सिक्किमका अविष्मरणीय नेता स्वर्गवासपछि यसरी आए मानसपटलमा

सिक्किमका अविष्मरणीय नेता स्वर्गवासपछि यसरी आए मानसपटलमा


– भरतराज कोइराला

नेपालीभाषीको बाहुल्य रहेको भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको निधन भएको समाचारले स्तब्ध तुल्यायो । नेपाल र नेपालीप्रति भण्डारीको विशेष लगावका कारण मात्र नभई पङ्क्तिकारसँगको व्यक्तिगत प्रगाढ मित्रताले पनि यस्तो अनुभूति दिलाएको हुन सक्छ । वास्तवमा सिक्किमे नरबहादुर भण्डारी नेपाल र नेपालीसँग अत्यन्त मित्रवत् व्यवहार गर्नुहुन्थ्यो, चिरपरिचित हुनुहुन्थ्यो । राजनीतिज्ञ मात्र नभई भण्डारी राम्रा लेखक तथा साहित्यकारका रूपमा पनि चिनिनुहुन्छ । साहित्य सेवाका लागि उहाँले नेपालबाट ‘जगदम्बा पुरस्कार’ पनि प्राप्त गर्नुभएको थियो । मुख्यमन्त्री रहँदै पटक–पटक काठमाडौं आउनुभएका भण्डारी (जनआन्दोलन २०४६)ले प्रजातन्त्र पुनस्र्थापनापछि सडकमार्ग हुँदै नेपाल आएर सिक्किम फर्केपछि नेपाल यात्राबारे सिक्किमकै एक पत्रिकामा लेख्नुभएको केही संस्मरणात्मक आलेख पङ्क्तिकारको सम्झनामा तरेली बनेर आइरहेको छ यतिबेला ।

उहाँले लेख्नुभएको थियो, ‘जब म मेची तरेर सडकमार्ग हुँदै काठमाडौं लागेँ– सडकको स्थिति हेर्दा जनआन्दोलन (०४६ साल) जनताले मात्र गरेका रहेनछन्, सडकले पनि गरेको देखियो । (सडक क्षत्विक्षत् देखेर) यस्तै, मेचीबाट अघि बढ्दा राजमार्गमा बिजुली–टेलिफोनका तार कहीँकतै देखिएन, सायद अन्डरग्राउन्ड थियो कि, मलाई थाहा भएन ।’ काठमाडौं राजधानीको अवस्थाबारे पनि यी र यस्तै रोचक–घोचक प्रसङ्ग सो लेखमा थिए ।
पङ्क्तिकार झापा बसेर तत्कालीन साप्ताहिक विमर्शको प्रतिनिधिका रूपमा पटक–पटक सिक्किम पुगी त्यहाँको समाचार सङ्कलन गरी पठाउने गर्दथ्यो । नरबहादुर भण्डारीसँग पटक–पटक भेट हुन्थ्यो । नेपाल र नेपालीको भविष्यका लागि उहाँ अत्यन्त रुचिसहित चासो राख्ने गर्नुहुन्थ्यो । उहाँसँग भेटघाट र परिचय गराई नजिक तुल्याउने काम हालका मुख्यमन्त्री पवन चाम्लिङले गराइदिनुभएको हो ।

यसै सन्दर्भमा पङ्क्तिकारले भण्डारीसँग तात्कालिक ‘साप्ताहिक विमर्श’का सम्पादक हरिहर विरहीलाई अर्कोपटक आउँदा लिएर आउँछु भन्दा उहाँ खुसी हुँदै नेपालका वरिष्ठ पत्रकार, लेखक, साहित्यकारसँग भेट गर्न पाउनु खुसी लाग्ने कुरा हो भन्नुभएको अस्तिझैँ लाग्छ । सोहीअनुसार २०४८ कात्तिक महिनामा विरहीजीलाई लिएर सिक्किम गएका बखत उहाँसँग एउटा अन्तर्वार्ता लिइएको थियो, जो नेपाल र भारतकै सम्बन्धित निकायका लागि चर्चाको सन्दर्भ हुन पुगेको थियो । विरहीजीलाई नरबहादुर भण्डारीले दिनुभएको अन्तर्वार्ताको शीर्षक थियो– ‘मलाई भारतीय नभन्नोस्, म नेपाली हुँ ।’

हरेक शुक्रबार प्रकाशित हुने विमर्श साप्ताहिक प्रकाशित भएकै दिन ‘द टेलिग्राफ’ (भारतीय अंग्रेजी पत्रिका)मा खर्साङनिवासी विमर्शका काठमाडौं प्रतिनिधि केशव प्रधानले उक्त अन्तर्वार्ताको मुख्य अंश अंग्रेजीमा उल्था गरी पठाएछन् । जसमा अन्तर्वार्ताको शीर्षकलाई अंग्रेजीमा जस्ताको त्यस्तै ‘Do not call me Indian, I am Nepali’ लेखिएको थियो, भोलिपल्ट टेलिग्राफमा छापिएछ । संयोगवश, उहाँ दिल्लीमै हुनुहुँदोरहेछ । उहाँलाई त्यहाँ गृहलगायत सम्बन्धित निकायले स्पष्टीकरण मागेछ । विरहीजीले सो कुरा काठमाडौंमै खबर पाउनुभएपछि मलाई सो पत्रिका लिएर सिक्किम पठाउनुभयो । सो अन्तर्वार्ता पहिले उनै पवन चाम्लिङले पढिसकेर भण्डारीजीलाई अवगत गराउनुभएको रहेछ । उक्त अन्तर्वार्तामा भारतविरोधी कुरा त त्यस्तो केही पनि छैन भनी पङ्क्तिकारले सम्झाएपछि भण्डारीले ‘पत्रिकामा मैले बोलेअनुसार नै छापिएको रहेछ, केन्द्र सरकार यसै मलाई दुःख दिन खोज्छ, म आफूले भनेको कुरामा अडिग अहिले पनि छु’ भनी प्रतिक्रिया दिनुभएको थियो ।

विरहीजी र म सिक्किम गएको तिहारको बेला थियो । उहाँले हामीलाई अन्तर्वार्ता दिएको भोलिपल्ट नेपालबाहिरका नेपालीको देउसीभैलो हेर्न आउनोस् भनी निमन्त्रणा गर्नुभयो । उहाँसहित हामी तीनजना बसेर भण्डारीनिवासको आँगनमै देउसीभैलो हे¥यौँ । प्रत्येक टोलीलाई तिनका स्तर हेरेर रोटीसहित पैसाको बन्डल नै दिएको देखियो । उहाँले हामीलाई उहाँको हटलाइन टेलिफोन नम्बर दिँदै फेरि पनि सिक्किम आउनुभयो वा नेपालबाटै सम्पर्क गर्नुपर्दा पनि सजिलो हुन्छ भन्नुभयो । साथै सो नम्बर ‘मिसयुज’ हुन्छ भनेर होला एउटा उदाहरण पनि दिनुभयो, ‘यस्तै एकजना मित्रलाई यसरी नम्बर दिएको त उसले राति १२ बजे फोन गरेर यहाँ गान्तोक बजारनजिक एउटा ट्रकले बाटो छेकेको रहेछ, घर पुग्न सकिनँ भनेर टेलिफोन गर्छ बा ! अब के म मुख्यमन्त्री भएर बाटो खुलाउन राति १२ बजे जाऊँ त ?’

भारतमा नेपाली भाषाले संवैधानिक मान्यता पाएको अवसरमा नरबहादुर भण्डारीले सो कार्यका लागि पु¥याउनुभएको योगदानको सराहना गर्दै उहाँलाई त्यही हटलाइनको उपयोग गरी हामीले बधाई दिएका थियौँ । जुन कार्यका लागि उहाँकी श्रीमती सांसद दिलकुमारी भण्डारीको पनि त्यत्तिकै योगदान रहेको थियो ।

उहाँ हामीसँग मात्र होइन, आफ्ना भाषणमा पनि भन्नुहुन्थ्यो– हामी सिक्किमे नेपालीलाई ‘देशबेचुवा’को कलङ्क हाम्रो निधारमा लेखिन पुगेको छ, जो कहिल्यै मेटेर मेटिन्न । नेपाली भाषा, साहित्य, लोकसंस्कृतिप्रति गहिरो अभिरुचि राख्ने भण्डारी नेपालका प्रख्यात हास्यकवि साहित्यकारहरू मदनकृष्ण–हरिवंश टिम, गायन क्षेत्रका प्रख्यात व्यक्तिहरूलाई सिक्किममै आमन्त्रण गरेर कार्यक्रम गर्न अत्यन्त रुचाउनुहुन्थ्यो ।

एकपटक उहाँले गान्तोकमा भारतभरका वरिष्ठ नेपालीभाषी साहित्यकारको सम्मेलन गराउन लाग्नुभएको खबर पाएर म पनि नेपाली पत्रकारको नाताले त्यहाँ पुगेँ । भारतभरका नेपाली साहित्यकारको सम्मेलनमा डा. कुमार प्रधान (टीयू नेपालबाट नेपाली भाषामा विद्यावारिधि गरेका) दार्जिलिङ कलेजका प्राचार्य)ले सो सभामा भनेको कुरा अहिले पनि बिर्सन सकेको छैन । उहाँको भनाइ थियो– ‘म नेपाल गएँ, तर त्यहाँ नेपाली भाषा त बोलिँदो रहेनछ । नेपाली भाषा त सेकेन्डरी भाषा पो रहेछ ।’ उदाहरण दिँदै उहाँले अगाडि भन्नुभयो, ‘म मेची तरेर अघि बढेँ, त्यहाँका बासिन्दाले तराईको भाषा बोलेको सुनेँ । त्यस्तै काठमाडौंमा केही अड्डा–अफिसमा जान्छु त नेवारी भाषा बोलेको सुनेँ । त्यसरी नै दोकानमा केही किन्न जाँदा पनि त्यहीँको भाषाको चल्ती रहेछ । नेपाली भाषा त नेपालमा सेकेन्डरी भाषा पो रहेछ । म पनि नेवारकै छोरा हुँ । तर, मैले सपनामा चिच्याएँ भने पनि नेपाली भाषामै चिच्याउँछु, तर नेपालमा त नेपाली भाषामा सपनामा पनि नचिच्याउने रहेछन्’ भनेर भनेको कुरालाई समारोहपछि भण्डारीले डाक्टरको कुरा कस्तो लाग्यो त भनी मलाई सोधेको कुरा बिर्सेको छैन । डा. प्रधानले पनि कलेजबाट अवकाश पाउनुभएपछि ‘सुनचरी’ दैनिक समाचारपत्रको सम्पादन गर्दै गरेको अवस्थामा गत साल निधन भयो ।

सिक्किम भारतमा विलयपश्चात् मुख्यमन्त्री काजी लेन्डुप दोर्जीपछि लगातार तीनपटक मुख्यमन्त्री बन्नुभएका नरबहादुर भण्डारी सिक्मिमवासीका लागि लोकप्रिय हुनुहुन्थ्यो । उहाँकै कार्यकालमा प्रत्येक सिक्किमेले निःशुल्क टिन (छाना लगाउन) दबाई, खानेपानी, कपी–किताबजस्ता जनताका आधारभूत आवश्यकता उपलब्ध गराएकैले पनि उहाँ लोकप्रिय हुन पुग्नुभएकोजस्तो लाग्छ । उहाँ भाषणमै भन्नुहुन्थ्यो– ‘म कक्षा ६ मा पढ्दा ६ रुपैयाँ चारआना पर्ने एउटा किताब किनेर पढ्न नसक्दा गुरुमाले सो किताब किनिदिनुभयो । जसको मूल्य मैले ६ महिनासम्म स्कुल छुट्टीपछि घर जाँदा एक मुठो घाँस काटेर गुरुमाको गाईलाई पु¥याइदिनुपथ्र्यो । त्यस्तै, तिनताक खानेपानीका लागि एकाबिहानै जो कुवामा पानी लिन पुग्छ, उसले मात्र सग्लो पानी पाउने, ढिलो गए धमिलो पानी पाउने, दुःख गरेर पढेको हुनाले अहिले मुख्यमन्त्री बनेर किताब, खानेपानी निःशुल्क गराएको हुँ । मेरा पिताजी सानैमा खस्नुभएको हुँदा आमाले म पढ्ने स्कुल लिपपोत गरेर पढाएको दुःख मैले नबिर्सने हुँदा मेरो जीवन सिक्किम र सिक्किमे जनताको भलाइका लागि अर्पेको छु ।’ पूर्वमुख्यमन्त्री भण्डारीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।