रक्सौल नाकामा यात्रीलाई सास्ती

रक्सौल नाकामा यात्रीलाई सास्ती


नेपाल–भारत सीमा क्षेत्रको रक्सौल रेल्वे साइडिङ र एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को व्यवस्थापन नहुनु तथा रक्सौल–वीरगञ्ज नाका व्यवस्थित नभएकाले आवतजावत गर्ने दुवै देशका नागरिक घण्टौँसम्म जाममा फस्ने हुनाले दुर्घटनाको शिकार हुने गरेको गुनासो आउन थालेका छन् ।

भारत सरकारको कमीकमजोरीका कारण तथा ट्राफिक व्यवस्थापन नभएकाले घण्टौँसम्म रक्सौल नाका जाम हुने गरेको बताउँदै सीमावर्ती भारत–रक्सौलस्थित टेक्सटाइल चेम्बर अफ कमर्शका अध्यक्ष अरुण कुमार गुप्ता भन्नुहुन्छ – भारत सरकारसँग उक्त क्षेत्रमा हुने जाम हटाउन हामीले बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन ।

सो क्षेत्रमा ट्राफिक व्यवस्थापन फितलो भएको, भारत सरकारले सो ठाउँमा आकाशे पुल नबनाउँदा रक्सौल नाका दैनिक चार पाँच घण्टा अबरुद्घ हुने भएकाले दुवै देशका नागरिकले सास्ती भोग्दै आएको रक्सौलका अर्का व्यापारी श्याम लामाको भनाइ छ ।

रक्सौलदेखि वीरगञ्जको सुख्खा बन्दरगाहसम्म सडक बनेपनि हालसम्म सञ्चालनमा नआएकाले यो अवस्थाको सिर्जना भएको हो । रक्सौल रेल्वे क्रसिङका कारण सवारीसाधन र यात्रुको ठूलो जाम हुने र दुर्घटनाको कारण बन्दै गएकाले सो ठाउँमा आकाशे पुल निर्माण गर्न भारत सरकारले निणय गरिसकेको भएपनि हालसम्म कुनै काम नभएकाले घण्टौँसम्म रेल्वे फाटक बन्द हुँदा मालबाहक गाडी लामो समयसम्म रोकिन जाने गुनासो वीरगञ्जका व्यापारीको छ ।

रेल्वे क्रसिङका कारण त्यस क्षेत्रमा जाम हुने भएकाले भारत सरकारले अविलम्ब आकाशे पुलको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाले रेल आउनेबेलामा घण्टौँसम्म फाटक बन्द हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएको बताउनुभयो । उहाँले केही दिनमै एकीकृत भन्सार जाँच चौकी चालू भएपछि यो समस्या स्वतः समाप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय रेल्वे क्रसिङमा व्यवस्थापनको कमीले आयातित मालवस्तु क्षति हुने, २४सै घण्टा काम गर्ने वातावरण भएपनि भारतीय तथा नेपाली भन्सार राति ११ देखि बिहान ६ बजेसम्म बन्द हुनाले मालवस्तु लोड गरी समयमै रेल्वे साइडिङ खाली गराउन नसक्दा ठूलो रकम बफरेज र विलम्ब शुल्क तिर्नुपर्ने बाध्यता रहेको व्यापारीको गुनासो छ । दैनिक करिब रु ३० करोड राजस्व असुल्ने वीरगञ्ज भन्सार नाकाबाट ठूलासाना गरी एक हजार ५०० गाडी ओहोरदोहोर गर्ने गर्छ ।

रक्सौलमा दैनिक लामो समयसम्म जाम हुने मुख्य समस्या भनेको रेल्वेको फाटक हो भन्दै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जबसम्म आइसिपी सञ्चालन हुँदैन तबसम्म यो समस्या रहिरहने बताउनुभयो । रक्सौल रेल्वे साइडिङदेखि भन्सारसम्मको सडकको अवस्था दयनीय र जर्जर भएकाले मालबाहक सवारीसाधन ढुवानीका लागि भाडामा जान आनाकानी गर्ने गरेको, दुर्घटनाको सम्भावना बढेकाले सडकको अवस्था सुधार गर्न भारत सरकार गम्भीर हुनुपर्ने, रक्सौल वीरगञ्ज नाकालाई व्यवस्थित बनाउन पूर्वाधारको विकास गर्नुपर्ने माग दुवै देशका व्यापारीको रहेको छ । रासस
–––––––