रामनाथ कोविंद भारतका १४औं राष्ट्रपति निर्वाचित

रामनाथ कोविंद भारतका १४औं राष्ट्रपति निर्वाचित


भारतको राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार रामनाथ कोविंद निर्वाचित भएका छन् । बिहिबार भएको राष्ट्रपतीय निर्वाचनबाट प्रत्यासी कंग्रेस आईकी मीराकुमारलाई पछि पार्दै रामनाथ चौधौं राष्ट्रपति निर्वाचित भएका हुन् । रोचक के छ भने कोविंद र कुमार दुवै दलित समुदायका हुन्। दलित समुदायकै केआर नारायणन यसअघि राष्ट्रपति भइसकेका छन् ।

भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविंदले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएउने अनुमान पहिले नै गरिएको थियो ।

अत्यन्त सामान्य परिवारका कोविंदलाई भाजपाले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्नुअघि उनका बारेमा धेरैले सुनेका थिएनन् । उनी आरएसएसका उपल्ला कोटीका कार्यकर्ताका रुपमा चिनिन्थे भने राष्ट्रपतिको उम्मेदवारी दिनुअघिसम्म बिहार प्रदेशका राज्यपालको जिम्मेवारी सम्हालिरहेका थिए । कोविंदको विजयसँगै भारतीय जनता पार्टीले एक गौरवमय इतिहास बनाएको छ, देशको राष्ट्रपति जस्तो उच्च स्थानमा आफ्नै पार्टीका कुनै सदस्यलाई पुर्याएर ।

सन् १९४५ मा जन्मेका कोविंदकी पत्नी सविता कोविंद रिटायर्ड सरकारी कर्मचारी हुन् । उनका एक छोरा र एक छोरी छन् ।