शिकारी जंगबहादुर

शिकारी जंगबहादुर


श्री ३ जंगको समयअघि र त्यस समयसम्म पनि खासगरी मधेस–तराईतर्फ ‘मालपोत’ उठाउन अत्यन्तै मुस्किल पर्दथ्यो, कारण मालपोत उठाउन गएका सरकारी कर्मचारी गाउँमा देख्ना साथै सम्पूर्ण लोग्नेमानिस गाउँ छोडी मुग्लान (भारत)तर्फ पस्दथे, नेपाल सरहदतर्फ आउँदैनथे । अब ती सरकारी कर्मचारीले आइमाईसँग ‘मालपोत’ असुलउपर गर्ने कुरै आउँदैनथ्यो, सरकारी कर्मचारी गाउँघरमा कति टिक्न सक्दथे र, हार खाई काठमाडौंतर्फ फर्कनुपर्दथ्यो । उपरोक्त कारणवश श्री ३ जंगले ‘चौधरी’हरूको बन्दोबस्त गरी निजी ‘चौधरी’हरूलाई गाउँहरूको फाँट–बन्डा गरी निजहरूले नै ‘मालपोत’ उठाउनुपर्ने, मालपोत नउठाएमा निज चौधरीले नै त्यस जग्गा–जमिनको मालपोत भर्ना गर्नुपर्ने र सो कार्य गरेबापत चौधरीलाई ‘सीर–जमिन–जिरायत’समेत पाउने साथै गाउँ–घरमा सानातिना मुद्दा–मामिलाको छिना–फाना चौधरीले नै गर्न पाउने बन्दोबस्तसमेत मिलाए ।

यसै साल श्री ३ जंगले ‘हुलाक’तर्फ पनि ज्यादै ध्यान दिन थाले । त्यस समय चिट्ठीमा टिकट टाँस्ने चलन थिएन । हुलाकीले तोकिएको ठाउँसम्म लामो लठ्ठीमा घन्टी झुन्ड्याई सो घन्टी बजाई–बजाई दौडँदै जानुपर्दथ्यो औ बाटो हिँड्ने बटुवाहरूले सो घन्टीकोे आवाज सुन्नासाथ छेउ लागेर हुलाकीलाई बाटो दिनुपर्दथ्यो । गन्तव्य स्थानमा पुगेपछि निज हुलाकीले तुरुन्त अर्को हुलाकीलाई सो चिट्ठीपत्रको पोको जो लाहाछाप लगाइएको हुन्थ्यो सो सबुत देखाई बुझाउनुपर्दथ्यो । सो चिट्ठीपत्रको पोको सुपुर्द गरेपछि अर्को हुलाकी सो चिट्ठी–पत्रको पोको बोकी त्यस्तै प्रकारले घन्टी बजाई–बजाई दौडी अर्को गन्तव्य स्थानसम्म पुग्नुपर्दथ्यो ।

यसै अवसरमा खासगरी पूर्व–पश्चिम पहाडतर्फ श्री ३ जंगले ठाउँठाउँमा पुलहरूको व्यवस्था गर्नुको साथै बाटोघाटोको बन्दोबस्तका निमित्त निकास गरे, साथै ठाउँठाउँमा खानेपानीको व्यवस्था गरी ‘इनार’ खन्ने, ढुङ्गेधारा सफा–सुग्घर गर्ने व्यवस्था गरे ।

वि.सं. १९१८ मार्ग, तदनुसार दिसम्बर ३ ता. १८६१ ई. का दिन श्री ३ जंग सिकारको निमित्त पश्चिम तराईतर्फ लागे । सर्वप्रथम हेटौँडादेखि सिकार गर्दै–गर्दै सिकार सवारी ठोरी पुग्यो । त्यहाँबाट उनी सिकार गर्दै डिसम्बर १२ तारिखका दिन त्रिवेणी आइपुगे । त्रिवेणीमा दश दिनको मुकाम रह्यो । त्यहाँ ६ वटा पाटेबाघ र एक भयङ्करको गोही (Alligetor) मारे । साथै रामनगरको राजा शकुनीलाई दर्शनभेट दिए । त्यही त्रिवेणीमा शिवप्रसाद उपाध्यायलाई हजार गाई दान गरे । त्यहाँबाट क्याम्प बनकट्टामा सारी २ चितुवा र ३ भालू मारे । त्यहाँबाट सिकार क्याम्प परासीमा रह्यो । त्यहाँ ३ दिनसम्म मुकाम गरी आराम गरे, औ सिकारको निमित्त एकदम पश्चिम बाँकेमा पुगे । बाँकेमा त्यहाँको तत्कालीन बडाहाकिम लेफ्टिनेन्ट कर्णेल सिद्धिमान राजभण्डारीसँग भेट गरे । बाँकेमा ‘नेपालगञ्ज’ नामकरण गरी बस्ती बसाएको र सिद्धिपुर गाउँमा रैतीद्वारा गाउँ आवाद गराएको साथै त्यहाँ हाटबजारको समेत व्यवस्था मिलाएबापत सिद्धिमान राजभण्डारीसँग श्री ३ जंग खुसी भई निजलाई पूरा कर्णेलको पद दिए ।