‘क्लिन फिड’ तत्काल लागू नहुने

‘क्लिन फिड’ तत्काल लागू नहुने


केही समयदेखि चर्चामा रहेको क्लिन फिड (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गर्ने मुद्धामा सरकार पछाडि हटेको छ । सरकारले सूचना तथा सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा साउन १ गतेदेखि ‘क्लिन फिड’ लगाउने उदघोष गरेको थियो । क्लिन फिड नीति–२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरीत रहेको भन्दै केवल प्रसारक व्यवसायीका सङ्घसंस्थाहरुले यसको विरोध गर्दै आएका छन् भने क्लि फिड लागू गर्नैपर्ने पक्षमा अर्कोथरी जनमत पनि प्रवल रहँदै आएको छ । तर, सरकार तत्काल लागू नगर्ने निश्कर्षमा पुगेको छ । विज्ञापनरहित नीति, २०७३ मा उल्लेखित कतिपय कार्य सम्पादन गर्न बाँकी रहेको हुँदा तत्कालका लागि स्थगित गरिएको तर्क सञ्चार मन्त्रालयले दिएको छ ।

सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारण साउन १ गतेदेखि विदेशी विज्ञापन हटाउने व्यवस्था लागू गर्न सञ्चार मन्त्रालयले सूचना जारी गरेको थियो ।

‘विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमा मात्र लाउनलिंक अनुमति दिने र सोको नवीकरण गरिने भएकाले विज्ञापनरहित च्यानलको मात्र डाउनलिंक अनुमतिपत्र दिने तथा नवीकरण गराउने’ सूचना मन्त्रालयले जारी गरेको थियो ।

ज्ञातव्य छ, नेपाल केवल टेलिभिजन महासंघ, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपाललगायतका संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको क्लीन फिड नीति फिर्ता लिन माग गर्दै आएका छन् । ती सङ्घसंस्थाले ‘क्लिन फिड’ लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणासमेत गर्दै आएका छन् ।