बलात्कारीका निशानामा प्राय बालिका

बलात्कारीका निशानामा प्राय बालिका


o असार पहिलो साता हेलम्बु गाउँपालिकाकी १४ वर्षीया बालिका घरमै बलात्कारको सिकार भइन् । उनलाई आफ्नै अभिभावक (बाबु)ले करणी गरे । असार ५ गते बलात्कारको उजुरी परेपछि प्रहरीले पीडक बाबुलाई पक्राउ ग¥यो । पीडकमाथि घरमा कोही नभएको समयमा छोरीलाई नै जबर्जस्ती गरेको आरोप छ ।

o गएको वैशाख १ गते दुई बालिकालाई जबर्जस्ती करणी गर्ने शिक्षकलाई प्रहरीले प्रक्राउ ग¥यो । लिसंखुपाखर गाउँपालिकामा रहेको एक बोर्डिङमा अध्ययन गर्ने १४ वर्षीया बाह्रबिसे ‘क’ (प्रहरीले राखेको नाम) र सोही विद्यालयमा अध्ययन गर्ने १२ वर्षीया बाह्रबिसे ‘ख’ (प्रहरीले राखेको नाम) लाई करणी गरेको आरोपमा अर्जुन तामाङ र विजय तामाङलाई प्रहरीले प्रक्राउ गरेको हो ।

o भोटेकोसी गाउँपालिकास्थित फुल्पिङकट्टीमा महिनादिनअघि एक बालिका बलात्कारको सिकार भइन् । १८ वर्षीय आङछिरिङ शेर्पाले १२ वर्षीया बालिकालाई सुतेकै स्थानमा आई बलात्कार गरे । बालिका सुतिरहेको छाप्रोमा लात्तीले हानेर ढोका भत्काई शेर्पाले बालिका करणी गरेका हुन् । उनी अहिले पुर्पक्षमा छन् ।

सिन्धुपाल्चोकमा बालिका बलात्कारको सिकार भएको पछिल्ला यी प्रतिनिधि घटना मात्रै हुन् । बालिकालाई सहजै फसाउन र फकाउन सकिने भएकाले धेरै बालिकाहरू बलात्कारको सिकार हुने गरेको अधिकारकर्मी तथा प्रहरीहरू बताउँछन् । स–साना लालचमा फस्ने गरेकाले उनीहरू हिंसामा पर्ने गरेका छन् ।
वैशाख १ गते लिसंखुपाखरमा भएको घटनामा आफ्नै छात्रालाई विद्यालयका शिक्षक अर्जुन तामाङले बाह्रबिसे ‘क’लाई र विजय तामाङले ‘बाह्रबिसे ख’लाई ट्युसन पढाइदिने भन्दै विभिन्न बहानामा करणी गरेको उनीहरूले बयान दिएका छन् । पीडित बाह्रबिसे ‘ख’लाई शिक्षक तामाङले पैसा दिने र विभिन्न प्रलोभनमा पारी करणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालिका विभिन्न प्रलोभनमा पारेर कहिले गोठमा, कहिले जङ्गलमा त कहिले घरमा बलात्कारको सिकार बन्दै आएका छन् । जिल्लामा हुने गरेका धेरैजसो जबर्जस्ती करणी र उद्योगमा बालिकालाई नै निसाना बनाएका घटना छन् । अपवादबाहेक केही घटनामा वृद्धाहरू पीडित बनेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७३÷७४ मा करणीसम्बन्धी २० वटा मुद्दा दर्ता छन् । जसमा ६ घटनामा बालिका पीडित छन् । २० मध्ये ९ मुद्दा जबर्जस्ती करणी उद्योगका छन् ।

विगत केही वर्षभन्दा पछिल्ला वर्षको तुलनाले बलात्कारीका आँखा बालबालिकामाथि नै बढी हुने गरेको पाइएको छ । बलात्कार गर्नेले किन बालिकालाई नै निसाना बनाउँछन् यो विषय अझै रहस्यमै छ । २० घटनामा पीडितहरू पाँचजना विद्यार्थी, १४ जना कृषि र एकजना गृहिणी पेसामा रहेका छन् । कार्यालयका अनुसार ललाइफकाइ ४, धम्कीमा ५ र जबर्जस्तीमा ११ घटना भएका छन् ।

प्रहरीकहाँ आउने करणी र उद्योगका घटना अचम्मखाले हुने गरेको प्रहरीको भनाइ छ । गत आर्थिक वर्षमा यस्ता घटनामा धेरैजसो बालिका पीडित भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसी भन्छन्, ‘बालिकालाई फकाउन सजिलो हुने र लालचमा सजिलै फस्ने भएकाले निसानामा बालिका पर्ने गरेका हुन् ।’ कोही युवकले बालिकालाई माया गरेर केही किनिदिएपछि उसैलाई पछ्याउने प्रवृत्तिका हुने गरेकाले पनि बालिका बढी पीडित हुने गरेको प्रहरीको अनुमान छ ।

आफ्ना छोराछोरीलाई अभिभावकले जता पायो त्यतै छाडिदिने गरेकाले पनि घटना बढेको प्रहरीको अनुमान छ । ‘आफ्ना साना छोरीहरू अपराधीको पञ्जामा नपर्न अभिभावक आफँै सचेत भए यस्ता घटनामा कमी आउन सक्छ,’ उनले भने, ‘हाम्रो समाजमा आफ्ना छोरीलाई माया गर्ने कुनै युवकलाई छोरी जता लैजान पनि छुट दिइएको हुन्छ, यसैको कारण पनि अपराध बढ्न जान्छ ।’ उनले युवक स्वतन्त्र भएपछि र बालिकाको अभिभावकले हत्तपत्त ‘केही’ भन्न नसक्ने अवस्थामा पुगेपछि आपराधिक सोच आउने गरेको बताए ।

समाजमा यौनलाई खुला रूपमा स्वीकार नगरिएको कारण बलात्कारका घटना बढेको हुन सक्ने एकाथरीको अनुमान छ । ‘गाउँमा यस्ता घटना धेरै भएका हुन्छन् जुन प्रहरीकहाँ आइपुग्दैन,’ उनले भने, ‘यसको समाधानका लागि सबै पक्ष जुट्नु र सजायबारे समाजमा चेतना फैलाउनु आवश्यक छ ।’ उनका अनुसार जिल्ला भूगोलका हिसाबले विकट भएकाले पनि घटना प्रहरीसमक्ष नआएका हुन सक्ने हुँदा गाउँमा यस्ता अपराध भइरहेका छन् । ‘हामी जिल्लाका सबै गाउँमा पुग्ने प्रयासमा छौँ,’ उनले भने, ‘प्रहरी पुगेको बेला घटनालाई छोप्ने प्रवृत्ति पनि छ ।’ उनले दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन सबै नागरिक सचेत भई सूचना दिलाउनुपर्नेमा जोड दिए ।

केही घटना गाउँ÷समाजमै मिलेमतो हुने भएकाले पनि पीडकलाई प्रश्रय मिलिरहेको उनको भनाइ छ । ‘नेपाली समाजमा यस्ता घटना भइसकेपछि आफ्नी छोरी र आफ्नो इज्जतका लागि घटना लुकाउन अभिभावक आफैँ लागिपर्ने गरेका पनि छन्,’ उनले भने, ‘पीडित पक्ष संवेदनशील भएर पीडकलाई कारबाही गर्नुपर्छ भन्ने भावना भएमा सबै पीडकले सजाय पाउँछन् ।’ यौनबारे कम जानकारी हुने र स–साना बालिका लालचमा सहजै फस्ने भएकाले बालबालिका करणीको सिकार हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको आरोप प्रमाणित भए १० वर्षसम्म कैद सजाय र क्षतिपूर्ति हुने प्रावधान छ । अधिवक्ता भेषराम ढकालका अनुसार २० वर्षमाथिकालाई जबर्जस्ती करणी गरे ६ वर्षभन्दा माथि कैद र क्षतिपूर्ति, १६–२० उमेर समूहकालाई गरे ७ वर्ष कैद र क्षतिपूर्ति हुने कानुनी व्यवस्था छ । त्यस्तै १२–१६ उमेर समूहलाई गरे ८ वर्ष कैद र क्षतिपूर्ति र १२ वर्षभन्दा कमकी बालिकालाई जबर्जस्ती करणी गरे १० वर्ष कैद र उचित क्षतिपूर्ति हुने व्यवस्था रहेको अधिवक्ता ढकालले जानकारी दिए । ‘यस्तो घटनामा पीडाअनुसारको १ लाख रुपैयाँसम्म र कैद सजाय हुन सक्छ,’ उनले भने । बालबालिकालाई यौन उत्तेजक कथा सुनाएर पनि बलात्कार भइरहेको उदारणसमेत नौलो छैन । अधिकारकर्मीहरूसमेत बलात्कारीका निसानामा बालिका धेरै परेकोमा आश्चर्य रहेको बताउँछन् ।

– किशोर बुढाथोकी/सिन्धुपाल्चोक