ट्रम्पका छोराबाट रुसी अधिकारीसँगको इमेल सार्वजनिक भएपछि…

ट्रम्पका छोराबाट रुसी अधिकारीसँगको इमेल सार्वजनिक भएपछि…


सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनका समयमा रुससँग गरेका इमेल श्रृंखलाहरु अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले सार्वजनिक गरेपछि नयाँ तरंग पैदा भएको सन्दर्भलाई समाचार एजेन्सीहरुले महत्वका साथ प्रकाशित गरेका छन् । गत मङ्गलबार ट्रम्पका छोराले ती इमेल सार्वजनिक गरेका थिए। विशेष गरी एकजना रुसी वकिलसँगको ती मेलमा उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखिएको र राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले त्यसको स्वागत गरेका छन् ।

इमेलको जवाफमा डोनाल्ड ट्रम्पका जेठा छोरा जुनियर ट्रम्पले यदि त्यस्तो सूचना दिने हो भने त्यो आफ्नो लागि निकै खुसीको कुरा हुने बताएका छन् ।त्यसपछि ती रुसी अधिकारीले ती मेलहरु ट्रम्पका छोरालाई लेखेको जानकारी गराएका छन् । ती मेल उनले सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराले राम्रो र पारदर्शी काम गरेको प्रतिक्रिया दिएका छन् ।

गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको कुरा सो मेलमा लेखएिको छ । राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर प्रशंसा गरेका पनि सो समाचारमा जनाइएको छ ।

उक्त इमेलमा रुसी वकिलले आफूले निर्वाचनका समबन्धमा सम्वेदनशील सूचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ भनेर जवाफ लेखेका छन् । यस वार्तालाप उनले मङ्गलबार सार्वजनिक गरेका हुन् । इमेल प्रकरण केही दिनसम्म बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको पनि ट्रम्पका छोराले स्वीकार गरेका छन् ।

जुनियर ट्रम्प हाल घरजग्गा किनबेच गर्ने ब्यवसायी हुन । बुबा राष्ट्रपति भएपछि उनले ट्रम्पको व्यापार समेत सम्हालेर बसेका कुरा पहिले नै जानकारी गराइएको छ ।

यतिबेला यो इमेल प्रकरणको खुलासालाई अमेरिकामा विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया दिइएको छ । कतिपयले यसलाई पारदर्शीताको उदाहरण भनेका छन् भने कतिले भने दुःखको कुरा र बाहिर ल्याउन नमिल्ने सम्वेदनशिल भएको पनि बताएका छन् । इमेलहरुबाट रुसी सरकारले ट्रम्पको चुनावी अभियानलाई सूचना उपलब्ध गराउन चाहेको र उनलाई विजयी गराउनका लागि सहयोग पुग्ने गरी काम गरिएको देखिएको कतिपयको विश्लेषण छ ।

यो प्रकरणको खुलासासँगै अमेरिकी अधिकारीहरुले अमेरिकी चुनावमा रुसी हस्तक्षेप भए नभएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।साथै यसबाट यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपको चर्चा निकै चलेकोमा फेरि एकपटक सतहमा आएको विश्लेषकहरुको भनाई छ ।