दिनमा तीन पटक कफी पिउनाले आयु लामो

दिनमा तीन पटक कफी पिउनाले आयु लामो


आफ्नो आयु लम्ब्याउने चाहना कसलाई नहोला ? त्यसमाथि सजिलो विधि अपनाएर आयु लामो पर्न सकिन्छ भने त सुनमा सुगन्ध नै भइहाल्यो । अनुसन्धानकर्ताहरूले यस्तै एउटा सजिलो उपाय पत्ता लगाइदिएका छन् ।

अनुसन्धानबाट पत्ता लागेअनुसार दिनमा तीन पटक कफी पिउनाले आयु लामो हुन सक्छ । यो अनुसन्धान युरोपका ३५ वर्षभन्दा माथिका करिव पाँच लाख मानिसमाथि गरिएको थियो ।

एनाल्स अफ इन्टरनल मेडिसिन नामक जर्नलमा प्रकाशित भएको उक्त शोधमा एक कप अतिरिक्त कफी पिउने व्यक्तिको आयु लामो हुन सक्छ । भलै उक्त कफी डिकैनिफिनेटेड (क्याफिन निकालिएको) नै किन नहोस् ।

तर, कतिपय विशेषज्ञले उक्त शोधको नतिजाप्रति शङ्का प्रकट गरेका छन् । उनीहरूको भनाई के छ भने कफीकै कारण आयु बढेको हो या मानिसले जीवनशैलीमा परिवर्तत गरेर भन्ने एकीन गर्न भइसकेको छैन ।

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर एण्ड इम्पेरियल कलेज लण्डनका शोधकर्ताहरुको भनाई छ कि धेरै कफी पिउनुको सम्बन्ध हृदयसम्बन्धी बिरामीबाट ज्यान जाने जोखम कम गर्नुसँग छ । युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रोफेसर सर डेभिड स्पीगलहालटरले चाहिँ यदि कफीका कारण मृत्यु को दरमा कमी आएको आँकलन गर्ने नै हो भने एक कप अतिरिक्त कफी प्रत्येक दिन पिउनाले पुरुषको उमेर तीन महिना बढ्ता हुन सक्छ भने महिलाको चाहिँ औषत एक महिना मात्र बढ्छ ।

कफी र मानिसको आयुसम्बन्धी उक्त शोध अत्यन्त सही ढंगले गरिएको भए पनि शोधले कफीमा त्यस्तो कुन जादु तत्व छ जसले आयु बढाउन सहयोग गर्छ भन्नेचाहिँ खुलाउन सकेको छैन ।