्म चल्नेछ ।

फिफा विश्व कपअघि आयोजना हुने यस विश्व कपमा सेल्टर आश्रय नेपालमार्फत नेपालले सहभागिता जनाउन लागेको हो । विश्वकपमा नेपालसहित विभिन्न २२ देशका २४ टिमको सहभागिता रहने आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले बताइन् । उनका अनुसार १२ छात्र र १२ छात्रा टिमले सडक बालबालिकाको विश्व कप फुटबलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले छात्र टिममा भाग लिनेछ । ‘स्ट्रिट चाइल्ड युनाइटेड’ले फिफाको सहयोगमा सडक तथा असहाय बालबालिकाको लागि विश्व कप आयोजना गर्न लागेको हो ।

विश्व कपमा सहभागिताको लागि सेल्टर आश्रय नेपालले आफ्नो संस्थामा रहेका बालबालिका र अन्य सडक तथा असहाय बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थासँग आबद्ध बालबालिकाबीच लिग फुटबल सञ्चालन गर्न लागेको छ ।

लिगमा खेलाडीले गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरी विश्व कपका लागि नेपालको टिम बनाइने आयोजकले जनाएको छ । हाल सेल्टर आश्रय नेपालमा रहेका खेलाडीले फुटबल खेलको तयारी समेत गरिरहेका छन् ।

नेपालको अनाथ, असहाय तथा सडक बालबालिकाले विश्व कपमा भाग लिने खवर पाएपछि नेपाली राट्रिय टोलीका पूर्व फुटबल खेलाडी वसन्त गौचनले पनि सेल्टर आश्रय नेपाललाई सहयोग गरेका छन् । उनले फनरुट्स फुटबल एकेडेमी जापानको तर्फबाट संस्थालाई खेल सामग्री सहयोग गरेका हुन् ।