लण्डनमा ‘बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’

लण्डनमा ‘बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’


नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीले सम्मानस्वरुप ‘मेडल’ प्राप्त गरेका छन् भने युरोपबाटसमेत दुई चलचित्र निर्मातालाई सम्मानित गरिएको छ । ‘दशौँ बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै चलचित्र निर्माता एवं अन्तर्राष्ट्रिय कलाकार मन्च युरोप माहाशाखाका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कँडेल र निवर्तमान सचिव वेनी ढुंगाना सम्मानित भएका हुन् ।

अवार्ड कार्यक्रम बेलायतको अल्डरसटस्थित एम्पायर हलमा गत १७ गते शनिबार (१ जुलाई २०१७) सम्पन्न भएको थियो । तेजेन्द्रले यो सम्मान सम्पूर्ण नेपाली कलाकर्मीहरुको सम्मान भएको बताए । कँडेल र ढुंगाना मोडलका रूपमा समेत प्रस्तुत हुँदै आएका कलाकर्मी हुन् भने उनीहरु युरोपका हरेक सामाजिक गतिविधिमा सांस्कृतिक झाँकी र नेपाली पहिचान युरोपभर प्रचारप्रसार परिचित छन् ।

बेल्जियममा रहेर पनि नेपाली कलाकारिताको उत्थानमा लागिपरेकाले ‘आयोजकको आग्रहमा’ उनीहरुलाई सम्मान गरिएको बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बताए ।

बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल गु्रपको संयुक्त आयोजनामा नेपाली चलचित्र क्षेत्रमा अविरल रुपमा सक्रिय भएका निर्माता, वितरक, हल व्यवसायी, संगीतकर्मी, नायक, नायिका, प्राविधिक र अन्य फिल्मकर्मीहरुलाई पुरस्कारस्वरुप मेडल र सम्मानपत्र प्रदान गरिएको थियो । अवार्ड समारोहमा विगत लामो समयदेखि बेलायतमा बस्ने बुद्धिजिवी, व्यापारी, समाजसेवी र नेपाली चलचित्र र कलासंस्कृतिलाई माया गर्ने दर्शकहरुको समेत सहभागिता थियो ।

दशौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस’ कार्यक्रमका लागि नेपालबाट झण्डै दुई दर्जन कलाकार लन्डन पुगेका थिए । कलाकारहरू करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुपविक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरवीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापा आदि निर्देशक, कलाकार र गायकगायिका लण्डन आएका थिए ।


– डिल्लीराम अम्माई (लण्डन)