जब भारतीय मिडियाले कोइरालालाई जेल हाल्नुपर्ने समाचार सम्प्रेषण गरे…

जब भारतीय मिडियाले कोइरालालाई जेल हाल्नुपर्ने समाचार सम्प्रेषण गरे…


दुई दशकदेखि पत्रकारितामा सक्रिय जगत नेपाल हाल कान्तिपुर टेलिभिजनका राजनीतिक ब्युरो प्रमुख छन् । १५ वर्षयता टेलिभिजन पत्रकारितामा संलग्न नेपालसँग रेडियो नेपाल र छापा माध्यममा काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषयका उपप्राध्यापकसमेत रहेका पत्रकार नेपाल राजनीतिक विषयवस्तुसँग सम्बन्धित खोज–अनुसन्धानमा विशेष रुचि राख्छन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित पुस्तक ‘आफ्नै कुरा’ र नेपालको पहिलो निर्वाचित संसद्सँग सम्बन्धित उनको पुस्तक ‘पहिलो संसद् : बीपी–महेन्द्र टकराव’ प्रकाशित छन् । यसका अलावा पत्रकार नेपालले राजनीतिक विषयसँग सम्बन्धित डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् । जस्तो ‘टिम्बुरबोटे’ र ‘प्रजातन्त्रका लागि जहाज अपहरण’ । चार वर्ष युरोपका विभिन्न मुलुक र गत वर्ष अस्ट्रेलियामा देखाइएको ‘प्रजातन्त्रका लागि जहाज अपहरण’ वृत्तचित्र केही दिनअघि राजधानीमा देखाइएको छ । विमान अपहरणका योजनाकार, चालक, यात्रु र तत्कालीन प्रधानमन्त्रीसहित त्यो घटनामा संलग्न पात्रहरूसँगको अन्तर्वार्तामा आधारित यो ऐतिहासिक डकुमेन्ट्रीका बारेमा पत्रकार जगत नेपालसँग गरिएको कुराकानी ।

० विमान अपहरण भएको घटनाको इमेज प्रस्तुत गर्न तपाईं के कुराबाट प्रेरित हुनुभएको हो ?
– कान्तिपुर टेलिभिजनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित कार्यक्रम आफ्नो इतिहास आफ्नै वृत्तान्त चलिरहेको थियो । हरेक साताको शनिबार प्रसारण हुने यो कार्यक्रमले मलाई पत्रकारितामा स्थापित गर्न सबैभन्दा बढी भूमिका खेल्यो जस्तो लाग्छ । त्यही अन्तर्वार्ताका क्रममा मैले विमान अपहरणका योजनाकार गिरिजाबाबुसँग सविस्तार सुन्न मात्र होइन, आमदर्शकलाई सुनाउने अवसर पाएँ । दैत्यकथाजस्तो लाग्ने त्यो घटनाका बारेमा धेरैको चासो थियो । संयोगले ६ महिनासम्म चलेको मेरो त्यो कार्यक्रम विमान अपहरण र नक्कली नोटको प्रसङ्गमा आइपुगेर बन्द भयो । भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री कोइरालालाई जेल हाल्नुपर्नेजस्ता समाचार पनि आए । मैले जीवनमा पत्रकारिता गर्दा त्यति धेरै स्ट्रेस कहिल्यै व्यहोरेको छैन । त्यही दिन मैले अठोट गरेँ । अब यस विषयमा थप अध्ययन गर्छु, सम्भव भए डकुमेन्ट्री नै बनाउँछु । मेरा मित्र मानबहादुर थापासँग सल्लाह गरेँ । उनी क्यामरा आफैँ चलाउँछन्, इडिटिङ गर्छन् र मोटर पनि आफैँ चलाउँछन् । थापा सहमत भएपछि काम थालेँ । तर, काम सहज थिएन । म जन्मनुभन्दा झन्डै चार वर्षअघि भएको त्यो घटनाका सबै पात्र खोज्नुपर्ने । सुरुमा चक्र बास्तोलासँग सल्लाह गरेँ, उहाले सीधै भनिदिनुभयो– तिमी यो काममा नलाग, फत्ते गर्न सहज छैन । कोही साँचो बोल्न चाहँदैनन् । तर, चुनौतीसँग खेल्नु नै हामी पत्रकारको धर्म हो । म निरन्तर अनुसन्धानमा लागेँ ।

० जुन डकुमेन्ट्री तपाईंले बनाउनुभयो, यसको निर्माणमा कति समय लाग्यो र निर्माणकालमा कुनै अविस्मरणीय घटना–सन्दर्भ केही भए कि ?
– यो काम पूरै सक्न चार वर्षभन्दा बढी समय लागेको छ । विमानका यात्रु खोज्न मात्र दुई वर्ष लगाएको छु । कुनै काम गर्दा सिनियर र साथीहरूसँग छलफल गर्छु । यही क्रममा मेरा गुरु प्रा. चिरञ्जीवी खनालले नेपाल प्रेस इन्स्टिच्युट बसेको बबरमहलको घर उनै अपहरणमा परेका क्याप्टेन श्रीदेव वैद्यको हो भन्ने जानकारी दिनुभयो । त्यति मात्र होइन, अन्तर्वार्ताका लागि समय मिलाइदिनुभयो । अपहरणमा परेपछिका दिनमा जहाज नउडाएका क्याप्टेन वैद्य स्वास्थ्यका कारण धेरैजसो मलेसियामा बस्थे । काठमाडौं आएको मौकामा त्यो अन्तर्वार्ता गरिएको हो । क्याप्टेनकी श्रीमतीले बताउनुभएअनुसार भिडियो क्यामेरामा उहा“ले दिएको त्यो नै पहिलो र अन्तिम अन्तर्वार्ता थियो । प्यासेन्जर खोज्नु थियो । त्यो पनि मेरा अर्का गुरु प्राध्यापक पी. खरेलले पार लगाइदिनुभयो । उहा“ पढ्ने बेलामा डेरा गरेर बसेको रक्तकालीमा थलनाथ अधिकारी भन्ने उनका साथी बस्थे । ‘सायद उनै हुन सक्छन्, एकपटक तपार्इं गएर खोज्नुस् नभए म पनि गइदिउँला’ खरेल सरले भन्नुभएको सम्झन्छु । रक्तकाली क्षेत्रमा दिनभर घुमेँ । थलनाथ अधिकारीको घर फेला पनि प¥यो । अब उनै हुन् कि अरू । तर, थाहा भयो– उनै रहेछन् । अधिकारीकी श्रीमती, भाइबुहारी, नौ महिनाका भतिजा पनि यात्रु रहेछन् । उनैमार्फत चार यात्रुसँग कुरा गर्ने अवसर पाएँ । पछि थाहा पाइयो एकजना यात्रु जया अधिकारी त म काठमाडौं आउँदा धेरै माया गर्ने दाइ सञ्जीव अधिकारीकी आमा र नौमहिने बालक उनकै भाइ पो रहेछन् । जया आमाले सुनाउनुभयो– विमान अपहरण हुँदासम्म उहा“लाई त्यसबारे थाहै भएन । दुर्घटना भयो भनेर भगवान्को नाम जप्नुभयो रे र त्यो घटनापछि उहा“ लगातार ३० वर्ष जहाज चढ्नुभएन । जहाज देख्यो कि थर्थर हुने डरले ।
यसपछि, विमानमा कति पैसा जाँदै छ भनेर गिरिजाप्रसाद कोइरालालाई सूचना दिने राष्ट्र बैंकका कर्मचारी मदन अर्याललाई उनी विराटनगरबाट काठमाडौं आएका बेला सीतापाइलास्थित छोरीको घरमा अन्तर्वार्ता लिएँ । अनि क्यामेराम्यान मानबहादुर थापा र म विराटनगर हुँदै फारबेसगञ्जसम्म गयौँ । फेरि हामीसँग पैसाको अभाव थियो । केही महिना काम ग¥यो, तलब जोगायो अनि घुम्न निस्क्यो । विमानभित्र खिच्नचाहिँ म मानबहादुरजीलाई टिकट काटेर जहाजमा चढाइदिन्थँे । संयोगले अपहरणमा परेका क्याप्टेनका छोरा सुरज वैद्य नै आफ्नै बाबु अपहरणमा परेकै जहाज उडाउँथे । कथा वस्तुअनुसार क्याप्टेन वैद्यले एनिमेसन र भिजुअलका लागि सहयोग नगरेको भए यो काम सम्भव थिएन । तीनैजना अपहरणकारी, तीनजना यात्रु, पाइलटको परिवारका सदस्य, चक्र बास्तोला र कोइराला परिवारका सदस्यलाई राखेर डकुमेन्ट्री देखाउन पाउँदा मलाई एकदमै खुसी लाग्यो । धेरै ठाउँमा देखाइयो, तर त्योचाहिँ एउटा ऐतिहासिक क्षण थियो मेरा लागि ।


० अपहरणमा जो क्याप्टेन परेका थिए तिनको मनोदशाबारे केही बताइदिन सक्नुहुन्छ ?

– अपहरणमा परेर विराटनगर फर्किएपछि क्याप्टेन आरके मानन्धर धावनमार्गको छेउमा पल्टिएका थिए भनेर मलाई को–क्याप्टेन श्रीदेव वैद्यले सुनाएका थिए । सहचालक वैद्यले पनि त्यो घटनापछि जहाज उडाएनन् । दक्षिण एसियामै पहिलोपटक भएको थियो विमान अपहरण । त्यसको पीडाका कारण हरेक दिनजसो वैद्यको होस जाने र फेन्ट हुने गरेको उनकी श्रीमतीले गत बिहीबार मात्र मलाई सुनाउनुभयो । अपहरणको तनावका कारण उनमा न्युरोको समस्या देखियो । लन्डनमा झन्डै ८ घन्टा लगाएर अप्रेसन भयो । त्यो अप्रेसन त्यसबेला लन्डनमा भएका सर्जरीमध्ये अत्यन्त जटिल थियो रे । उपचार गरेर फर्किएपछि पनि स्वास्थ्यका कारण नेपालको प्रदूषित मौसममा बस्न नमिल्ने भएकाले क्याप्टेन वैद्य मलेसियामा बस्थे । त्यहीँ नै उनको निधन भयो । अपहरणमा परेका दिन एक वर्ष एक दिनका बालक रहेका छोरा सुरजलाई उनले पाइलट नै बनाए । रमाइलो त के भने बाबु अपहरणमा परेको जहाज सुरजले १० वर्ष उडाए । संयोग नै भन्नुपर्छ क्याप्टेन श्रीदेव वैद्य अपहरणमा परेको नाइन एन एबीबी जहाज उनको मृत्यु भएको एक वर्ष एक दिनकै दिन अर्घाखाँचीमा दुर्घटना भयो । अझै संयोगको कुरा बिहान मात्र त्यो जहाज सुरजले सोलुका लागि उडाएका थिए । प्रतिकूल मौसमका कारण ओखलढुङ्गाबाट फर्काएर ल्याए । घर फर्केको केही घन्टापछि जहाज हराएको खबर आयो ।

० पात्रहरूमध्ये तपाईंले सबैभन्दा जटिल, कठिन या सरल, भद्र या असल कसलाई पाउनुभयो ?
– जहाज अपहरणको सम्पूर्ण योजना बनाउने, परिचालन गर्ने काम पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । सबैभन्दा जटिल काम उनकै थियो । मिसनका लागि कति विश्वासिला मानिसको टिम बनाइएको रहेछ भन्ने थाहा पाउँदा म चकित भएँ । जहाज अपहरण भएको १६ वर्षपछि ०४६ सालमा प्रजातन्त्र आयो । तर, प्रजातन्त्र आएको वर्षौंसम्म त्यो घटनाका बारेमा योजनाकार, अपहरणकारी र टिम सदस्यबीच कुरा हँुदैनथ्यो । कतिसम्म भने तीनजना अपहरणकारी विगत २० वर्षमा एउटै ठाउँमा बसेकासम्म थिएनन् । राइजिङ मलमा डकुमेन्ट्री रिलिज हुँदाका दिन मात्र उनीहरू एकसाथ बसे । यो पूरै काम सक्दा मलाई सबैभन्दा इमानदार मानिस लागे अपहरणको दिन गिरिजाबाबुको गाडी चलाउने चालक भारतीय नागरिक गणेशलाल शर्मा । अरूलाई त नेपालमा प्रजातन्त्र ल्याउनका लागि रकम जुटाउनु थियो, तर शर्माका लागि त त्यस्तो केही थिएन । मैले फारबेसगञ्जको उनकै निवासमा लामो अन्तर्वार्ता लिएँ । त्यसबेला शर्माले भनेका थिए, ‘योभन्दा बढी तपाईंले जे सोधे पनि म रहस्य खोल्दिनँ । गिरिजाबाबुले मसँग भन्नुभएको छ कि कतिपय कुरा यस्ता छन् गणेश, कुनै हालतमा सार्वजनिक नगर्नू, मर्दा आफैँसँग लिएर जानू ! ती कुरा म तपार्इंसँग जे गरे पनि सेयर गर्दिनँ ।’ कति विश्वासिला मानिस लिइएको रहेछ टिममा । मैले उनीसँग अन्तर्वार्ता गर्दा गिरिजाबाबुको मृत्यु भइसकेको थियो ।

० सबैभन्दा सम्मानित पात्र को हुन् तपार्इंको डकुमेन्ट्रीमा ?
– त्यसबेला विमान अपहरण गर्ने युवाहरूको जोस हेर्दा मलाई उनीहरूप्रति सम्मान जाग्छ । प्रजातन्त्रका लागि जे पनि गर्ने भनेर आफ्नो रगतले हस्ताक्षर गरेर उनीहरूले पार्टीको सदस्यता लिएका थिए । र, प्रजातन्त्रका लागि ज्यान दिन उनीहरू तयार थिए । प्रजातन्त्रका लागि त्यत्रो जोखिम उठाउनेहरूको मूल्याङ्कन भएन कि । त्यसपछि चालकदलका सदस्यप्रति मलाई श्रद्धा छ जसले विमान काठमाडौं फर्काउन अन्तिम प्रयत्न गरे । अपहरणमा परेपछि पनि उच्च मनोबलका साथ यात्रु र जहाजलाई सुरक्षित रूपमा विराटनगर फर्काए ।

० तपाईंलाई अपहरणकाण्ड एउटा राजनीतिक घटना लाग्यो कि यसमा आपराधिक प्रवृत्तिले पनि काम गरेको छ जस्तो लाग्छ ?
– त्यसबेला यो घटना राजनीतिक नै थियो । । बल प्रयोग नहुनु, पैसा लगेर जहाज सकुशल फर्काइनुले पनि त्यसको पुष्टि गर्छ ।

० अब कसैले राजनीतिक परिवर्तनकै लागि भनेर यस्तै प्रकारको घटना गराए भने तपार्इंको दृष्टिकोण के हुनेछ ?
– अब यसप्रकारको घटना सम्भव नै छैन जस्तो लाग्छ मलाई । त्यो तहको राजनीतिक कमिटमेन्ट पनि छैन । पैसाकै लागि अपहरण गर्नुपर्ने बाध्यता पनि रहनेछैन ।