शेरबहादुरलाई किन बचाउने ?

शेरबहादुरलाई किन बचाउने ?


– देवप्रकाश त्रिपाठी

नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला लोकप्रियताको विपरीत गहिराइतर्फ उन्मुख हुनुहुन्छ । उहाँका सोच, कार्यशैली, अभिव्यक्ति र व्यवहारलाई लिएर सडकमा जुनस्तरको टिप्पणी हुने गरेको छ, त्यो जस्ताको त्यस्तै देउवाको कानसम्म पुग्ने हो भने उहाँले पदाशक्ति त्यागेर तत्काल गृहस्थाश्रममा फर्कन असम्भव छैन । तर, देउवाको विद्युतीय संस्कार (छुनेबित्तिकै असैह्य झट्का दिने) का कारण उहाँलाई सायद नकारात्मक कुराहरू सुनाउने हिम्मत कसैबाट हुँदैन । त्यसै पनि मानिसमा आफू शक्तिशाली (ज्ञान, धन या पदले) भएको अनुभूति हुँदै गएपछि अहङ्कारको मात्रा दिन दुईगुणा र रात चौगुणाका दरले बढ्ने खतरा रहन्छ । राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणापश्चात् हरेक राजनीतिक दलका नेतामा आफू अन्तिम निर्णयकर्ता रहेको भ्रमानुभूति छ । नीति, कार्यक्रम, सिद्धान्त, विचार, मौलिकता, सङ्गठन, कौशल, देशअनुकूल गन्तव्य आदि कुनै तत्वगुण नहुँदा पनि मत–परिणामले देशकै प्रभावशाली दलको हैसियतमा पु¥याइदिएका कारण नेपाली काङ्ग्रेसका नेतामा चिट्ठा परेर धनी बनेका व्यक्तिमा झैँ उन्मत्तता र चञ्चलता व्याप्त रहेको महसुस धेरै नेपालीले गरेका हुन सक्छन् ।

काङ्ग्रेसका मुख्य नेतालाई आलोचना या गालीले छुँदैन । आलोचनाका निम्ति ‘आफूबाहेक अरू सबैलाई योग्य ठान्ने’ नेताहरू आफूप्रति आलोचनात्मक दृष्टिकोण राख्नेहरूबाट यति टाढिन्छन् कि ‘तपाईंबिना पार्टी र देश चल्न सक्दैन’ भन्ने प्रकारका ‘अमृत वाणी’ मात्र सुन्न उनीहरू अभ्यस्त रहन्छन् । आफू महान् भएको आत्मरतिले तिनलाई सडकमा कुनै राजा–महाराजाझैँ प्रस्तुत हुन किञ्चित सङ्कोच हुँदैन । आमजनताका दृष्टिमा निन्दित र अपहेलित भइरहेको तथ्यप्रति बेसरोकार उनीहरूमा ‘गैँडाको छाला’ भएको महसुस सडकमा उभिएर आलोचना गर्नेहरूलाई हुन सक्छ । वास्तवमा ‘गैँडाको छाला’ काङ्ग्रेसका नेतामा भन्दा कार्यकर्तामा, शुभचिन्तक र मतदाताहरूमा भएको देखाउँछ । पार्टीका नेता समाजमा प्रस्तुत गर्न लायक नहुँदा र पार्टीको कुनै मौलिक सिद्धान्त, विचार, नीति र कार्यक्रम प्रस्तुत नभएको अवस्थामा पनि केवल रूखबाहेक अर्को कुनै चिह्न नदेख्ने–नहेर्ने मतदातामा ‘गैँडाको छाला’ भएकै कारण काङ्ग्रेस पार्टीका ‘जेठाहरू’लाई नेता बनेर देश चलाउने अवसर प्राप्त भएको हो । यसर्थमा काङ्ग्रेसका नेतालाई बर्बाद गर्नमा कसैले सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका छन् भने त्यो मतदाताले नै हो भन्न सकिन्छ । नेतृत्वको सोच–व्यवहार जस्तोसुकै भए पनि त्यसप्रति बेसरोकार रहँदै मतदान गर्नेहरूको स्थायी झुन्ड भएकैले नेताहरूमा बेग्लै प्रकारको अहङ्कार पैदा भएको हो ।

काङ्ग्रेसमा अत्यन्त सामान्य र चौकीदार बस्नसमेत योग्य ठहर नहुने स्तरका मानिससमेत नेतृत्व तहमा पुगेको देख्दा धेरैलाई लाग्न सक्छ कि काङ्ग्रेस पार्टीमा जस्तासुकै व्यक्ति पनि सजिलै नेता बन्न सक्छन् । अर्थात् काङ्ग्रेसको नेता बन्न कुनै विशेष योग्यता र क्षमताको आवश्यकता नरहने विश्वास धेरैको हुन सक्छ, तर यो भनाइ पूर्ण सत्य होइन । काङ्ग्रेसको नेता हुनुअघि व्यक्तिमा पूर्वसोभियत नेता निकिता ख्रुस्चेवमाझैँ ‘यस म्यान’ अर्थात् आज्ञा पालक भएको पुष्टि गर्न सक्ने क्षमता अनिवार्य रूपमा हुनुपर्दछ । खु्रस्चेव स्टालिनका विरोधी र आलोचक थिए भन्ने पुष्टि इतिहासले गरिसकेको छ, तर स्टालिन बाँचुञ्जेल उनका एक मात्र कोही आज्ञापालक थिए भने ती खु्रस्चेव नै थिए र, ‘यसम्यान’ भएकै कारण स्टालिनले उनलाई सोभियत सत्ताको उत्तराधिकारी घोषणा गरेका थिए । काङ्ग्रेसमा बीपी कोइराला, गणेशमानसिंह र कृष्णप्रसाद भट्टराई एउटा भिन्न परिस्थिति र पृष्ठभूमिमा आफ्नै बुताले नेता बन्न सफल व्यक्तित्व हुन् । तीन नेताको अवसानसँगै काङ्ग्रेसमा प्राकृतिक नेताको अभाव खट्किएको छ । बीपी कोइरालाको सहोदर भाइ हुनुका नाताले प्राप्त हुने लाभ गिरिजाप्रसाद कोइरालालाई मिलेर उनी नेता बने । सुशील कोइरालाचाहिँ केवल गिरिजाप्रसाद कोइरालाकै ढोका कुरेका भरमा नेता बनेका थिए भनियो भने गल्ती हुने छैन । काङ्ग्रेसमा आफ्नै बुतामा नेता बन्न सक्ने व्यक्तिहरू पनि थिए, ती मारिए या ज्युँदै मारिए । नयाँ पुस्ताका शैलजा आचार्य, चक्र बास्तोला या खुमबहादुर खड्काहरू बाँकी काङ्ग्रेस ‘नेता’हरूका निम्ति ठूलो चुनौती हुन सक्थे, तिनलाई मारियो या जिउँदै मारियो । आफ्नै योग्यता, क्षमता र आत्मविश्वासमा भर परेर नेता बन्न खोजे भने विश्वप्रकाश शर्मा, गगन थापा, बद्री पाण्डेहरूले पनि अर्कै नियति भोग्नुपर्ने हुन सक्थ्यो, त्यसैले तिनले एउटा-एउटा बूढो रूखको छहारी लिएर आफूलाई नेता बनाउने कसरत गरिरहेका छन् ।

काङ्ग्रेसमा नेता बन्न अर्को क्षमता अनिवार्य मानिन्छ, त्यो हो बुद्धूजस्तो देखिने क्षमता । व्यक्ति जति सोझो, सरल र लाटो देखिन सक्छ, ऊ त्यति नै नेताको विश्वासप्राप्त बन्न सक्छ । बीपी, गणेशमान र किसुनजी मात्र होइन, आफ्नी सुपुत्री सुजातालाई ‘नेता’ बनाएर मात्र देहत्याग गर्न चाहने गिरिजाप्रसाद कोइरालासमेत शेरबहादुर देउवाबाट झुक्किए । शैलजा आचार्य, चक्र बास्तोला र खुमबहादुर खड्काबाट मात्र आफ्नी सुपुत्रीको बाटो छेकिन सक्छ भन्ने भ्रममा रहेका कोइरालाले सबैभन्दा सोझो र आज्ञाकारी हुन सक्ने, आज्ञाकारी नभए पनि जनता र कार्यकर्तामा आफैँ स्थापित भएर नेता बन्न नसक्ने ठानेका कारण शेरबहादुर देउवा गिरिजाप्रसादको सहयोगबाट ०५१ सालमा संसदीय दलको नेता चयन हुन पुग्नुभएको हो । खु्रस्चेवको नेपाली संस्करण देउवा हुन् भन्ने आभास मात्र भइदिएको भए त्यसबेला गिरिजाको ‘च्वाइस’ या त कुनै पुरुषोत्तम बस्नेतहरूमध्ये हुन सक्थे या उनी आफैँ संसदीय दलका नेता बन्ने थिए । किसुनजी र गणेशमानजी गिरिजाको विकल्प नयाँ पुस्ताबाट खोज्न उद्यत् रहेका बेला तिनका दृष्टिमा समेत देउवा नै परेका थिए ।

यही संविधान कायम रहँदासम्म देशमा कुनै एउटा दलविशेषले बहुमत हासिल गर्ने र एकमना सरकार चलाउने सम्भावना नरहला, त्यसैले आगामी संसदीय निर्वाचनपछि पनि ‘टालाटुली बटुलेर पुतली सरकार’ बनाउने र पाँचौँ प्रधानमन्त्री बनेको कीर्तिमान कायम गर्ने इच्छा उहाँभित्र हुन सक्छ ।

यसरी एकसाथ सबै मुख्य नेताहरूको आँखा छलेर नेता बन्न सक्नुलाई देउवाको विशिष्ट क्षमता मान्नुपर्ने हुन्छ । त्यसैले देउवालाई कसैले क्षमताहीन ठानेको छ भने त्यो गलत हो । यद्यपि यसप्रकारको क्षमता आफूलाई बनाउने हदसम्म मात्र कामयावी हुन सक्छ, यस्तै क्षमताले देशसमेत बनाउन सक्छ भन्ने भ्रमचाहिँ राखिनुहुन्न । शेरबहादुर देउवा नेपालको प्रजातान्त्रिक आन्दोलनमा राम्रै योगदान पु¥याउनेहरूमध्ये एक हुनुहुन्छ । अध्ययन, अनुसन्धान तथा लेखन–पठनमा कम रुचि भएजस्ता देखिनुहुने देउवाले धेरै पहिले पढेका कुराहरूबाट अहिले काम चलाउँदै हुनुहुन्छ । तथापि, समय मिल्यो भने उहाँ आफ्नै हातले समातेर पत्रपत्रिका भने पढ्ने गर्नुहुन्छ । उहाँका आँखाभन्दा कान धेरै सक्रिय छन् र आफूलाई लागेकोबाहेक अन्य कुनै पनि कुरा सत्य र ठीक हुन्छ भन्ने उहाँ ठान्नुहुन्न । देउवा सकेसम्म मिल्ने र कुनै हालतमा नमिल्ने भएमा मेटेर अघि बढ्ने स्वभावका हुनुहुन्छ । एकोहोरो लागेपछि डडेलधुरा अमरगढीकी साक्षात् उग्रतारा देवी नै प्रकट भए पनि उहाँलाई कसैले सम्झाउन सक्ने ठानिँदैन । अत्यन्त मिलनसार र मित्रवत् चरित्रका शेरबहादुर देउवा दुई दशकअघिसम्म मानिसको मन जितेर नै सफलता प्राप्त गर्न सकिने ठान्नुहुन्थ्यो र एकै भेटमा उहाँको ‘सिम्प्लिसिटी’बाट मानिसहरू लट्ठिन्थे । देउवा बीपीको विचारबाट प्रभावित हुनुहुन्थ्यो र देशलाई माया गर्दा विदेशी रिसाउने कुराको फिक्री उहाँ गर्नुहुन्नथ्यो । उहाँ कार्यकर्ता र जनताका समस्याप्रति संवेदनशील हुनुहुन्थ्यो र सकेसम्म कसैलाई शत्रु बनाउन नचाहने उहाँको स्वभाव थियो । यति हुँदाहुँदै पनि सानातिना कुरामा झर्किने, फन्किने र चर्को प्रतिक्रिया जनाइहाल्ने स्वभावचाहिँ उहाँमा पहिलेदेखि नै थियो । देउवा कुनै विषयका विज्ञ हुनुहुन्न, जुन विषयमा जति बुझेको छ, त्यतिमै चित्त बुझाएर बस्नुभएको सन्देश उहाँ आफैँले सार्वजनिक मञ्चहरूबाट दिइरहनुभएको छ । कुन निजी घर र कुन सार्वजनिक स्थल हो भन्ने कुरातिर देउवा त्यति ध्यान दिने गर्नुहुन्न, त्यसैले घरभित्र र बाहिर उहाँको रिस प्रकटको काइदामा कुनै प्रकारको अन्तर देखिँदैन ।

दुई दशकयता देउवाको जीवनशैली बदलिएको छ र पहिलेझैँ उहाँ आफ्नो स्वभावअनुसारको व्यवहार गर्न स्वतन्त्र नरहेको महसुस गरिएको छ । मानिसको मन जितेर सफलता प्राप्त गर्नेभन्दा जतिबेला जसको जुनप्रकारको आवश्यकता पर्छ सोहीबमोजिम व्यक्तिसँगको सम्बन्ध निर्धारण गर्ने र उपयोगिता नरहेको ठहर भएपछि बिर्सने शाहीगुण पनि उहाँमा दुई दशकयता नै विकास भएको मानिन्छ ।

शेरबहादुर देउवा मुलुकमा चौथोपटक प्रधानमन्त्री हुनुभएको छ । एउटा व्यक्ति आफ्नो जीवनमा चार–चारपटक प्रधानमन्त्री बन्न पाउनु देउवा र उहाँको परिवारका निम्ति अवश्य खुसी र आत्मगौरवको विषय हो । यसअघि तीनपटक प्रधानमन्त्री बनेका बेला आफ्नो पदरक्षामै उहाँले केन्द्रित हुनुप¥यो, तीनैपटक पहिले गिरिजाप्रसाद र पछि तात्कालिक दरबारको कोपभाजनको सिकार हुनुपरेकोले काम देखाउने अवसर उहाँले पाउनुभएन । ज्योतिषीले जतिपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका भए पनि यो नै अन्तिम मौका हुने खतराका सङ्केतहरू देखिँदै छन् ।

आगामी ६ महिनासम्म उहाँका विरुद्ध कसैले अविश्वासको प्रस्ताव ल्याउन नपाउने वैधानिक प्रावधान भए पनि गठबन्धन टुटेको अवस्थामा कुनै पनि बेला विश्वासको मत पुष्टि गर्नुपर्ने हुन सक्छ । यही संविधान कायम रहँदासम्म देशमा कुनै एउटा दलविशेषले बहुमत हासिल गर्ने र एकमना सरकार चलाउने सम्भावना नरहला, त्यसैले आगामी संसदीय निर्वाचनपछि पनि ‘टालाटुली बटुलेर पुतली सरकार’ बनाउने र पाँचौँ प्रधानमन्त्री बनेको कीर्तिमान कायम गर्ने इच्छा उहाँभित्र हुन सक्छ । उहाँ र उहाँका अन्धहितैषीहरूको यही इच्छा देउवा र देउवासँगै काङ्ग्रेस नामको प्रजातान्त्रिक शक्ति क्षतविक्षत हुने कारण बन्न सम्भव छ । ६ महिने सरकारको प्रधानमन्त्री बन्न उहाँले देखिने गरी माओवादीसँग र नदेखिने गरी कुन्नि को–कोसँग टोपी खोलेरै सम्झौता गर्नुप¥यो भने कदाचित ६ महिनाभित्र संसदीय निर्वाचन भयो र एमालेले स्पष्ट बहुमत हासिल गर्न सकेन भने त्यस्तो स्थितिमा एमालेलाई सत्ताबाट बाहिर राख्नकै लागि पनि एमालेइतर समूहहरूको संयुक्त सरकार गठन गराउन कसरत हुनेछ । चुनावपछिका सरकारको प्रधानमन्त्री बन्ने÷बनाइने नाममा देउवालाई स्थानीय निर्वाचनको क्रममा झैं संसदीय निर्वाचनमा पनि काङ्ग्रेसलाई लङ्गडो बनाएर सहभागी गराइने सम्भावना छ । देशको हरेक गाउँ, नगर र निर्वाचन क्षेत्रमा फैलिएको काङ्गे्रस हालै सम्पन्न निर्वाचनमा अप्राकृतिक गठबन्धन गरेर मैदानमा उत्रँदाको क्षति काङ्ग्रेसले व्यहोरिसकेको छ ।

अब प्रदेश सभा र संसद्को निर्वाचनमा पनि एमालेबाहेकका समूहहरूसँग चुनावी गठबन्धन गराइने सङ्केतहरू देखिएका छन् । सत्ता पक्षका नेताहरूको ‘हाउभाउ’ हेर्दा आगामी माघ ७ गतेभित्रै प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गराइनेमा विश्वास गर्न सकिँदैन । निर्वाचन क्षेत्र या त्यस्तै कुनै विवादको बादलभित्र छिरेर संसद्को अवधि थप गर्ने प्रपञ्च रचिने सम्भावना बढेको छ । तथापि कुनै कारणबस निर्वाचन हुने भएमा काङ्ग्रेसले स्थानीय निर्वाचनका क्रममा गरेको गल्ती दोहो¥याएर पराजित हुने या काङ्ग्रेस एक्लै चुनाव लडेर प्रतिष्ठा र प्रभाव जोगाउने, दुईमध्ये एक विकल्प काङ्गे्रसले रोज्नुपर्ने हुन्छ । काङ्ग्रेस एक्लै चुनावमा जाँदा हुन सक्ने उपलब्धि स्थानीय निर्वाचनका क्रममा काङ्ग्रेसले माओवादीसँग गठबन्धन गरेर गुमाएको छ । आगामी माघ ७ गतेयता हुने भनिएका दुई निर्वाचनमा पनि माओवादीलगायतसँग गठबन्धन गर्ने हो भने त्यसले काङ्ग्रेसको राष्ट्रव्यापी रूपमा रहेको अविच्छिन्न प्रभावलाई खण्डित एवम् सङ्कुचित तुल्याउने सम्भावना एकातिर रहन्छ भने अर्कोतिर निर्वाचन परिणामले काङ्गे्रसको आकार अनपेक्षित किसिमले घटाउने पनि देखिन्छ । पच्चीस प्रतिशत स्थान मात्रै काङ्ग्रेसले माओवादी या अन्यलाई छोड्यो भने पनि त्यसको दीर्घकालीन नकारात्मक असर पर्नेछ । सबै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्दा काङ्ग्रेसको मूल्य जोगाउन सहज हुने र त्यसको असर समानुपातिकतर्फ पनि पर्ने भएकोले एक्लै निर्वाचनमा सहभागिता जनाउँदा जति लाभ चुनावी गठबन्धन बनाएर जाँदा काङ्ग्रेसलाई किमार्थ हुनेछैन । देउवालाई फेरि पनि प्रधानमन्त्री (पाँचौँपटक) बनाउने प्रलोभन दिएर माओवादी र अन्य कतिपयले फसाउने या प्रलोभनमा पार्ने सम्भावना बढेकोले देउवालाई बचाएर काङ्ग्रेस र प्रजातन्त्रको रक्षा गर्नु आमकाङ्ग्रेसजनका लागि प्राथमिकताको विषय बन्नुपर्ने अवस्था छ । तत्काल काङ्ग्रेसभित्र देउवालाई विस्थापित गरी काङ्गे्रसलाई नयाँ दिशा र गति दिन सक्ने मनस्थिति र परिस्थिति बनिसकेको छैन । त्यस्तो स्थिति उत्पन्न भइहालेछ भने पनि लामो समयसम्म विवाद र झमेलाको मार्ग भएर काङ्गे्रसले गुज्रनुपर्ने हुन्छ ।

तसर्थ, शेरबहादुर देउवालाई सही दिशा र गतिमा हिँड्न बाध्य गराएर उपलब्धि खोज्नुको विकल्प यतिबेला काङ्ग्रेससँग देखिँदैन । माओवादी र मधेसकेन्द्रित समूहमा काङ्ग्रेसविरोधी मनोविज्ञान सशक्त ढङ्गले क्रियाशील छ । मधेसकेन्द्रित समूहभन्दा पनि माओवादी रणनीतिक योजनाअनुरूप नै काङ्गे्रससँग नजिकिएको छ । काङ्गे्रसबाट हुन सक्ने जति लाभ प्राप्त भइसकेपछि कुनै पनि निहुँमा कुनै पनि बेला माओवादी वाम एकताको नाममा एमालेतिर ‘सरुवा’ हुन-गरिन सम्भव छ । त्यस्तो अवस्थामा सर्वाधिक क्षति व्यहोर्नेमा काङ्ग्रेस नै हुने तथ्यलाई दृष्टिगत गरी शेरबहादुर देउवालाई गलत दिशामा जानबाट जोगाएर काङ्ग्रेसको रक्षा गर्नु काङ्ग्रेस र प्रजातन्त्रपे्रमीहरूको प्रथम भूमिका हुनु वाञ्छनीय छ । देउवा यतिबेला बालुवाटारदेखि सिंहदरबारसम्म जो–जसको कब्जामा हुनुहुन्छ, तिनको नियन्त्रणबाट मुक्त गर्न काङ्ग्रेसले सकेन भने अनपेक्षित प्रतिकूलताको सामना गर्न काङ्ग्रेसका नेता र कार्यकर्ता तयार हुनुपर्छ ।