हिन्दीलाई ‘सम्पर्क भाषा’ बनाउँदा सर्वस्व गुम्ने सोच्नु कमजोर मानसिकताको उपज

हिन्दीलाई ‘सम्पर्क भाषा’ बनाउँदा सर्वस्व गुम्ने सोच्नु कमजोर मानसिकताको उपज


– चन्दा चौधरी (महामन्त्री, राजपा नेपाल)

कल्याणकारी कर्म गर्ने उद्देश्यले खोलिएका विभिन्न सामाजिक सङ्घ–संस्थामा संलग्न रही सक्रियता दर्शाउँदै आउनुभएकी चन्दा चौधरी एक उदीयमान राजनीतिकर्मी हुनुहुन्छ । वर्तमान परिवेशले मधेसकेन्द्रित राजनीतिमा संलग्न देखिए पनि उहाँ सिङ्गो नेपालको निकास र विकासका लागि आफू लागिपरेको दाबी गर्नुहुन्छ । यतिबेला मुलुकको राजनीतिको केन्द्र बनिरहेको राष्ट्रिय जनता पार्टीको महामन्त्रीसमेत रहनुभएकी चौधरीले माधव नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद सहायक मन्त्रीको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो भने नेपाल–भारत महिलामैत्री समाजको अध्यक्षका रूपमा उहाँको कामको सराहना गर्ने पनि उत्तिकै भेटिन्छन् । प्रस्तुत छ समसामयिक राजनीतिमाथि केन्द्रित भई नेतृ चौधरीसँग गरिएको कुराकानी ।

० निकै दिनको अन्योल र विवादपछि दल दर्तामा जानुभयो, वास्तवमा दल दर्ता गर्न पनि किन यस्तो बखेडामा परेको ?
– दल दर्ताकै लागि हामी कुनै बखेडामा परेका होइनौँ, तर हल्ला गर्नेहरूले के–के न लफडामा परेजस्तो गरी मिडियाबाजी गरिदिए । सबैलाई थाहा नै छ कि राजपा नेपाल ६ वटा दल एक भएर भर्खरै गठन भएको पार्टी हो । ६ दलका नेताहरू सबैको आ–आफ्ना अलग भावना हुन्छ, सोच–शैली अलग हुन सक्छ । यो अलग सोच–शैली र भावनालाई एकै ठाउँमा मिसाएर अघि बढ्न केही छलफल त हुनैप¥यो नि ।

० कतिपयले त ६ दलका नेताबीच कुरा मिल्न गाह्रो भएको नभई कुनै बाह्य इसारा पर्खिंदा राजपा दल दर्तामा ढिलाइ भएको हो पनि भने नि, यस्तै हो त ?
– यो बेकारको कुरा हो । दल हामी दर्ता गर्दैछौँ त कसको इसारा पर्खिने ? दलको विधानमा के–कस्ता बुँदा राख्ने, प्रस्तावना कस्तो लेख्नेजस्ता सवालमा नेताहरूबीच गम्भीर छलफल चलेको हो । गजेन्द्रबाबुको नाम प्रस्तावनामा राख्ने कि भन्ने एजेण्डाले पनि छलफल तन्कायो । पछि घोषणापत्रमा उहाँको नाम राख्ने गरी सहमति जुट्यो र दर्तामा गयौँ ।

० अब चुनाव लड्नकै लागि त होला होइन निर्वाचन आयोगमा दल दर्ता गरेको ?
– फगत चुनाव लड्नका लागि राजपा दल दर्ता गरिएको भन्न मिल्दैन । किनकि मधेसको समस्या ज्युँकात्युँ छ, राज्यले समस्या हल गर्नुपर्छ भन्ने हाम्रो माग ज्वलन्त रूपमा उठिरहेकै छ । जबसम्म हाम्रो माग पूरा गर्ने गरी संविधान संशोधन हुँदैन तबसम्म चुनावमा जाने सोच हाम्रो पार्टीले बनाएको छैन । जुन मुद्दाका लागि आन्दोलित छौँ, त्यसलाई यत्तिकै छोडेर चुनावमा जानुको तुक पनि रहन्न र हामी यत्तिकै निर्वाचनमा जाने कुरा सोच्न पनि सक्दैनौँ । यहाँनेर म यो पनि प्रस्ट्याउन चाहन्छु कि राजपाले यतिबेला मधेसका समस्या मात्र उठाएजस्तो देखिए पनि यो पार्टीले सिङ्गै नेपालको प्रतिनिधित्व गर्छ । चुनावमा जाँदा कुनै २ नम्बर या अर्को कुनै खास प्रदेश भनेर नभई मुलुकका सबै प्रदेशमा जाने हो । यसका लागि पहिले वर्षौंदेखि बल्झिँदै आएको मधेसको समस्या समाधान गर्न राज्य तयार हुनैपर्छ ।

० प्रदेश नम्बर २ का जनता त चुनावको ब्यग्र प्रतीक्षामा छन् भन्ने स्वीकार गर्नुहुन्छ तपाईं ?

– न जनता चुनाव चाहँदैनन् न हामी नै चुनावविरोधी हौँ । तर, प्रदेश नम्बर २ का जनता आफ्नो हक–अधिकारको मुद्दा नै छोडेर केवल चुनाव चाहन्छन् भनी बुझ्नु एकाङ्की कुरा हो । मधेसका जनता पहिला राज्यबाट माग सम्बोधन भएको हेर्न आतुर छन् ।

० तपाईंहरू यस्तो दाबी गर्नुहुन्छ, तर जनता भने शिक्षा, स्वास्थ्य, बाटोघाटोजस्ता विकास–निर्माण चाहिरहेका छन्, आगलागी, बाढीको प्रकोपजस्ता प्रकोपबाट मुक्ति चाहन्छन्, जसका लागि तराईकेन्द्रित दलहरू खासै केही गरिरहेका छैनन्, होइन र ?
– तपाईंको आशय जनताले नचाहीकन मधेसमा आन्दोलन चलेको भन्ने हो भने यो नितान्त गलत बुझाइ हो । जनताले नचाहेसम्म कसरी आन्दोलन सम्भव हुन्छ ? बारबार मधेस आन्दोलित भएको छ, छातीमा गोली थापेका छन् त्यहाँका जनताले । मानिस यसै सहिद बन्न तयार हुन्छ ? जनतालाई चुनाव चाहिएको छ, तर चुनावभन्दा माग सम्बोधन हुनुपर्ने कुरा नै अहम् छ जनताका लागि । यो कुनै हठ होइन, मधेसमा अरू पनि पार्टी छन्, तर जुनसुकै दलमा आबद्ध जनता पनि मधेस मुद्दाको सम्बोधन हुनुपर्ने भनिरहेका छन् । यो फिल्डमा गएर बुझ्दा थाहा हुन्छ ।

० राजपालाई यतिबेला मच्चियो–मच्चियो थच्चियो भन्नेहरू पनि छन्, के जवाफ दिनुहुन्छ ?
– भन्नेको मुख थुनेर साध्य हुँदैन । पूर्वाग्रह राखेर आरोप लगाउने, मुद्दाको गम्भीरता नबुझी व्यङ्ग्य गर्न खोज्नेलाई के भन्न सकिन्छ र ? पार्टी एकीकरणपछि राजपा झन् नयाँ र सुझबुझपूर्ण ढङ्गले अघि बढ्न लागेको छ । आन्दोलनलाई सार्थक बिन्दुमा पु¥याउन हामी झन् गम्भीरताका साथ छलफलमा जुटेका छौँ, नवीन सोच, नीति–रणनीति निर्माणमा लागेका छौँ । यत्तिकै राजपा सेलायो भनी कसैले आत्मरति लिन खोजेको छ भने हाम्रो भन्नु केही छैन, हामी आन्दोलनबाटै जवाफ दिनेछौँ ।

० संविधान संशोधन नभए पनि राजपा चुनावमा आउँछ भन्ने आँकलन गरिँदै छ, यसमा कति विश्वास गर्ने ?
– आजका मितिसम्म राजपा जुन नीति र गतिका साथ अघि बढेको छ, यस आधारमा म सम्बन्धित सबैलाई आश्वस्त र विश्वस्त तुल्याउन चाहन्छु कि संविधान संशोधन नभए राजपा चुनावमा जाँदैन । कसले के आधारमा किन यस्तो निरर्थक आँकलन गरिरहेछ, त्यसले हामीलाई केही फरक पर्दैन बरु त्यस्तो विश्लेषण गर्नेकै कद होच्याउँछ । मधेसको मुद्दा रातारात उब्जेको कुरा नभई दशकौंदेखिको हो । २०६४ फागुन १६ देखि त राज्यले आधिकारिक रूपमै डकुमेन्टेसन गरेको मुद्दा हो यो । त्यस मितिभन्दा यता लगातार आन्दोलन, सम्झौता, बाह्रबुँदे, बाइसबुँदे, चारबुँदे, तीनबुँदे सहमति भएका छन् । सरकार सजिलै सहमति गर्ने, तर त्यसको पालना या कार्यान्वयन नगर्ने भएकाले मात्र समस्या लम्बिरहेको हो । उहाँहरू बहुमतको कुरा गर्नुहुन्छ । तर बहुमतले मात्रै पुग्दैन, आन्दोलनले पनि धेरै कुरा निर्धारित र स्थापित गर्छ भन्ने बुझ्नुपर्छ । संविधानसभाबाटै समस्या समाधान गर्ने कमिटमेन्ट त उहाँहरूले नै गर्नुभएको हो । यसैमा विश्वास गरेर हामी आन्दोलन थाती राखी संविधानसभामा गएका पनि हौँ । तर, आफ्नै वचनको पालना एमाले, काङ्ग्रेस र माओवादी दलका नेताहरू गरिरहनुभएको छैन । बारबार मधेसमाथि धोका भएको छ । यो दुःखद र उदेकपूर्ण विषय हो ।

० यो दुःखेसो विशेष एमालेप्रति मात्रै हो कि ?
– होइन, एमाले, काङ्ग्रेस र माओवादी, सबै उस्तै छन् हाम्रा लागि । उहाँहरू आफ्नो भागबन्डा नमिल्दा मात्र झगडा गर्नुहुन्छ, तर मधेसलाई थिचोमिचो गर्ने सवालमा सबै एकठाउँ उभिनुहुन्छ । हामीले मात्र यस्तो महसुस गरेको नभई जगत्ले यो देखिरहेको छ ।

० सबै कुरा मिलेर चुनावमा जाने अवस्था आयो भने पनि चुनाव चिह्न त छाता नपाउने भयो नि राजपाले, यस्तो अवस्थामा कुन चिह्न लिएर निर्वाचनमा होमिएला राजपा ?
– चुनावमा जाने माहोल नै निर्माण नभएकोले हाम्रो पार्टीले चुनाव चिह्नबारे त्यसरी केही सोचिसकेको छैन । मधेसको माग पूरा भयो भने त चिह्नको सवाल के रहला र ? यदि कारणवश छाता हासिल भएन भने ६ दलमध्येको कुनै एक राम्रो चिह्न लिएर जान सकिन्छ ।

० पार्टी निर्णयविपरीत चुनावमा उम्मेदवार बनेकाहरूलाई कारबाही गर्छ कि पुरस्कृत ?
– पुरस्कृत गर्ने त कुरै भएन, कसैले पार्टीको निर्णयविपरीत गई पार्टीको छविमा आँच पु¥याउने, हानि हुने काम गरेको छ भने तिनको छानबिन गरी कारबाही गर्न पार्टी पछि पर्दैन । कसैले आफूलाई स्वतन्त्र घोषणा गरी उम्मेदवारी दिएको छ भने त्यो उसको खुसीको कुरा भयो ।

० मधेसकै अरू प्रदेशमा शान्तिपूर्ण चुनाव भयो, यसले तपाईंहरूलाई कत्तिको घोच्यो ?
– शान्तिपूर्ण रूपले कुनै मधेस क्षेत्रमा चुनाव भएको छैन । हामीले यसलाई आतङ्कपूर्ण तवरमा गरिएको चुनाव भनेका छौँ । सेना लगाएर जबर्जस्ती गरिएको चुनावलाई पनि शान्तिपूर्ण भन्न मिल्छ र ? कुनै लोकतान्त्रिक मुलुकमा जनप्रतिनिधि छान्ने बेला सेना परिचालन गरिरहनु आवश्यक छैन । जहाँ यसरी सेना उतारिन्छ, अनि बुझ्नैपर्ने हुन्छ कि त्यहाँ केही न केही गडबडी छ, कोही न कोही अन्यायमा परिरहेको छ ।

० चुनावमा नजाँदा पनि राजनीति सिद्धिने, संशोधनबिना जाँदा पनि आफैँलाई भारी पर्ने अवस्था देखिन्छ, हो ?
– चुनावमा नजाँदैमा राजनीति सिद्धिने भन्ने हुँदैन । बरु आफ्ना जायज माग नै छोडेर चुनावमा जाँदाचाहिँ अप्ठेरो अवस्था आउन सक्छ । कोही चुनावमा गए पनि नगए पनि मधेसले आफ्नो माग त्यत्तिकै त छोड्दैन । मधेसले आफ्नो मुद्दा आफँै खोजिहाल्छ, जबसम्म सही निकास राज्यले दिँदैन ।

० मधेसको माग आफैंमा अमूर्त छ, यत्तिकै आन्दोलन गरेको पनि भन्छन् नि ?
– सीमाङ्कनको मुद्दा, भाषाको कुरा कसरी अमूर्त हुन्छ ? यो सब जालझेलको अभिव्यक्ति हो । देशले निकास लिएर विकासतिर लम्कनुपर्ने बेला आन्दोलन गरिरहन रहर कसलाई छ ? आन्दोलन भन्ने कुरा रहरले गरिँदैन, यो बाध्यताको उपज हो । हामी पनि बाध्य भएका हौँ । राज्यले नै बाध्य पारिरहेको छ । राज्य हातमा लिएका दलका नेताहरू मधेसको मुद्दा समाधान गर्न सक्दैनौँ पनि भन्दैनन् र समाधान गर्न पनि चाहिरहेका छैनन् । बीचैमा हामीलाई अड्काइरहेछन्, खेलाउने चेष्टा गरिरहेका छन् । बरु सकिन्न या गर्दैनौँ भनिदिए हुन्थ्यो । त्यसपछि मधेसले आफ्नै बाटो पक्रने थियो ।

० यो माग मधेसका जनताको नभई सीमित नेताहरूको मात्र हो पनि भनिएको छ, यस्तै हो त ?
– जनतको माग होइन भने किन जनता आएर गोली थापिरहेको छ त ? त्यहाँ जनता मरेका छन् कि नेता ? कुन नेतालाई गोली लागेको छ मधेसमा ? जनतालाई नै लागेको छ, जनता घाइते भएका छन् । यो यथार्थ देख्दादेख्दै माग जनताको होइन नेताको मात्र हो भन्न मिल्छ ?

० पचास लाखको लोभ देखाएर जनता मराएको भन्न मिल्ला कि नमिल्ला नि ?
– भन्न त जसरी बङ्ग्याएर भन्दा पनि हुन्छ । त्यसभन्दा अगाडि के मधेसमा कोही सहिद भएका छैनन् ? पैसाका लागि भनेर कोही गोली थाप्न कसरी तयार हुन्छ ? ०६३–६४ मा जो सहिद भए ती कति रकमका लागि भएका थिए त ? यस्तो आरोप–प्रत्यारोपले नै देशलाई भड्खालोमा पारिरहेछ । यस्ता बेतुकका आरोप लगाउने कार्यभन्दा माथि उठ्नु आवश्यक छ ।

० तपाईंहरूको एउटा माग हिन्दी भाषालाई मान्यत दिनुपर्ने भन्ने पनि छ, यो माग जायज होइन भन्ने चौतर्फी आवाज छ नि ?
– हामीले हिन्दी भाषालाई संविधानमा राष्ट्रिय भाषाको मान्यता देऊ, मातृभाषा तुल्याइदेऊ भनेका छैनौँ । हिन्दी भाषा मेचीदेखि महाकालीसम्मकै मधेसी इलाकामा सम्पर्क भाषाको रूपमा रहेको यथार्थ स्वीकार गरी ‘सम्पर्क भाषा’ भनेर उल्लेख गरिनुपर्छ भनेका हौँ । एउटा भाषालाई सम्पर्क भाषा मान्दैमा सर्वस्व नै जान्छ भनिठान्नु कमजोर मानसिकताको उपज मात्र हो ।

० राजपाले शत्रु ठानेको एमालेलाई फेरि नजिक तुल्याउने प्रयत्न गर्न थालेको भन्ने समाचार आएका छन् नि, यसमा कति सत्यता छ ?
– कसैलाई शत्रु ठानेर राजपाले व्यवहार नगरेको स्पष्ट पार्न चाहन्छु । जहाँसम्म एमालेसँग सम्बन्ध सुमधुर तुल्याउन वार्ता सुरु गरेको समाचारको सवाल छ, यो सत्य कुरा होइन । कोही नेताविशेषले कतै भेटघाट हुँदा आपसमा सौहार्दपूर्ण कुरा गरेकै सन्दर्भलाई जोडेर यस्तो हल्ला चलाएको भए हामीलाई आपत्ति हुने विषय पनि परेन । राजनीति हो, कतिबेला के होला भन्न सकिन्न, आजका दिनसम्म एमालेसँग सम्बन्ध बढाउनकै लागि भनेर औपचारिक रूपले हाम्रो पार्टीले कुनै पहलकदमी लिएको छैन ।

० एमालेसँग नजिक हुन खोजेको कुरा त सत्य होइन रहेछ, तर काङ्ग्रेस र माओवादीले पनि मधेसलाई झुटो आश्वासन दिएर खेलाउन मात्र खोजेको भन्दै उनीहरूसँग चिढिएको त हो नि होइन ?
– योचाहिँ इन्कार गर्न सक्दिनँ म । किनकि, काङ्ग्रेस र माओवादी नेतृत्वहरू हामीलाई संविधान संशोधन गर्ने वचन दिएर सत्तामा गए, तर वचनको पालना नगरी झुलाउने कोसिस गरे । उनीहरूको यस्तै रवैया कायम रहे अब हामी संसद् छोडेर सडकमा जाने कोणबाट पनि विचार गरिरहेका छौँ ।

० यो घुर्की मात्र हो कि थप केही हो ?
– घुर्की होइन माग हो । राजनीतिमा घुर्की लगाएर त के नै होला र ?

० सरकारले साता–दश दिनमै संविधान संशोधनको प्रस्ताव संसद्मा लैजाने चर्चा चलेको छ, यसपटक प्रस्ताव पास हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
– सत्तारुढ दलहरूले त्यस्तो प्रयत्न गरेको कुरा प्रकाशमा आएको छ । राज्य वा रायको वागडोर हातमा लिएकाहरूको कर्तव्य हो संविधान संशोधन गरेर निकास दिनु र सबैलाई समेटेर अगाडि बढ्नु । उनीहरूले यदि यो आवश्यकता बुझेका र महसुस गरेका हुन् भने संशोधन प्रस्ताव पास गरेर देखाउलान् । यसो गर्न सके भने सबैको कल्याण नै हुन्छ, मुलुककै भलो हुन्छ । तर, यी नेताहरूले सजिलै यो गर्लान् भन्ने धेरैलाई विश्वास छैन । हामी त आन्दोलनमा छौँ, संशोधन प्रस्ताव पास नभए आन्दोलनलाई नै जोड दिनुपर्ने अवस्था आउँछ ।

० संविधान संशोधन भयो भने त सरकारमै जाने होला नि तपाईंहरू, प्रधानमन्त्रीले त तपाईंहरूलाई नै कुरिरहेका छन् भन्ने कैयनको बुझाइ छ ?
– संविधान संशोधन भएछ भने सरकारमा होइन चुनावमा जाने हो । प्रधानमन्त्रीले हामीलाई मन्त्री बनाउन कुरिरहनु आवश्यक छैन ।

० अन्त्यमा, तपाईं नेपाल–भारत महिलामैत्री समाजको अध्यक्ष हुनुहुन्छ, यो संस्थाले के भूमिका खेलिरहेको छ ?
– नेपाल र भारत भनेका सदियौँदेखि जनस्तरको सम्बन्ध रहेका मित्रराष्ट्र हुन् । यो सुमधुर मित्रवत् सम्बन्धमा थप प्रगाढता ल्याउन दुवै देशका महिलाको स्थानबाट पनि भूमिका निर्वाह होस्, दुई देशबीच आपसी सौहार्दता बढाउन सहयोग पुगोस् भनेर मेरै पहलकदमीमा नेपाल–भारत महिलामैत्री समाज स्थापना भएको हो । विगत चार–पाँच वर्षमा यस संस्थाले महिलाको आयआर्जनमा टेवा पुग्ने, महिला सशक्तीकरणमा मद्दत पुग्ने, पिछडिएका, उत्पीडनमा परेका, दबिएका र विपन्नताको सिकार बनेका महिलालाई माथि उठाउने क्रियाकलाप प्रशस्तै गरेको छ । यस संस्थाले हिमालदेखि मधेससम्मका सबै महिलाको दुःख–सुख समेट्ने सोच राखेको छ । कुनै दलविशेषको आँखाबाट नभई सबै महिलालाई समान दृष्टिले व्यवहार गर्ने यो संस्थाको विशेषता हो ।

प्रस्तुति : जयप्रकाश त्रिपाठी