अविस्मरणीय ती असारेदिन

अविस्मरणीय ती असारेदिन


– तिलक पौडेल

वर्षा ऋतुको असारे महिना ! बिहान उठी सनातनी प्रभातकालीन कार्य सम्पादन खाँतिर सूचीनिची गरी छतमा गएर सामान्य अभ्यासारम्भ गर्दा पानी पर्‌यो । कोठामा आएर योगा र प्राणायाम गरी स्नानको काम पनि सकाएको थिएँ ।

यो पङ्क्ति तयार गर्दैगर्दा स्थानीय तहको निर्वाचन गराउने जिम्मा निर्वाचन योगले सुम्पेर खटाएबमोजिम पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा कार्यरत रहेको अवस्था । आवासको बन्दोवस्त मिलाउने क्रममा भतिजा ज्ञानु पनेरु डिभिजन सडक कार्यालय, पाल्पामा हुनु र प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमबाट पनि मेरा लागि सडककै आवासमा बस्ने व्यवस्था मिलाउन भन्नुभएमुताविक पुल योजनाले आवासीय प्रयोजनका लागि भाडामा लिएको जीवराज तिमल्सिनाको घरमा बस्दै आएको छु ।

ज्ञानुले खाने गरेकै ठाउँ– ठूली बैनी अर्थात् शान्ता ज्ञवालीको होटेल, बर्तुनमा खाना खाने चाँजो मिलाइएको थियो । करिब ५५० पाइलाको यात्रा तय गर्नुपर्ने दुरी भान्सा र विस्ताराको बीचमा पर्दथ्यो भने कार्यस्थल गाबुटुङ् पुग्न ९र१० किलोमीटरको यात्रा गर्नुपर्दछ ।

संयोग ! जेठ मसान्तको साँझ खानाखाई आवासमा आउँदै गर्दा सडकका जोल्टिङ्हरुमा खचक्क पर्दा दायाँ नितम्बमा पीडा सिर्जना भएथ्यो । वर्षादको याम झरी पर्दाको समयमा गाडीबाट ओहोरदोहोर गरेर पेटपूजा गर्नुपर्ने वाध्यताले बसाइस्थलका छिमेकमा नकरात्मक प्रभाव पर्न सक्ने व्यहोरा मनमा अड्कलिनु, निर्वाचन अधिकृतको कार्यसम्पादन उपर चित्त नबुझ्ने पक्षबाट कैदल आवतजावत गर्दा असुरक्षा समेत हुनसक्नु र लामो समयदेखि सामूहिक खाना खाने मेस– होटेलमा खाने अवसरमा बानी नपरेकै कारण हुनुपर्छ, पेटसम्बन्धी सिकायत शुरु हुनुले मनमा कता-कता घरभेटीकहाँ पैसा तिर्ने पाहुना (Payiny Guest) का रुपमा खान पाए भन्ने मन पल्हाएको थियो । त्यसमाथि आवास व्यवस्थापनको जिम्मेवारी वहन गरेका दोमराज अर्यालले पनि घरभेटीलाई ‘सरलाई यतै खाना खाने व्यवस्था मिलाइदिनु न’ भन्नुभएको रहेछ । र, हिजो अस्तिताका घरभेटी भाउजूले ‘हजुरलाई खाना खान टाढा भयो, यतै नजिकै भनिदिऊँ ?’ भन्नुहुन्थ्यो । मैले खाना खाइरहेको ठुलीको होटेलमा शान्ति बैनीले ससम्मान, जे भन्यो त्यही ‘मोही पाऊँ, सौंफलाई आधा भुटेर र आधा त्यत्तिकै मिसाऊँ…’ चिजको बन्दोवस्त गरिदिनु भएकाले, त्यो प्रस्ताव न स्विकार्न सकेको थिएँ, न हजुरहरुकहाँ नै खाने व्यवस्था गरी पाऊँ न भाउजू ! भन्न सकिरहेको थिएँ । चालक राम बहादुर श्रेष्ठले ‘निर्वाचन अधिकृतको सहयोगीको काम यहीं घरबाटै गरेरगराए भयो नि ! के गर्नुपर्ने हो र र? सरका कपडाहरु धोइदिने, कोठा सफा गरिदिने त हो नि !’ भनी शयनकक्षदेखि लत्ताकपडाको सफाइ घरभेटी बुहारी – शीलाले गरिआएकी थिइन् ।

प्रस्तुत भूमिकाले मलाई नै ‘भोलि असार १ गतेदेखि यहीं घरमा जे-जस्तो पाक्छरपकाइन्छ, त्यसमा १ जना थपिएको अनुभव गरिदिनु भए, मेरा लागि ठूलो सहयोग हुने थियो’ भनी अनुरोध गर्न उक्सायो । संयोग, खाना खाएर फर्कंदा घरमा बाहिर भाउजू पम्फा, छोरा सागर, बुहारी शीला खानाखाई शितल ताप्दै हुनुहुँदोरहेछ र मैले पनि व्यहोरा प्रकट गरी आफ्नो अन्तरेच्छा व्यक्त गरें । आमा-छोराले नै अर्यालजीको अनुरोध समेतको हुलिया दिई स्वीकृतिको व्यहोरा जनाउनुभयो । म खुसीले गद्गद भएँ र सोचें– ‘बरु म यो घरको जहानसरह भएपछि ‘सके सपारौं, नसके नबिगारौु’को व्यहोरा लागू गरी के-केमा सुधारको सहयोग गर्न सकुँला त !’ हुन त बस्न शुरु गर्दाकै भोलिपल्ट शौचालयको सफाइ गर्दै यसलाई तालिका बनाई गर्नुरगराउनु उपयुक्त हुनेदेखि प्रासाङ्गिक खाद्य बानीबेहोराका बारेमा चर्चा गर्दै आएकै थिएँ र छु पनि ।

थालमा सिता नछाडी मोहीले पखालेर खाने आफ्नो बानीलाई घरभेटीहरुको ध्यान जे-जस्तो रहेपनि निरन्तरता दिइरहेको छु । तामाका गाग्रीको पानी पिउने, सम्भव भएसम्म चरेसको थालमा खाना खाने, अत्यावश्यकतामा बाहेक खानासँग र लगत्तैपछि पानी नपिउने तर मोही पाएमा पिउने, खानासँग र मूलतस् काँक्रो खानापछि सलादका रुपमा खाने, थोरै भएपनि दही खाने, चिया कालो खाने, तरकारी धोएर केलाउने, आलुको बोक्रा नफाल्ने, खानापछि सौंफलाई आधा भुटेर र आधा काँचै मिसाएर लङ्, सुकुमेल र मधुमेहको सिकायत नभएकाले चिनी खाने, सुत्ने बेलामा दाँत माझ्ने बानी बसाल्ने, बिहान उठेर पहिला पानी पिउने, घरको सफाइलाई आवधिक तालिका बनाई गर्नेरगराउने जस्ता व्यहोराहरु व्यक्त गर्दै आएको छु । घरकै परिवारको सदस्यको रुपमा वहाँहरुले पनि स्वीकार गर्दै क्रमश: लागू गर्नुभएको अनुभूतिले अति प्रसन्नता महसुस भएको छ ।

बिहानमा काले चिया, हरियो मकै पालेर, भुटेर, उसिनेर आवश्यकतामा सोधनी गर्दै नास्ताको रुपमा उपलब्ध गराउनु भएकोछ भने बेलुका रोटी बनाएर खान दिनुहुँदा सारै आनन्द अनुभव भैरहेछ । घर नीरु, आमा, छोरीहरुले गरेका चिन्ता दूर भएकाछन् । अस्ति आमा र ठूली भाउजूसँग फोनमा कुरा हुँदा हरतरहको सहयोग मेरो बाबुलाई जुटाइदिनु भगवान् ! भनेर साँझ-बिहान पुकार गरिरहेकी छु, स्वास्थ्यको ख्याल गरे बाबा.. भन्नुहुन्थ्यो आमाले भने भाउजूले हामीकहाँ आएर कोही पनि बिमुखै नपठाउने संस्कारले हाम्रा देवर, छोरा-छोरीहरुलाई पनि ईश्वरले अभावमा पक्कै तड्पाउँदैनन् भन्ने लाग्छ… भन्नुभएथ्यो । मलाई पनि हो जस्तै लागिरहेछ ।

संयोग हिजो प्रमुख जिल्ला अधिकारीज्यूको कार्यकक्षमा भलाकुसारी गर्न जाँदा अमेरिकन पीसकर्प्सका १०-१२ जनासँग परिचय र अन्तरक्रिया भयो । संयोजकले भने ‘उनीहरु कुनै घरमा बस्नुपर्छ, त्यहाँ जे जस्तो पाक्छ, खानुपर्छ अनि कृषिका जे जस्ता कर्म गरिन्छन्, गर्नुपर्छ…’ हुन पनि अधिकांश कृषि विषय र केही स्वास्थ्य विषयका स्वयंसेवक रहेछन् । मलाई पनि त्यसै घडीमा घरभेटीहरुको भान्सामा सँगै खाने भएपछि सम्भाव्य काममा पनि हातसारो गर्नु राम्रो हुने महसुस भएथ्यो । कहिलेकाहीं गोठलाई यस्तो बनाउन उपयुक्त होला, घरमा यसो गर्दा राम्रो होला, खाना खाने कोठा यता बनाउने कि ? जस्ता साख्खल्यता प्रकट गरिआएकै थिएँ र छु तर काममा सक्रियता दर्शाउन भने नभ्याएकै हो ।

आज स्नानपश्चात् कल्पनामा खलेगरोमा आली लगाएको, साहेको कल्पँदै ‘ॐ भूर्भूवस्व …’ जप गरी भूमिदर्शन र ‘यही सूर्यं सहस्रांसो …’ को जप गरी सूर्यदर्शन गर्ने प्रातस्कालीन कर्मलाई निरन्तरता दिन बरण्डामा निस्केँ । ट्र्याक्टरबाट हिल्याइएको दृष्य दृष्टिगोचर भयो । ‘हे सूर्य ! तिमी अस्तय भएको बेलामा विस्तारामा आराम गराएको यो शरीर अहिले तिम्रो उदयसँगै सक्रियतापूर्वक उपस्थित गराएको छु, आज भरदिन धर्तीलाई राम्रो बनाउने तिम्रो सत्प्रयासप्रति समर्थन जनाउँदै बिन्दूसरहकै भएपनि योगदान गर्नसकूँ, कसैको बिगार गर्ने मन नआवोस्, सके सपार्न सकूँ, नसके बिगार कसै गर्नुनपरोस्, सम्पूर्ण धरावासीको कल्याण गर प्रभू !’ भनी नियाल्दा भाउजू, सागर, शीलाहरु झ्याम-झ्याम पानी परिरहेको अवस्थामा काम गरिरहेको पाएँ । आज अब कतिको मेलो होला ? यो घरछेउको गरामा आए त म पनि संलग्न रही अन्तरमनेच्छा पूर्ति गर्नुहुन्थ्यो, सोचेँ ।

नभन्दै तलको गरो सकाएपछि हलरुपी ट्र्याक्टर यही छेउको गरामा ल्याइयो । मलाई पनि सरिक हुन मन लागेकै थियो । नुहाइसकेकोले भित्री कपडा चिसा थिए, पुन: फेर्नुपर्दा अर्को सेट थिएन । कसो गरुँ ? सोच्दै गर्दा फेरि तिनै चिसा लगाएर, हाफप्यान्ट र टिसर्ट लगाउनुु उपयुक्त हने जँच्यो र त्यसैगरी म पनि ट्र्याक्टरबाट हिल्याउँदै गरेको गरामा जीवनको पहिलो पटक प्रवेशिएँ । माटैमाटोको दबदबे हिलो भएमा केही समय हिलोमा सुती मृतिकासँगको साख्खाल्यता दर्शाउने शोच बनाएको थिएँ । तर घर निर्माण ताकाका गिट्टी, इटा, ढुङ्गादिको खलाहान भएकोले खुट्टालाई टेक्नसमेत असजिलो भयो, जसले उक्त रहर पूरा हुन उछार दिएन । र पनि सागरसँग कोदालो मागी अग्लो भागको माटो होचो भागतिर सार्ने काम गरेँ । छोरी सरिताले चल तस्वीर खिचिदिइछन् । ट्र्याक्टरमा जोत्ने फालीहरुको सेट रहेनछ, केवल जोतेर भिजेको माटोलाई सिलिण्डर आकारको ज्यावलले हिल्याउने मात्र गर्दोरहेछ । राम्रोसँग हिल्याउने तर माटो यताउता नसार्ने भएकाले मोही लगाएर साहनु पर्ने महसुस भयो ।

भौतिक काम गर्दागर्दै पनि मानसिक तन्तुहरुले पृथक चिन्तन गर्न सक्दा रहेछन् क्यारे ! ‘यसरी कोदालो कति समयपछि खनिस् ?’ भनेर सोध्न थाले । तत्कालीन पोखरा उपमहानगरपालिकामा कार्यरत हुँदा धान दिवसमा हिलाको र रोपोको टिकापाती लगाएर हिल्याएको गरामा रोपाइँ उद्घाटन गरेपनि कोदालो चलाएको रहेनछु । दिनै गालेर बाउसे काम गरेको स्मरण गर्दा बिहे हुँदाको वर्ष याने तीन दशक पहिलेको क्षण स्मरणियो । फलफूल खेतिका खाँतिर खाल्डा खन्ने बाहेक असारे हिलोमा कोदालो लामो अवधिपछि नै चलाएको रहेछु – बहुत आनन्दबोधले यो अविस्मरणीय दिनको टिपोट गरायो ।

करिब १ घण्टापछि काम सकियो । हिलो पखालेर याने नुहाएर खाना खाने आग्रह गरेँ । हातखुट्टाका नङ काट्ने तालिका दुई दिनपछि शनिबार भएपनि नङ्भित्र माटो पसेकोले र भिजेका पनि भएकोले नङ् काटेँ । नुहाउँदै गर्दा केटाकेटीमा ‘गफी’ हलिबाले कोदोको ढिंडो बहुत स्वादसँग खाएको, अन्तिमतिर कचौरामा दूध र त्यसमाथि तरेको घ्यूसँग भात खाएको देख्दा बालइर्ष्या लागेर आमासँग मपनि हलिबासँगै खान्छु भनी बाहिर पिंढीमा बसेर खएको स्मरण भयो ।

नुहाइ सकेर मैले पनि भाउजूलाई भातमा हाल्न तताइएको घ्यूलाई दूधको कपमा राखी दिन आग्रह गरेँ । सरिता छोरीलाई हरियो खुर्सानी ल्याइदिन भनेँ, ढिंडोको बने कमी थियो तर काँक्रो र मूलाको सलादसहित ‘गफीबा’लाई सम्झँदै हातैले मुछेर बडो स्वादपूर्वक हिजो-अस्तिभन्दा एक चोइली भात तपेर खाएँ – उल्लेखनीय एवं अविस्मरणीय क्षण !

खाना खाई हवल्दार सोमबहादुर काम्चा मगर र चालक रामबहादुर श्रेष्ठ आएपछि कार्यालय गएँ । आज मतदाता नामावली प्रकासन गर्ने कार्यक्रम थियो, बत्तीको आपूर्ति नहुँदा सहायक निर्वाचन अधिकृत रामचन्द्र अर्यालजीले राम्रा हस्तलिपिमा तयार पारी टाँसिदिनु भयो । मैले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का नेतागणलाई भोली उम्मेदबारी दिने दिन आवश्यक कागजातहरु बारेमा अवगत गराई आवश्यक बन्दोवस्त मिलाउन आग्रह गरेँ । गणना अवधिको भत्ता हिसाब हुँदै रहेछ, निर्वाचन कार्यालयका सबैलाई समान सिफ्ट मिलाउन भनेँ, चालकले पनि पाउने, पिएसओका लागि तलवमा नियमानुसार भत्ता थप गरी उपलब्ध गराउने व्यहोरा मुख्य निर्वाचन अधिकृतबाट जानकारी लिएँ । सँच्याउने निवेदन नपरेमा ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्न भनी कोठामा आएँ – यदि रोपाइँको काम बाँकी रहेछ भने बीऊ काढ्ने र एकदुई पाँजा रोप्ने कल्पनामा । तर यहाँ आउँदा सबै रोपाइँ गरिसकिएछ, अनि यो कार्याग्रसर भएँ – अविस्मरणीय असारेदिनको अभिलेखीकरण गर्ने मनसायले ।

– २०७४ असार २२ गते बुधबार (काजीपौवा, पाल्पा)