राजाको आत्मासँग सन्तको संवाद

राजाको आत्मासँग सन्तको संवाद


अज्ञात र रहस्यले मलाई सधैँ आकर्षण गर्छ । एक युवक अध्यात्म खोजीको रूपमा जीवनको रहस्य मलाई अन्तहीन लाग्थ्यो । जीवन र मृत्युको रहस्यप्रति मलाई विशेष चासो थियो । मानिस मरेर कहाँ जान्छ ? अर्को शरीर लिनुभन्दा अघि कस्तो अवस्थाबाट उसको चेतना गुज्रिन्छ ? जीवनपारको त्यो रहस्यलोकलाई बुझ्न मेरो मन सधैँ लालायित हुन्थ्यो । मरेका आत्माहरूसँग कुरा गर्ने तरिकाबारे बुझ्ने कुतूहलले मलाई त्यो विद्या सिक्न उद्यत् गरायो । त्यसका लागि मैले खोज गरेँ । भारतीय उपमहाद्वीपमा त्यस्ता विधिहरू हजारौँ वर्षदेखि अस्तित्वमा रहेछन् । कतिपय तरिकाहरू भ्रामक भएको पाएँ । तर, केही विधिहरू वास्तवमै आश्चर्यजनक रूपले कारगर पनि थिए ।

मैले शरीर छोडेका आत्माहरूसँग कुरा गर्ने प्लान्चेट– अटोमेटिक राइटिङ र टेबल टर्निङजस्ता तरिकाको प्रयोगमा केही वर्ष बिताएँ । मेरा एक मित्र थिए उनी यो विद्यामा सिद्ध थिए । मैले आफैँले बोलाउन नसक्ने हुनाले मैले उनको मद्दत लिनुपथ्र्यो । उनी यो काम सहजै गर्थे । हामीले बोलाएका आगन्तुकमा श्री अरविन्द, महात्मा गान्धी, राजा महेन्द्र र अरू धेरै नाम कमाएका व्यक्ति थिए । यस्ता तरिकाले वास्तवमा साधकको आध्यात्मिक उन्नति गर्दैन । मैले मेरो रुझान यसपट्टि पनि छ भनेर सन्न्यासका बेला ओशोलाई भनेको थिएँ । तर, उहाँले यो कुरालाई मन पराउनुभएन । मेरो कुतूहल र चाख देखेर उहाँले नगर त भन्नुभएन, तर आध्यात्मिक कार्यका लागि गर्न र दुरुपयोग नगर्नु भनेर सल्लाह दिनुभयो । तर, केही वर्षपछि ओशोले मलाई मृतआत्माहरूसँग कुरा गर्न बन्देज लगाइदिनुभयो । त्यसको सट्टा बरु ओशोसँगै सीधै सम्पर्क गर्ने साधना गर्न भन्नुभयो ।

प्लान्चेटद्वारा थाहा नभएका तथ्यहरू पत्ता लगाउन सकिन्छ । मलाई याद छ– हामीले स्वर्गीय राजा महेन्द्रको आत्मालाई एकपटक बोलाएका थियौँ । उनले त्यसबेला भनेको कुराहरू भविष्यमा ठ्याक्कै सत्य सिद्ध भए । उनले धेरै कुरा बताए जसको जानकारी सामान्यतः मानिसलाई थाहा थिएन र जुन कुरा भन्न पनि मिल्दैन । कसैलाई थाहा नभएको कुरा आफूलाई मात्र थाहा भएमा त्यसको दुरुपयोग हुन सक्छ जसको बारेमा गुरुले मलाई चेताउनुभएको थियो ।

सन् १९७५ को एक साँझ मैले आफ्नो पूर्वजन्मबारे सोधेँ । मलाई त्यसको जानकारी थिएन । उनले दिएको जानकारीअनुसार हामी पूर्वजन्ममा कुनै राजवंशमा हामीसँगै जोडिएका थियौँ । भारतको एक शाही परिवारसँग सम्बन्ध भएको कुरा सङ्केत भयो । जुन कुरा मलाई पछि पुनामा पनि ध्यानमा प्रकट भयो ।

मैले ‘भगवान् रजनीशबारे सुन्नभएको छ ?’ भनेर सोध्दा उनले हाम्रो लोकमा पनि उनको प्रसिद्धि भइरहेको र धेरैले उनको बारेमा कुरा गरेको बताए । ‘के तपाईंलाई उहाँको बारेमा कुनै चाख छ ?’ भनेर सोध्दा आफूलाई कुनै चाख नभएको कुरा सीधा भने ।

‘अहिले तपाईंको बास कहाँ छ ?’ भनेर सोध्दा उनले ‘पशुपतिनाथ मन्दिरको पछाडि धु्रवस्थलीको जङ्गलमा बसेको’ कुरा बताए ।

‘के तपाईं सन्तुष्ट हुनुहुन्छ ?’ भनेर सोधेको जवाफमा आफू पूरै सन्तुष्ट, सुखी भएको जवाफ दिए ।

मैले आफ्ना व्यक्तिगत समस्याको समाधानका लागि पनि कुनै बेला यो विद्या प्रयोग गरेँ । सल्लाह दिने व्यक्ति अरू कोही नभएर पूर्वराजा थिए । म त्यसबेला होटेल सोल्टी ओवरायको निर्माणमा इन्जिनियरको रूपमा कार्यरत थिएँ र आफ्ना हाकिमहरूको रवैयाबाट म असन्तुष्ट थिएँ । यो कुरा बताएर मैले जागिर छोड्ने कुरा बताउँदा ‘तिमीले जागिर नछोड्नु तिम्रा हाकिमले नै जागिर छोड्नुपर्नेछ’ भन्ने जवाफ आयो । म छक्क परेँ र पर्खेर बसेँ । आखिर त्यही भयो, ममाथिका हाकिम काम छोडेर गए म उनको ठाउँमा बढुवा भएँ । यो गुह्य विद्याको मद्दतले म पूर्वराजासँग कुरा गरिरहेको थिएँ जुन साधारण जीवनमा असम्भव छ । मैले गरिरहेको गुरुको आध्यात्मिक कार्यको मद्दतका लागि पनि उनलाई सोध्न चुकिनँ ।

‘दरबारमा ओशोमा चाख राख्न सक्ने सम्भाव्य व्यक्ति को होला ?’ भनेर सोधेँ । वीरेन्द्रको सम्भावना छ भन्ने जवाफ आयो । वीरेन्द्रको आध्यात्मिक सम्भावनाको जानकारी मलाई थियो, तर उनकै मृतबुबाले यसरी छोराको नाम लिएकोमा म आश्चर्यमा परेँ । आफ्नै देशको राजा ओशोको शिष्य हुने आध्यात्मिक सम्भावना भएको कुराले मलाई आश्चर्यचकित तुल्यायो । मैले ओशोलाई आफ्नो अनुभव सुनाउँदा उहाँले त्यसको सम्भावना रहेको बताउनुभयो ।

राजा वीरेन्द्र आफैँमा एक भद्र र जनतामाझ लोकप्रिय राजा थिए । पारिवारिक दबाब, निरङ्कुश व्यवस्था र अनेक परिस्थितिमा निभाउने भूमिका असहज भए पनि भित्रका भने उनी उदार हुन् भन्ने कुरा जनमानसमा फैलिएको थियो । भित्री आध्यात्मिक गुणका कारणले उनको कोमल व्यक्तित्व उनको अनुहार पनि झल्किन्थ्यो ।

‘वीरेन्द्रलाई ओशोसँग परिचित कसरी गराउने ? मैले दरबारमा कसैलाई चिनेको छैन’ भनेर प्रश्न गर्दा अटोराइटिङबाट यो जवाफ आयो । ‘रञ्जनराज खनाल ।’

त्यसबेलासम्म मलाई यो नाम थाहा थिएन । त्यसको एक वर्षपछि एक ठूला सरकारी पदमा भएका व्यक्ति ओशो आशीष ध्यान केन्द्र ताहाचलमा आए । उनीसँगै रञ्जनराज खनाल जो त्यसबेला राजाका प्रमुख सचिव थिए, उनी पनि आएका थिए । तत्कालीन राजदरबारका संवादसचिव प्रो. रेणुलाल सिंहले उनलाई लिएर आएका थिए । मैले प्रो. रेणुलाल र रञ्जनराजका माध्यमबाट राजा वीरेन्द्रलाई ओशोका धेरै साहित्य पठाएँ ।

रञ्जनराज खनालकै सहयोगले ओशो सन १९८६ मा नेपाल आउने वातावरण बन्यो । अमेरिकामा धर्मान्ध इसाईहरूको इसारामा ओशोलाई बस्न दिइएको थिएन । तर, त्यसबेलाको नेपाल सरकारले उदारभावले ओशोलाई बस्ने अनुमति र सुरक्षा र अन्य सुविधा दिएको थियो । राजा वीरेन्द्र सकारात्मक भएकाले पश्चिम नेपालको कुनै पनि स्थानमा आफ्नो आश्रम बनाएर र त्यहीँ ओशो जति बसे पनि हुन्छ भन्ने खबर दरबारबाट प्राप्त भएको थियो । भर्खरै अमेरिकाले ओशोलाई खेदेकोले अहिले राजाले भेट्ने उचित समय नभएको भन्ने दरबारबाट हामीले खबर पायौँ । तर, अनेक अन्तर्राष्ट्रिय षड्यन्त्र सिकार भएका ओशोले ४५ दिनको प्रवासपछि आखिर नेपाल पनि छोड्नुप¥यो । राजा वीरेन्द्रको ओशोलाई भेट्ने ठूलो इच्छाका बाबजुद पनि उनले ओशोलाई भेट्न सकेनन् ।

मैले आफैँले पनि राजालाई भेट्ने व्यक्तिगत प्रयास नगरेकोले पनि त्यो सम्भावना फलिभूत हुन सकेन । तर, पछि किसुनजी प्रधानमन्त्री भएपछि म ओशो साहित्य, टेपहरू उहाँको हातमा दरबार पठाउँथेँ । प्रधानमन्त्रीले राजालाई प्रत्येक बुधबार भेट्ने नियमै रहेछ । एकपटक बुधबार बेलुका बालुवाटारमा मैले किसुनजीलाई केही किताबहरू राजाका लागि भनेर दिएँ र उहाँ दरबारबाट नफर्किञ्जेल त्यहीँ कुरेर बसेँ । जब किसुनजी फर्किनुभयो, उहाँले भन्नुभयो, ‘हाम्रो एक घन्टाको मिटिङमा ४५ मिनेट त हामीले ओशोकै चर्चा ग¥यौँ, अजेन्डामाथि त खालि १५ मिनेट मात्र कुरा भयो ।’

(स्वामी आनन्द अरुणको हालै प्रकाशित ‘इन वोन्डर विथ ओशो’बाट साभार, अनुवाद – स्वामी आनन्द अर्हत)