लोकगायक गर्बुजा सम्मानित

लोकगायक गर्बुजा सम्मानित


मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत सुमधुर स्वरका धनी लोकगायक खड्ग गर्बुजा पुरस्कृत भएका छन् । गायक गर्बुजालाई संगीत प्रशिक्षण केन्द्र पोखराले अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने १५ हजार नगदसहितको सो पुरस्कार नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले गर्बुजालाई प्रदान गर्नुभयो ।

पुरस्कार प्रदान गर्दै सुप्रसिद्ध लेखक एवम् प्राज्ञ सरुभक्तले ‘इच्छा र आत्मबल’को अगाडि शारीरिक समस्या ठूलो कुरा नभएको बताउनुभयो । विकलाङ्ग भएर पनि गायक गर्बुजाको सक्रियतातर्फ लक्षित हुँदै सरुभक्तले उक्त अभिव्यक्ति दिनुभएको हो । १५ वर्षमै लाहुरे हुन हिँडेको, एक वर्ष भारतमा सर्कस, कोइला खानीदेखि होटलमा भाडा माझ्ने कामसम्म गरी फर्केर विसं २०४३ मा घाँस काट्न जाँदा भिरबाट लडेर दुवै खुट्टा गुमाएका प्रतिभावान गायक गर्बुजाको जीवन भोगाईबारे गजल सन्ध्याका अध्यक्ष एवम् सञ्चारकर्मी अमृत सुवेदीले कार्यक्रमबीच प्रकाश पार्नुभएको थियो । गर्बुजा गायक मात्रै नभई प्रत्येकले सुन्नैपर्ने गीत र पढ्नुपर्ने नलेखिएका पुस्तक भएको उहाँको कथन थियो ।

‘पैसाकै अभावमा गर्बुजा दुःख, पीरका गीत सुनाउँदै हिँड्थे । उनलाई देखेर कतिले कठै भनिदिन्थे, गीत सुनेर कतिले रुमालमा पैसा राखिदिन्थे’, सुवेदीले भन्नुभयो, ‘यसरी रुमालमा जम्मा भएको पैसाले उहाँ बाग्लुङको बलेवाबाट जहाजमा पहिलो पटक काठमाडौँ पुग्नुभएको थियो ।’

पुरस्कृत व्यक्तित्व गर्बुजाले आफू दुःख र अभावबाट गायक बनेको बताउँदै छिट्टै आफ्नो ‘आत्मकथा’ बजारमा आउन लागेको जानकारी दिनुभयो ।

‘आकाशैमुनि’, ‘हेर्दाहेर्दै कान्छीले’लगायत ‘कर्खा’, ‘झ्याउरे’, ‘सालैजो’, ‘यानीमाया’का चर्चित गीत गाउनुभएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कारलगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाउनुभएको छ ।