तेक्वान्दोमा दीपराजको दादागिरी कहिलेसम्म ?

तेक्वान्दोमा दीपराजको दादागिरी कहिलेसम्म ?


नेपाल तेक्वान्दो सङ्घमा सङ्घका महासचिव दीपराज गुरुङको दादागिरी बढ्दै गएपछि तेक्वान्दो सङ्घ विवादमा तानिएको छ । अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोको स्तरमा ह्रास आउनु, दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदकविहीन हुनु, सङ्घलाई विगत तीन दशकदेखि तानाशाही रूपमा चलाउनु, आफ्ना आसेपासे, राजनीतिक दलका नेतालाई खुसी पार्न ती दलका कार्यकर्तालाई केन्द्रीय कार्यसमितिमा भित्र्याउनु र आफ्नै मुख्य प्रशिक्षकमाथि भेदभाव गरी बाइपास गरेपछि गुरुङ विवादमा तानिएका हुन् । गुरुङको तानाशाहीविरुद्धा हालै मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएपछि तेक्वान्दोभित्र हुने घिनौनो खेलको पर्दाफास भएको छ । राखेपले उक्त उजुरीउपर अहिले छानबिन समितिसमेत गठन गरिसकेको छ ।

साँचो रूपमा भन्नुपर्दा तेक्वान्दोमा महासचिव गुरुङको इसाराबिना तेक्वान्दोमा पात पनि हल्लिँदैन । तेक्वान्दोका हर्ताकर्ता र सर्वेसर्वा भनेकै गुरुङ हुन् । त्यसैले कुनै खेलाडी र प्रशिक्षक गुरुङको विरुद्धमा एक शब्द पनि बोल्न सक्तैनन्, अर्थात् बोल्ने आँट पनि गर्दैनन् । जसले गुरुङको बारेमा बोल्यो त्यसको तेक्वान्दोबाटै पत्तासाप हुन्छ । यसका उदाहरण तेक्वान्दोका चर्चित खेलाडी विदेश पलायन हुनुले पनि प्रस्ट पार्छ । समय परिवर्तन भएर कहाँ पुगिसक्यो, तेक्वान्दोको स्तर अधोगतितर्फ उन्मुख हुँदै सागमा स्वर्ण पदकविहीन बनिसक्यो । तर, गुरुङको तानाशाहीमा भने कुनै परिवर्तनको सङ्केत देखिएको छैन । जुन कुरो हिजो थियो आज पनि त्यस्तै छ । उल्टै तेक्वान्दो सङ्घ खेलकुदको सङ्घ नभई राजनीतिक सङ्घको रूपमा विकसित भइरहेको छ ।

राजाबिना राज्य चल्छ भने दीपराजबिना पनि तेक्वान्दो चल्छ । यो सबैलाई ज्ञात हुनुपर्ने कुरा हो । तर, यहाँ भ्रमको खेती गरिएको छ, गुरुङबिना तेक्वान्दो नै नचल्ने अफवाह फैलाइएको छ, जुन गलत हो । यतिबेला तेक्वान्दोलाई गुरुङ होइन कि गुरुङलाई तेक्वान्दोको आवश्यकता छ । यसर्थमा कि गुरुङले खेलकुदमा आफ्नो लोकप्रियता गुमाउँदै गएको कसैबाट छिपेको छैन । पहिले उनको बखान गर्नेहरू नै अहिले उनको सबैभन्दा आलोचक बनेका छन् । यसको उदाहरणको रूपमा गुुरुङले अवैधानिक ओलम्पिक कमिटीको निर्वाचनमा पाएको एक भोटले पनि प्रस्ट पार्छ । यसैले जोकोहीले पनि सोझै अड्कल काट्न सक्छ दीपराजको लोकप्रियताबारे । ‘दीपराजबिना तेक्वान्दो सकिन्छ’ भन्दै जसले अहिले यो राग अलापिरहेका छन् ती सबै तेक्वान्दोविरोधी हुन्, तेक्वान्दोका शुभचिन्तक नभई गुरुङका धुपौरे हुन् । जसलाई तेक्वान्दोको धमिराभन्दा पनि अतिसयोक्ति हुँदैन । उनीहरूको यो कार्यले दीपराजलाई अझ तानाशाही बनाउने निश्चितप्रायः छ । त्यसैले बाघको खोलमा कसले तेक्वान्दोलाई समाप्त गर्दै छ त्यसको हेक्का सम्पूर्ण तेक्वान्दो परिवारले लिनुपर्ने भइसकेको ेछ ।

यतिबेला दीपराजका विरुद्ध उजुरी दर्ता गर्ने मुख्य प्रशिक्षक ध्रुव गुरुङलाई ठेगान लगाउन तेक्वान्दोको एक गिरोह सक्रिय भएको छ । तेक्वान्दो सङ्घको गत साता बसेको कार्यसमितिको बैठकले प्रशिक्षक गुरुङलाई कारबाही गर्नेबारे चर्चा गरेको छ । तर, कस्तो कारबाही गर्ने त्यसको खुलासा भने गरेको छैन । प्राप्त जानकारीअनुसार खेलाडीको भत्ता दीपराजले नदिएको भनी राखेपमा उजुरी हाल्ने प्रशिक्षक गुरुङकै विरुद्धमा महासचिव गुरुङले खेलाडीको हस्ताक्षर गराएर राखेपमा बुझाएको थाहा भएको छ । यसबारे प्रशिक्षक गुरुङसँग सम्पर्क गर्दा उनले ‘मैले नै खेलाडी भत्ता नदिएको उजुरी हालेको हुँ, म मेरो विरुद्धमा कसरी उजुरी दिन्थेँ ? त्यो सबै मलाई फसाउने खेल मात्रै हो । यसरी आज अन्याय, अत्याचार र दमनको बारेमा मुख खोल्ने प्रशिक्षक गुरुङको साथ दिनुपर्छ । अन्यथा भोलि यस्ता आवाज उठ्न बन्द हुनेछ । तेक्वान्दोमा चलेको वर्षौंदेखिको तानाशाहीले विकराल रूप धारणा गर्नेछ । जसले तेक्वान्दोलाई समाप्त पार्नेछ ।

त्यसैले गत साता राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेलकुदका राष्ट्रिय सङ्घहरूमा ठेकेदारहरूको उपद्रो बढेको र तिनीहरूलाई निर्मूल पार्नुपर्ने खुलासा गरेका थिए । विष्टले चाहे त्यो तेक्वान्दो सङ्घ नै किन नहोस् भन्दै कुनै सङ्घमा पनि तानाशाही चल्न नदिने प्रतिबद्धता जाहेर गरेका थिए ।