रेविजविरुद्धको सुई लगाउने यस्तो छ, नयाँ तरिका

रेविजविरुद्धको सुई लगाउने यस्तो छ, नयाँ तरिका


जनावरले टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु भएको छ । पहिले पाखुराबाट भित्र मासुसम्म लगाउने सुई अब छालाभित्रसम्म मात्रै लगाउने तरिका अपनाइएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइतबारदेखि यस्तो सेवा सुरु गरेको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार यो तरिका विदेशमा पहिलेदेखि नै प्रचलनमा छ, यहाँचाािहँ धेरै अघि सुरु गर्ने सोच बनाए पनि विभिन्न कारणले सुरु गर्न सकिएको थिएन । अस्पतालका अनुसार पहिलेको तरिकाले एक एमएलको सुईले एक जनालाई हुन्थ्यो भने अब यत्तिकै मात्राले पाँच जनालाई पुग्छ । दुई वर्षभन्दा कम उमेरका बालबालिका, ज्येष्ठ नागरिक, शरीरको प्रतिरोधात्मक क्षमता कम भएका र कडा खालका रोग लागेका व्यक्तिलाई भने पुरानै तरिकाले मासुभित्रै सुई लगाउनुपर्ने हुन्छ ।

अस्पतालका वरिष्ठ अहेव सरिता गौतमले पुरानो तरिकामा दुवै पाखुरामा ०.५-०.५ एमएल गरी १ एमएल लगाउर्ने पर्ने भए पनि नयाँ तरिकामा दुवै पाखुरामा ०.१-०.१ गरी ०२ एमएल मात्रै दिइने बताइन् । टेकु अस्पतालमा हरेक दिन १५० भन्दा बढी नयाँ बिरामी र करिब ५०० पुराना बिरामी रेविजविरुद्धको सुई लगाउन आउँछन् ।

जनावरले टोकेकै दिन, तीन, सात, १४ र २८ दिनमा रेबिजको सुई लाउनुपर्छ । नयाँ तरिकाले सुई लगाउँदा भने १४ औँ दिनमा लगाउनु नपर्ने डा. पुनको भनाई छ । अस्पतालको तथ्याङ्कअनुसार हरेक वर्ष रेबिजका कारण करिब १५ जनासम्म बिरामीको मृत्यु हुने गरेको छ ।