पशुपतिमानाथको मन्दीरमा भक्तजनको भीड

पशुपतिमानाथको मन्दीरमा भक्तजनको भीड


साउनको पहिलो सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्द्हरुले मात्र मनाउने महादेश शिवको बिषेश पुजा साउन महिनाभरी गर्ने भएकाले बिहान २ बजेदेखि भक्तजन लाइनमा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो ।

पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रधान न्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गर्नुभएको छ । बिहान ८ बजेसम्म ३५ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको कोषले जनाएको छ । पशुपतिमा विशेषगरी हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ ।

साउन महिना र सोमबारको महत्व 

सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्र अनुसार भगवान् शिवको महिना र बार भएकाले पूजा, आराधनाका लागि उत्तम समय भएको बताउँछन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम ।

भगवान् शिवले चन्द्रमालाई शिरको जटामा धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । साउनको सोमबार व्रत गरी एक छाक खाएमा सन्तान नहुनेले सन्तान, विद्या चाहनेले विद्यालगायत मनोकांक्षा पूरा हुने भनी हेमाद्रीले रचना गर्नुभएको ‘चतुर्वर्ग चिन्तामणि’, मित्र मिश्रले रचना गर्नुभएको ‘वीरमित्रोदय’ लगायत ग्रन्थमा उल्लेख गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

महिलाले मात्र नभई पुरुषले पनि साउन महिना र सोमबार व्रत गर्न सक्ने शास्त्रमा वर्णन गरिएको उनले सुनाए । महिलाले हरियो चुरा, पोतेलगायत कपडा लगाउनु प्रकृतिसँगको सामीप्यता भएकाले यो वैज्ञानिक भएको अध्यक्ष गौतमको भनाइ छ ।  हरियो सामग्री चन्द्रमाको प्रतीक भएकाले शीतलता, सुख, शान्ति प्रदान गर्छन् । यसबाट भगवान् शिव प्रसन्न भई मनोकांक्षा पूरा गर्नुहुने धार्मिक विश्वास छ ।