के यस्तो गर्नुलाई नै राजनीति भनिन्छ ?

के यस्तो गर्नुलाई नै राजनीति भनिन्छ ?


– सूर्यन्द्र

दशकौँदेखि नेपालमा केही लाख व्यक्तिहरू राजनीति गर्दैछन् भनिन्छ । सबै कुराको नियन्त्रण नै यही राजनीतिले गर्दछ भन्ने उपबुज्रुकहरूको बिगबिगी छ । के राजनीति पेशा हो वा पेशा हुन सक्छ ? राजनीति गर्दै गरेकाहरूको अवस्था या हालत हेर्ने हो भने उत्तर हुन्छ ‘हो राजनीति पेशा नै हो’ । पेशा पनि यस्तो उत्तम पेशा कि त्यसमा हरेकपल नाफा नै हुन्छ, उन्नती नै हुन्छ । केही वर्षमै तन्नमलाई अर्बपति बनाउन सक्ने राजनीति कस्तो पेशा हो ? सबलाई चासो लागेको छ ?

खेती गर्न खनजोत गर्नु पर्दछ, मल बिउ छर्नु पर्दछ, गोडमेल गर्नु पर्दछ, बाली समेट्नु पर्दछ । यी यावत काम गरेपछि त्यो खेती गरेको हुन्छ । समान चिनेर किनेर ल्याई अरुलाई बेच्ने कामलाई व्यापार गरेको भनिन्छ । कच्चा समान जम्मा गरेर ज्यामी, मेसिन प्रविधि लगाई अर्को वस्तु उत्पादन गर्ने कामलाई उद्योग भनिन्छ । के–के गर्दा राजनीति गरेको हुन्छ ? आजसम्म कसैलाई थाहा छ ? कतै कुनै कार्यालयमा गएर हाजिर बजाएको देखिएको छैन, भएको भए पनि त्यो त नोकरी गरेको भयो राजनीति गरेको त पक्का हैन । राजनीति गर्नचाहिँ के–के गर्नु पर्दछ ?

राजनीति गर्ने भन्नेहरूले बन्द गराएको देखिन्छ । दैनिक मजदुरहरूलाई भोकै पारेको देखिन्छ । अरुको सवारी साधन तोडफोड गरेको देखिन्छ । बजार तहसनहस बनाएको देखिन्छ । कहिलेकाहीँ त मान्छे जिउँदै जलाएको पनि देखिन्छ । के यही गरेकोलाई राजनीति गरेको भनिन्छ त ? अहँ मन मान्दैन । किनभने, अरु कसैले यसलाई राजनीति भनेर यिनै काम गरेमा कानुन लाग्छ, र लाग्नु पनि पर्छ । त्यसैले यस्तो कामलाई राजनीति भन्दैनन होला, तर यो गर्दा कानुनी दायरामा नपरेर सम्मानित हुने सुविधा त त्यही राजनीति गर्नेलाई नै हुन्छ !

राजनीति गर्नेहरूले भाषण गरेको देखिन्छ सुनिन्छ । भाषणलाई व्याख्यान पनि भनिन्छ, अर्थात् व्याख्यान दिइरहेका भेटिन्छन् । सन्दर्भ र विषयवस्तुसँग मेल नखाने व्याख्यान । तर यस्तै व्याख्यान दिनेहरू सडकका किनारामा बसेर दन्तमञ्जन बेचिरहेका भेटिन्छन । रमाईला कुरा गरेर मान्छेलाई मख्ख पार्दै शिघ्रपतन रोक्ने शिलाजित बेच्दै गरेका भेटिन्छन । शुरका कुरा गरेर विद्यार्थी पढाउने शिक्षकहरू पनि भेटिन्छन् । पार्कहरूमा कराउँदै हिँड्नेहरू पनि भेटिन्छन् । तर तीमध्ये कसैको पनि व्याख्यान राजनीति गरेको हैन । अर्थात्, यो गर्नु पनि राजनीति हैन ।

कुनैकुनै बेलामा सभागारहरूमा माइक भा“च्दै भेटिन्छन् । कुर्सी तोड्दै भेटिन्छन्, एकअर्काको कठालो समात्दै गरेका पनि भेटिन्छन् । के यो काम गर्दा राजनीति गरेको मानिन्छ ? यस्तो काम त संक्रान्ति बजारमा बेलुकातिर प्रसस्त देखिन्छ, राँके बजार, सिरुवा मेलातिर पनि देखिन्छ । त्यहाँ कुर्सी भने पाइन्न । कुर्सी नै भाँच्नुपर्ने हो भने पनि साँझतिर भट्टी पसलमा यदाकदा देखिन्छ । तर तिनलाई पनि राजनीति गरेको भनेको सुनेको छैन ।

फेरि यी सब काम गरेर हिजोसम्मको भुक्के चप्पलधारी भोली करोडौँको गाडीको मालिक बन्दैन । पल–प्रतिपल सम्पत्तीको ओइरो लाग्ने, मानमनितो पाइने, बेलाबेलामा सत्तास्वाद चाख्न पाइने राजनीति गर्न के गर्नुपर्छ ? एकपटक सत्तामा पुगेपछि जुनै अपराध गर्दै गरेको भेटे पनि प्रहरीले सलाम गर्ने हैसियत दिने यो राजनीति गर्न के–के गर्नु पर्दछ ? कुनै खास कुलमा जन्मिनुपर्ने त हैन होला ? कि कुनै खासखास नेताहरूको चरणचम्पी गर्नुपर्छ, दही जमाउन दुधमा ‘जोरन’ हालेजस्तै ? के गर्दा राजनीति गरेको हुन्छ ?

यो कुरा पत्ता लागेमा नेपालीहरू मरुभुमीमा ऊँट चराउन जानै पर्दैन थियो । इजरायलमा बुढाबुढी स्याहार्न जानै पर्दैन थियो न मलेसियामा चौकदार हुनु पर्दथ्यो । भारतमा कसैको गेटबाहिर उभिएर ‘बादुर’ बनी सलाम हान्न पर्दैैन थियो । कमाठीपुरा, बेगमबजार वा सोनागाछीमा एकराते प्रियसी भएर ‘काँछी’ सुन्नु पर्दैन थियो । सबैले राजनीति गरेर आफ्नो उन्नती गर्ने थिए, सातपुस्तालाई पुग्ने सम्पत्ती जोर्ने थिए ।