१७ वर्ष जापान बसाइपछि गाउँमै बाख्रापालन

१७ वर्ष जापान बसाइपछि गाउँमै बाख्रापालन


रोजगारीमा रमाउन चाहने नेपाली युवा पुस्तामा धेरैको सपनाको देश हो जापान । जापानमा जमेर काम गरेपछि हम्मेसी फर्किहाल्ने मन हुँदैन भन्ने गरिन्छ । तर, रूपन्देहीका एक किसान १७ वर्ष निरन्तर जापान बसी नेपाल फर्किएर बाख्रापालन गर्न तयार मात्र भएनन्, यतिबेला उनी आफ्नो बाख्रापालन व्यवसायमा गजबले रमाइरहेका छन् । जन्मथलो स्याङ्जा भएका रुद्रप्रसाद खनाल अहिले रूपन्देहीको शुद्धोधन गाउँपालिका–५ मानपकडीमा बाख्रापालन गरिरहेका छन् ।

२० लाख लगानीमा उनले गाउँपालिकामै नमुना बाख्रापालन फर्म स्थापना गरेका हुन् । करिब डेढ वर्ष पहिला ‘सागर बाख्रा फर्म’ स्थापना गरेका खनालले जापानमा आफ्नै होटलसमेत सञ्चालन गरेका थिए । उनी भन्छन्, ‘भारतमा रही काम गर्दागर्दै कुक काम गर्न भनी त्यतैबाट जापान लागेको थिएँ । पछि जापानमा आफ्नै होटेलसमेत खोलेँ, तर घाटा लागेपछि त्यहाँ बस्न मन लागेन र नेपाल आई बाख्रा फर्म खोलेको हुँ ।’ उनका तीन भाइ छोराचाहिँ हाल जापानमै रहेका छन् । तर, उनलाई भने जापान बस्न पटक्कै मन लागेन, श्रीमतीसहित स्वदेश फर्किएर बाख्रा फर्मको अवधारणा बनाए ।

श्रीमती तुलसी खनालको सहयोगमा फर्म स्थापना गरेका उनले दुईजना कामदारको सहयोगमा फर्म सञ्चालन गरिरहेका छन् । श्रीमतीको शारीरिक अवस्था त्यति राम्रो नभएकाले पनि ५९ वर्षीय खनाल स्वयम् फर्ममा अहिले बढी नै खट्ने गरेका छन् ।

अहिले ६० वटा बाख्रापालन गरेका उनले करिब ६ कट्ठामा घाँस खेती गरेका छन् भने साढे ३ कट्ठामा बाख्रा फर्म सञ्चालन गरेका छन् । बाख्रालाई मनपर्ने किम्बु, बकाइनो, बर्सिम, निम, बडहरलगायतका घाँस उनले रोपेका छन् भने किम्बुको नर्सरीसमेत तयार गरेका छन् । जमुनापारी, खरी, लेकल विटल क्रस र बोयर जातका बाख्रापालन गरेका उनले फर्म स्थापनामा करिब २० लाख रुपैयाँ खर्च गरेको बताए । साना–ठूला गरी वार्षिक रूपमा सरदर २० वटा बाख्रा बिक्री गर्दै आएको बताउने उनको सालिन्दा आम्दानी लगभग डेढ लाख मात्र छ, तर जापान बसाइभन्दा यसैले आफूलाई सन्तुष्टि दिएको बताउँछन् उनी । सैनामैनास्थित बाख्रा फर्मबाट बाख्रा ल्याई व्यवसाय सुरु गरेका उनले आधुनिक प्रकृतिको बाख्राको फर्म (खोर) निर्माण गरेका छन् । फर्मको सुरक्षाका लागि घरभित्र र खोरमा गरी दुईवटा ‘सेन्सर’समेत लगाएका छन् उनले ।

६ दशक उमेर कट्न लागे पनि आफूमा जाँगर कत्ति कम नभएको बताउने खनाल केही वर्षमै बाख्राको सङ्ख्या पाँच सय पु¥याउने धोको पनि सुनाउँछन् । नेपालमा व्यावसायिक रूपमा बाख्रापालन गर्न सके त्यसको भविष्य उज्ज्वल रहेको उनको जिकिर छ । उनी भन्छन्, ‘नेपालको भौगोलिक वातावरण उत्तम छ, किसान भएपछि अलिकता मिहिनेत त गर्नैपर्छ, आम्दानी पनि राम्रै हुने मेरो बुझाइ छ ।’

देशमा रोजगारी नभएको कारण नेपाली बिदेसिन बाध्य भए पनि विदेशमा भन्दा स्वदेशमै विकल्प खोज्नुपर्ने उनको सुझाव छ । कृषि र पशुपालन नेपालको रोजगारी अन्त्य गर्ने प्रमुख विकल्प रहेको तर्क गर्दै खनालले भने, ‘यहाँको स्रोत–साधनको उच्चतम प्रयोग गरेमा साँच्चै देश समृद्ध बन्छ ।’

– चन्द्रकान्त खनाल