प्रश्न उठिसक्यो है मेयर सा’प !

प्रश्न उठिसक्यो है मेयर सा’प !


– निर्जला कक्षपति

गत शुक्रबार नेपालटारकी एउटी बालिकालाई वर्षात्का कारण सडक हुँदै बगेको ढलले बगाएर ज्यान गुमाउनुपरेको समाचार सुन्दा कसको मन स्तब्ध भएन होला र ? यो समाचार सामाजिक सञ्जालमा भाइरल हुँदै गर्दा व्यापक जनगुनासो अनि उदासीन सरकारप्रति दिक्दारी र निराशा व्यक्त गरिएका थुप्रै प्रतिक्रिया हेर्न–सुन्न पाइए । शिक्षाविद् डा. मनप्रसाद वाग्लले सामाजिक सञ्जालमा लेख्नुभयो, ‘काठमाडौंको सडकमै जमेका र बगेका पानीले बालबालिकाको ज्यान लिने अवस्थाले महानगरका निर्वाचित प्रतिनिधिको मुटु दुःखेको छ कि छैन ?’ यस्तै प्रश्न सरकार र नवनिर्वाचित जनप्रतिनिधिसँग धेरैले गरे । प्रश्न गर्नु अस्वाभाविक थिएन, किनभने जवाफदेही सरकार नै हुन्छ र हुनुपर्छ ।

काठमाडौंवासीले अहिले, स्थानीय जनप्रतिनिधि पाइसकेको अवस्था हो । नयाँ चुनिएर आएका जनप्रतिनिधिले यो काम गरे है भन्नलायकका केही उल्लेखनीय काम छैनन् । मोबाइल खरिद प्रकरणको निर्णय गरेर निकै नै विवादास्पद बन्न पुगेको काठमाडौंका मेयरले अहिलेसम्म विकास निर्माणका कुनै पनि कामलाई अगाडि बढाउन सकेका छैनन् । यद्यपि काठमाडौंमा यति धेरै समस्या छन् कि त्यो समस्या समाधान गर्न काम नै गर्नु जरुरी छ । भाषण गरेर मात्र समस्या समाधान हुनेवाला छैन । नेपालटार र सामाखुसीमा दुईजना स्कुले नानीलाई ढलले बगायो । ढलमा पर्दा, वृहस्पति स्कुलमा कक्षा ९ मा पढ्ने छात्राले ‘ममी–ममी’ भनेर चिच्याएको चीत्कार भिडियोमा हेर्दा कसको मन रोएन होला, अनि कसको मनले हाम्रा जनप्रतिनिधि र सरोकारवालालाई सरापेन होला ? अनि देशको लथालिङ्गे चाला र भताभुङ्गे अवस्था देखेर कसको मनमा दिक्दारी छाएन होला र ?

राजधानी भएका कारण काठमाडौं सडक चिल्लो हुनुपर्ने हो । ट्राफिक व्यवस्थापनका कारण एक ठाउँबाट अर्को ठाउँ सजिलै पुग्नुपर्ने हो । यस्ता कल्पना त काठमाडौंवासीका लागि केवल सपना मात्र भएका छन् । चिल्लो सडकमा सवारीसाधन गुडाउन पाइयो भने त दङ्ग हुनुपर्ने अवस्था छ ।

अहिले काठमाडौंका बाटो जताततै खनिएका छन् । पानी पर्दा हिलैहिलो र भेल, पानी नपर्दा धुलैधुलोले आँखा खोल्नसमेत गाह्रो । निर्माण कार्य भनेको त निश्चित समयावधिसम्म पो हुन्छ । तर, हाम्रो देशमा जहिल्यै यस्तै । जुन सरकार आए पनि यस्तै । नागरिकका समस्या समाधान नै हँुदैनन् । आजभन्दा २०–२२ वर्ष पहिले नै सन्तनेता कृष्णप्रसाद भट्टराईले आफू निर्वाचनमा निर्वाचित भएपछि काठमाडौंलाई मेलम्चीको पानीले पखालिदिने उद्घोष गरेका थिए । भट्टराईले बाँडेको यो सपना अझै पूरा हुन सकेको छैन । यही मेलम्चीको पानी ल्याउने आशामा जताततै सडक खनिएका छन्, सडकमा भ्वाङ पारिएका छन् । यसैको मारमा परेर झङ्कनाथ फुयालकी छोरी युरेका माविमा कक्षा ३ मा अध्ययन गर्ने विनिता फुँयालको निधन हुन पुग्यो । आफ्नो मुटुको टुक्रालाई यसरी गुमाउनुपर्दा फुयाँल दम्पत्तिको हाल के भइरहेको होला– हामी सहजै अनुमान गर्न सक्छौँ ।

राजधानी भएका कारण काठमाडौं सडक चिल्लो हुनुपर्ने हो । ट्राफिक व्यवस्थापनका कारण एक ठाउँबाट अर्को ठाउँ सजिलै पुग्नुपर्ने हो । यस्ता कल्पना त काठमाडौंवासीका लागि केवल सपना मात्र भएका छन् । चिल्लो सडकमा सवारीसाधन गुडाउन पाइयो भने त दङ्ग हुनुपर्ने अवस्था छ । गौशालादेखि चाबहिल, जोरपाटी, गोकर्ण जाने बाटोको अवस्था बिग्रेर खराब छ । त्यति मात्र नभएर कलङ्कीदेखि उता थानकोट जाने बाटो पनि नराम्ररी बिग्रिएका छन् । बाटो बनाउने नाममा जताततै खनिएका छन् । बाटोको बीचबीचमा ठूलाठूला खाल्डा छन् । फेरि मेलम्चीको पानीका लागि भनेर सडक खन्ने काम उस्तै छ । पानी परेपछि यस्ता खाल्डामा पानी जलमग्न हुन्छ । काठमाडौंमा पानी परेपछि पानी निकास हुने ठाउँ छैन । त्यसैले सामाखुसी र नेपालटारमा घटेको घटना फेरि नहोला भन्न सकिँदैन । तर, हाम्रो सरकार र जनप्रतिनिधिलाई यो कुराले कत्ति पनि मन दुखेको छैन । काम नगर्ने हो भने पदमा बसिरहने अधिकार कसैलाई पनि छैन । सामाखुसी र नेपालटारमा जस्तो भएको घटना अन्य देशमा हुँदो हो त त्यहाँका नेता र पदमा बसेकाहरूले नैतिकताको आधारमा तुरुन्त राजीनामा गर्ने गर्छन्, तर हाम्रो देशमा नेता र पदमा बस्नेवालालाई यो कुराको वास्ता नै छैन । काठमाडौंका निर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएपछि काठमाडौंवासीले एक महिनामा केही सुधार हुने र विकासका कार्यको अनुभूति गर्न सकिने बताएका थिए, खै त त्यो वाचा पूरा गरेको ?

त्यसैले अब त अति भो मेयरसा’प । अब कालो सिसा नभएको गाडीमा बसेर काठमाडौं सहरको एकचोटि फनक्क चक्कर लगाउनुहोस्, काठमाडौंका सडक कस्ता छन् भन्ने कुरा तपाईंको आफ्नै नजरले देख्न सक्नुहुनेछ । अब ढिला भइसक्यो काम गर्न । उद्घाटन गर्नेजस्ता कार्यक्रममा सरिक नभई फटाफट काम गर्न सुरु गरिहाल्नुहोस् । मेयर निर्वाचित भएको दुई महिना भइसक्यो खै के गरिराखेका छन् मेयरले भनेर नेपाली जनताले सोधीखोजी गर्न थालिसकेका छन् है मेयरसा’प !