नेपाली काङ्ग्रेस कता ?

नेपाली काङ्ग्रेस कता ?


– शैलजा आचार्य

नेपाली काङ्ग्रेसले प्रस्तुत गरेको मध्यमार्गी धार कमजोर भएको छ । नेपालको राजनीतिको केन्द्रबिन्दु रहेको यो मध्यमार्गी धार आज फेरि वामपन्थी र दक्षिणपन्थी शक्तिहरूको बीच चेपिएर आफूले खेल्नुपर्ने भूमिका खेल्न सकिरहेको छैन ।

०४८ को चुनावपछि पनि यो मुलुकले राजनीतिक स्थिरता पाउन सकेन । गएको मध्यावधि निर्वाचनदेखि अस्थिरताको सुरुवात भयो । त्यसपछिको एमालेको अल्पमतको सरकारको चुनावको सिफारिस त्यो शृङ्खलाको अर्को कडी थियो । अदालतको ऐतिहासिक निर्णय संसद्को सर्वोच्चताको पक्षमा भएकाले चुनाव हाललाई टरेर गएको छ । र, संसद्बाटै विकल्प खोजेर एउटा प्रयोग भएको छ । मिलिजुली सरकारको प्रयोग । अस्थिरताको भुमरीमा मुलुक नहोमियोस् भन्ने हाम्रो पनि चाहना छ । तर, सही किसिमको सन्तुलन हुन नसक्दा यो प्रयोगले स्थिरता दिन सक्ने सम्भावना छैन । सही सन्तुलन हुन नसकेको सङ्केत मिलिजुली सरकारका सुरुका दिनहरूले नै दिइसकेका छन् । चाहे मन्त्रिमण्डलको बनोट र मन्त्रालयको बाँडफाँडमा होस् या नीति र कार्यक्रम होस् यो असन्तुलन सर्वत्र छ । सत्तामा दक्षिणपन्थी शक्ति हावी हुनु र मध्यमार्गी नेपाली काङ्ग्रेसको भूमिका निष्प्रभावी सानो, गौण हुनु र सडकमा वामपन्थी शक्ति पुग्नुले भावी सङ्कटको सङ्केत दिन्छ । यस्तो ध्रुवीकरण नेपाली काङ्ग्रेस र मुलुकको हितमा छैन । राजनीतिक स्थायित्वको हितमा छैन । संसदीय प्रजातन्त्रको हितमा छैन । यति मात्र होइन, मुलुकलाई स्थायित्व दिने सबै संस्था र निकायमाथि प्रहार भइरहेछ । राजसंस्था, स्वतन्त्र न्यायालय, सेना, हिन्दूधर्म र भाषा सबै आज विवादमा पारिएका छन् । मुलुकमा यसरी व्यापक अराजकता र अस्थिरताको सिर्जना हुँदै छ ।

सरकारमा रहेर नेपाली काङ्ग्रेसले जनतासमक्ष आफ्नो कस्तो अनुहार प्रस्तुत गर्छ, आफ्नो मूलभूत अडान र आदर्शसित सम्झौता नगरी कसरी सन्तुलन कायम गरेर राजनीतिक स्थिरता दिन्छ र जनताको समस्या समाधातर्फ कदम चाल्छ आज मूल सवाल यही छ । र, यसैमा नेपाली काङ्ग्रेसको भविष्य निर्भर गर्छ र मुलुकको भविष्य पनि यसैमा छ । यो गम्भीर स्थितिमा नेपाली काङ्ग्रेसले एउटा प्रभावकारी भूमिका खेलेर मुलुकलाई सङ्कटबाट बाहिर निकाल्न सक्छ । तर, कस्तो दुर्भाग्य ! नेपाली काङ्ग्रेस आफ्नो जीवनको सबैभन्दा कठिन घडीमा आज आइपुगेको छ । उसका सैद्धान्तिक आधारहरू नै आज दाउमा छन् ।

राप्रपा र सद्भावनासितको असन्तुलित र दीर्घकालीन साझेदारी काङ्ग्रेसको हितमा छैन । अहिलेको सरकार बाध्यताको उपज हो भने पनि यस्तो असन्तुलन हाम्रो हितमा छैन । अहिले नै राप्रपाका नेता र मन्त्रीहरूको अभिव्यक्तिमा काङ्ग्रेसको मर्ममा प्रहार गर्ने काम भइराखेको देखिन्छ । अर्थात् गलत सङ्केतको सुरुवात भइसकेको छ । काङ्ग्रेसभित्रैबाट सचेत गराउँदै जानुपर्छ । दबाब दिँदै जानुपर्छ । आजको हाम्रो दायित्व यही हो ।
पोखरा महासमितिमा प्रस्तुत मेरो लेख यसैसाथ संलग्न छ । त्यसबेलाको व्याख्या अझै प्रासाङ्गिक छ । प्रासाङ्गिक मात्र होइन, त्यसबेला मैले सङ्केत गरेको खतरा तीव्र भएको छ ।

स्वर्गीय जननेता बीपीको कोरारालाले २००८ सालमा यही शीर्षकमा एउटा लेख लेख्नुभएको छ । आज पनि नेपाली काङ्ग्रेस कता ? भन्ने प्रश्न नै प्रत्येक कार्यकर्ताको मनमा छ । नेपाली काङ्ग्रेस बाटो नै पहिल्याउन नसकेर किंकर्तव्यविमुढ छ । पक्षघात भएको अवस्थामा छ । नेपाली काङ्ग्रेसको ऐतिहासिक दायित्व प्रजातन्त्रको पुनस्र्थापना, पूरा भएर अब यो पार्टीको कुनै औचित्य र भविष्य छैन भन्ने सोचाइ हो भने, भारतको स्वतन्त्रता पनि गान्धीले भारतीय काङ्ग्रेसलाई विघटन गर्ने कुरा गरेजस्तो हामीले पनि त्यही दिशामा सोच्नुप¥यो । तर, होइन, यो पार्टीको ‘भ्यालिडिटी’ छ, नेपालको भावी राजनीतिमा यसले अझै महत्वपूर्ण भूमिका खेल्नुपर्छ र खेल्छ भन्ने हो भने यो महासमितिले गम्भीर रूपमा सिद्धान्त र सङ्गठनको केही मौलिक प्रश्नहरूलाई सोचेर, निर्णय गरेर पार्टीलाई जीवन्तता दिनुपर्छ ।

नेपाली काङ्ग्रेसका कार्यकर्ताको आज सर्वत्र मोहभङ्ग भएको छ । काङ्ग्रेसको सरकारको अनुभव र पार्टी दुवैको कार्यान्वयनबाट यो मोहभङ्ग भएको हो । यो वास्तविकता हो । यसलाई स्वीकार गरेर मात्र काङ्ग्रेसले नयाँ थालनी गर्न सक्छ । पार्टीको नीति र रणनीतिको अस्पष्टता र विचलनले मात्र नेतृत्वमाथिको आस्था टुटेको होइन, नेताहरूले आफ्नो वरिपरिको घेराबन्दीबाट निस्केर समग्र परिस्थितिको विश्लेषण गरी अगाडिको कदम चाल्न सक्नुहोला भन्ने विश्वास अब टुटेको छ ।

हो, यसपालि पनि २००७ र २०१७ सालमा जस्तै नेपाली काङ्ग्रेस एउटा षड्यन्त्रमा परेको छ । काङ्ग्रेसलाई सधैँ प्रतिपक्षमा राख्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय षड्यन्त्रको सिकार हामी भयौँ । नेपाली काङ्ग्रेसलाई सत्ताबाट सडकमा झारेर र फेरि पनि मध्यावधिमा सत्तामा आउन नदिएर एउटा अध्याय त पूरा भएको छ । अब चुनावपछि खेलको अर्को अध्याय सुरु भएको छ । काङ्ग्रेसमा नीतिगत विचलन र अन्योल ल्याई झन् सानो र गौण बनाउने षड्यन्त्र छ । काङ्ग्रेसलाई इतिहासको पानामा मात्र सीमित राख्ने षड्यन्त्र छ ।

नेपाली काङ्ग्रेसविरुद्ध जन्मकालदेखि नै यत्रो षड्यन्त्र किन त ? किनभने नेपाली काङ्ग्रेस मात्र एउटा राजनीतिक दल होइन, यो एउटा राष्ट्रिय प्रजातान्त्रिक आन्दोलन हो, जसले आफ्नो ५० वर्षको सङ्घर्षको इतिहासले राष्ट्रिय मुक्ति आन्दोलनको चरित्र हासिल गरेको छ । र, नेपाली जनताको भावनात्मक एकता र राष्ट्रियताको सुदृढीकरणमा मद्दत पु¥याएको छ । र अर्को, नेपाली काङ्ग्रेसले संसदीय प्रजातन्त्रलाई परिस्थितिवश स्वीकार गरेको होइन । यही सिद्धान्त र आदर्शमा स्थापित पार्टी हो । र, अर्काे नेपाली काङ्ग्रेस एउटा मध्यममार्गी पार्टी हो । यो कमजार भएर मुलुकको राजनीति उग्रवामपन्थी र उग्र दक्षिणपन्थीबीच धु्रवीकरण भयो भने संसदीय राजनीति खतरामा पर्छ । किनभने २००८ सालमा प्रतिक्रान्तिकारी शक्तिहरू हावी भएजस्तै अलिहेको प्रजातन्त्र पनि प्रतिक्रान्तिको भयबाट मुक्त हुन सकेको छैन । अहिले पनि अप्रजातान्त्रिक शक्तिहरू उग्र वामपन्थी र उग्र दक्षिणपन्थी बिस्तारै–बिस्तारै सुदृढ हुँदै छन् । एउटा सरकारमा पुग्न सफल भएर र अर्को प्रतिपक्षमा बसेर आफ्नो सङ्ख्याभन्दा ठूलो भूमिका पाएर मुलुकको यस्तो उग्र राजनीतिक धु्रवीकरण २००८ सालपछि चरमबिन्दुमा पुग्यो । २०३३ सालमा बीपी नेपाल फर्केपछि नेपाली काङ्ग्रेसको यो मध्यममार्गी धार फेरि राजनीतिको केन्द्रमा पुग्यो र २०४६ सालको आन्दोलन र त्यसपछि त निर्णायक भएर रह्यो । सत्तामा रहेको नेपाली काङ्ग्रेसलाई प्रतिपक्षमा पु¥याउनुमा यो षड्यन्त्र फेरि सफल भयो ।

सबभन्दा ठूलो कमजोरी नेपाली काङ्ग्रेसको नीतिगत अस्पष्टता हो । राष्ट्रिय राजनीतिका अरू शक्तिहरूबारे हाम्रो दृष्टिकोण के ? अर्थात् एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबारे हाम्रो दृष्टिकोण र सम्बन्ध कस्तो र कुन मित्र र कुन शत्रुशक्ति हुन् ? बीपी कोइरालाले व्याख्या गरेअनुसार उग्र वामपन्थी र उग्र दक्षिणपन्थी हुँदै अप्रजातान्त्रिक शक्ति एउटै सिक्काका दुई पाटा हुन् । हाम्रो दुवैबीच समदूरी छ । यो व्याख्याअनुसार एउटा पुनरुत्थानवादी शक्ति र अर्को उग्र साम्यवादी शक्ति हुन् । नेपाली काङ्ग्रेस एउटा प्रजातान्त्रिक समाजवादी पार्टी हो । एउटा मध्यममार्गी पार्टी । जसको आफ्नो स्पष्ट अनुहार र पहिचान छ । आफ्नो छुट्टै राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोण छ । सामाजिक शक्तिहरूको त्यसअनुसारको व्याख्या र विश्लेषण छ । यसको सामाजिक र वर्गीय चरित्र पनि छुट्टै छ । समग्रमा भन्ने हो भने यसको आफ्नो छुट्टै सांस्कृतिक पहिचान छ । प्रजातान्त्रिक समाजवाद एउटा दर्शन मात्रै होइन, राज्य सञ्चालनको यसको आफ्नो छुट्टै पद्धति मात्रै होइन, यो एउटा जीवन पद्धति पनि हो । अर्थात् नेपाली काङ्ग्रेसको एउटा निश्चित दिशा र गन्तव्य छ । यसको ठाउँ अरू वामपन्थी र दक्षिणपन्थी शक्तिहरूले लिन सक्दैनन् । एमालेसित जनआन्दोलनको बेला कार्यगत एकता भएको हो । त्यस्तै राप्रपासित संसद्मा कुनै विशेष उद्देश्यका लागि कोअर्डिनेसन हुन सक्छ । दीर्घकालीन एकता या समझदारी हुन सक्दैन । व्यावहारिक राजनीतिको तकाजाले रणनीति र ट्याक्टिसतहत केही लघुकालीन सम्झौता हुन सक्छ । तर, त्यो पनि लाभ र हानिमा तौलेर आफ्नो राजनीतिक हैसियतलाई नबिर्सेर ।

यसपालि संसद्मा राप्रपासँग भएको सम्झौतामा काङ्ग्रेसको हित हेरिएन । यसरी मुलुकको राजनीतिमा फेरि दुवैतिरका उग्रपन्थी शक्तिहरू, अप्रजातान्त्रिक शक्तिहरूलाई हावी गरेर २०१७ सालपछिको जस्तो धु्रवीकरण गर्ने षड्यन्त्र हुँदैछ । सत्तामा वामपन्थीलाई पु¥याएर र प्रतिपक्षमा राप्रपालाई हाबी गराउन खोजेर काङ्ग्रेसलाई फेरि प्रमुख शक्तिबाट दोस्रो शक्तिमा परिणत गर्ने षड्यन्त्र हुँदैन । काङ्ग्रेसका साथीहरू सतर्क र सचेत हुनुपरेको छ । यस्तो धु्रवीकरणले मुलुकमा राजनीतिक स्थायित्व रहँदैन । काङ्ग्रेस र प्रजातन्त्र पर्याय भएकाले काङ्ग्रेस कमजोर भयो भने प्रजातन्त्र पनि रहँदैन र अब त प्रजातान्त्रिक व्यवस्था सङ्कटमा प¥यो भने मुलुकको राष्ट्रियता पनि सङ्कटमा पर्छ । मुलुकको अस्तित्वसँग नेपाली काङ्ग्रेसको भविष्य गाँसिएकोले सबै अस्थिरतावादी शक्तिहरूको पहिलो प्रहार नेपाली काङ्ग्रेसविरुद्ध छ । नेपाली काङ्ग्रेसको अर्को कमजोरी सङ्गठनात्मक हो । पार्टी भनेको भीड होइन । एउटा सङ्गठित र अनुशासित जमात हो । नेपाली काङ्ग्रेस आज अनुशासनका सारा मर्यादाहरू टुटेर भीडमा परिणत भएको छ । घात–अन्तर्घात हुन्छ । पार्टीले अनुशासन कायम गर्न सक्दैन । पार्टी सभापति चुनाव लड्नुहुन्छ । आफ्नै साथीहरू हराउन लाग्छन् । पार्टीगत मर्यादाका सारा दिवारहरू तोडिन्छन् । अनि आफ्नो पार्टीको सरकारलाई आफ्नै पार्टीका ३६ समूह गिराउँछन् र पनि काङ्ग्रेस नै रहिरहन्छन् । अनि मध्यावधि चुनावमा लड्नुहुन्छ । अनि मध्यावधि चुनावमा मुलुक धकेलिन्छ । फेरि पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन नेताहरूकै नाम लिएर बागी उम्मेदवार उठ्छन् । यी बागी उम्मेदवार आफू जित्न उठेका होइन । कहीँ एमाले त कहीँ राप्रपालाई जिताएर काङ्ग्रेसलाई बहुमतमा आउन नदिने षड्यन्त्रअन्तर्गत उठाइएका हुन् । यसमा नेताहरूको वरिपरि बस्नेले नै प्रमुख भूमिका खेल्छन् ।

आजको यस अवस्थामा के नेपाली काङ्ग्रेस आफ्नो अस्तित्वको सङ्कटबाट निस्केर एउटा ‘भायलेवल’ पार्टीको रूपमा अगाडि बढ्ला ? आज सारा देश चिन्तित भएर हामीतिर हेरिरहेको छ । के यत्रो सङ्घर्षबाट आएका केही कार्यकर्तामा पनि प्राण र जीवनको स्पन्दन बाँकी छैन ? यही प्रश्नको उत्तर हामीले पोखरामा खोज्नुपर्छ ।

नेपाली काङ्ग्रेसको आजको सङ्कटको सजिलो समाधान छैन । एउटा पीडादायक शल्यक्रियाबाट यसले गुज्रनुपर्छ । र, यो शल्यचिकित्सा केन्द्रबाट सुरु हुनुपर्छ । साम्यवादी पार्टीमा जस्तो आत्म आलोचनाबाट शुद्धीकरण थाल्ने हो भने नेताहरूबाटै सुरु हुनुपर्छ । २०४६ सालको आन्दोलनको नेतृत्व गरेर सत्तामा पुगेको पार्टीलाई यो अवस्थामा पु¥याउने सम्पूर्ण जिम्मेवारी नेताहरूमा छ । उहाँहरूले कार्यकर्तासमक्ष यो जिम्मेवारी स्वीकार गर्नुपर्छ ।

साथीहरू, हामीले पनि प्रजातन्त्रको पुनस्र्थापनाको निमित्त आफ्नो जीवन दिएका हौँ । एउटा क्रान्तिको सपना बोकेर बाँचेका हौँ । राजनीतिक मात्रै होइन, आर्थिक र सामाजिक परिवर्तन ।

आमूल परिवर्तनको सपना । आज देशको यो कहालीलाग्दो गरिबी, यो अशिक्षा, यो रोग, यो समग्र अन्धकारबारे कसले सोच्ने ? पञ्चले सोचेनन् । कम्युनिस्ट नारामा मात्र छन् । नेपाली काङ्ग्रेसले पनि सोचेन भने के यो देशको भविष्य छ ? जुन देशमा इमानदार समूह नै छैन, त्यो देश अगाडि कसरी जाने ? कसले लग्ने ? के विदेशी राष्ट्र र दातृ संस्थाहरूले ? कुनै पनि मुलुकको आत्मा र जीवनशक्ति त्यस मुलुकको जनता हो । त्यसमा पनि सचेत जनता । प्राणहीन राष्ट्र कहिलेकाहीँ भूगोलबाटै बिलाएर पनि जान्छ । अनि त्यही समाजवादको कुरा आउँछ । समाजवादीे अर्थशास्त्रमा म जान चाहन्नँ । समाजवाद र निजीकरण र उदारवादको बहस र विवादमा पनि पर्न चाहन्न । हाम्रो निम्ति समाजवाद भनेको गरिबीको रेखामुनि रहेका लाखौँलाख जनताप्रति प्रतिबद्धता व्यक्त गर्ने शब्दावली हो, मानवीय अनुहार भएको विकासको परिकल्पना हो । मानवीय अनुहारसहितको निजीकरण हो । तर, आज यो प्रतिबद्धता पनि दोहो¥याउँदैनौँ । र जनता हामीबाट टाढा हुँदै छन् । नेपाली जनताको काङ्ग्रेससित मोहभङ्ग हुँदै छ । देशको कस्तो दुर्भाग्य ! काङ्ग्रेसको विकल्प पनि त छैन । कमसेकम प्रजातान्त्रिक विकल्प आज छैन । त्यसैले आउनुस्, हामी सङ्कल्प गरौँ । आजको यो भेला सङ्कल्प र अठोटको थलो होस् ।

(२०५२ कात्तिक १५, बुधबार)