‘अनि देउराली रुन्छ’ले उठाएको प्रश्न र जवाफ

‘अनि देउराली रुन्छ’ले उठाएको प्रश्न र जवाफ


– निस्नु थिङ

‘पन्छी सबै उडेपछि गुँड रित्तै हुन्छ
यो माटोलाई छोडिगए देउराली यहाँ रुन्छ
अनि देउराली रुन्छ’

३० को दशकमा लेखिएको नाटक ‘अनि देउराली रुन्छ’ आफ्ना कैयन वसन्त पार गरेर पुनः हामीमाझ आइपुगेको छ । शिल्पी थियटरले गणतन्त्र दिवसको अवसर पारेर यो नाटक प्रदर्शनमा ल्याएको हो । सामन्तवादी समाजमा आधारित उक्त नाटक गणतन्त्र दिवसमा मञ्चन गर्नुले विशेष अर्थ राख्छ होला । तर, त्यसबीचको खास के कारण र सम्बन्ध हो, त्योचाहिँ सम्बन्धित पक्षले बताउने विषय हो ।

दोलखाको ग्रामीण परिवेशमा सिर्जित यो नाटकको पहिलो दृश्यले त्यही ओकाली–ओराली, उही गाउँले जनजीवन देखाउँछ । पहाडी भेक दोलखाको सानो परको गाउँका ढाकरे बिर्खे, खुलाल दोलखा जाँदै गर्दा अम्बर काफलको बोट काट्दै गरेको अवस्थामा भेट हुन्छ । पहिलो संवाद नै, ‘हन काफलको रूख ढाल्यौ कि क्या हो अम्बर काजी ?’ अम्बरेले बिर्खेलाई, ‘हन कता हिँड्यौ होइ दुई भाइ ?’ बाटै प्रथम दृश्य सुरु हुन्छ । उनीहरू तीन भाइबीच केहीबेर गफगाफ हुन्छ र नाटकको मुख्य पटकथा रणध्वज खड्काकी कान्छी छोरी मैयाँँको बिहेको प्रसङ्ग चल्छ ।

त्यसको केही क्षणपछि दुई भाइ दोलखातिर र अम्बर काफलको दाउरा गिँड्ने काम जारी राख्छन् । नाटकका मूलभूत घटनाहरू जुना र अम्बरबीचको प्रेम सम्बन्ध, चतुरमानको षड्यन्त्र, जालझेल तथा खुराफाती शमशेर र कान्छी मुग्लानमा भागेका, जुनाको बिहे बहादुरेसित भएको, भाइटीकाको दिन जुनासित अम्बरको अनपेक्षित अचानक भेट र बहादुरे र अम्बरबीचको काटाकाट, बहादुरेको मृत्यु र रणध्वजको सम्पत्ति चूडानाथले सर्वस्वहरण गरेको यी घटनाहरू, परिस्थितिहरू नै नाटकका मूल विषयवस्तु हुन् । यस नाटकमा प्रत्यक्ष भूमिकामा जुना, कान्छी, मैयाँँ, पम्फा, खत्रिनी, बाबरी, मामा, रणध्वज, अम्बर, सन्ते, बहादुरे, चूडानाथ, खुलाल, बिर्खे, भुजेल, शमशेर, गाइने, कलकाँधे, च्वाँचे, चतुरमानजस्ता पात्रहरू छन् । केन्द्रीय भूमिकामा अम्बर, जुना, बहादुरे छन् भने सबै पात्रलाई आफ्नो इसारा, कुटिल खेलमा नचाउन सक्ने चतुर खेलाडी चतुरमान नै यस नाटकको अर्को महत्वपूर्ण चरित्र हो ।

चतुरमान नाम हेर्दा नाटककारले विचार गरेरै राखेका रहेछन्, स्वतः प्रमाणित हुन्छ । चतुरमान एउटा गाउँका सामन्ती चूडानाथको पीए हुन्, जो एक अत्यन्त कपटी रहेको प्रस्टै देखिन्छ । केसम्म भने आफ्नै भतिजा अम्बरको विरुद्ध षड्यन्त्र रच्छन्, उनको विवाह हुन दिँदैन, जुना र अम्बरबीच विछोड गराउने योजनाकार उनै हुन् । यो सब उनले अम्बरको सम्पत्ति खान, उनकै एक मात्र हकदारलाई बाटोबाट हटाउन र रणध्वजलाई उठिबास लाउन गरेको हो ।

‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ
लेकदेखि बेसीसम्म गाइने मीत लाउँछ
मेरो स्वरमा झोपडी र दरबारको कथा
सुनाइहिँड्छु लडाइँ र पिरतीको कथा
फूल रोए शीत हुन्छ मैले रोए गीत
खुकुरीको खिया मात्रै नेपालीको जीत
रानीवनको डाँफे मुनालसँग झुलिहिँड्छु
पहाडको डाँडाकाँडा डुली–डुली हिँड्छु
सारङ्गीमा गाउँदै हिँड्दा मलाई माग्ने भन्छन्
नेपालीले नेपालीलाई नचिनेझैँ गर्छन् ।’

यो मार्मिक गीत सारङ्गीको तालमा गाइनेले गाउँदै आउँछ, उसलाई तिर्खा लागेको छ, तर उसले सन्तेले पिएको हेरेर चित्त बुझाउनुपर्छ । दलित भएको कारणले उसले छुन नहुने सोहीबापत पानी पिउनबाट वञ्चित हुनुपरेको छ । आखिर यस्तो किन ? हाम्रो समाजमा दलितप्रति गरिने अमानवीय व्यवहार यथावत् छ । जसले यत्रो गीत–सङ्गीत, वाद्यवादनको निर्माण गरे उसैलाई किन यस्तो ? गाइनेको गीतमा मार्मिकता र भव्य साहित्य छ । यो दृश्य आँखाअगाडि नाचिरहँदा ‘बजाउँछन् जसले बाजा–गाजा, गुञ्जिन्छन् पहाड पर्वतहरू तर पनि हामीलाई दलित भनी हेला गर्छन् कुकुरसमेत भित्र छिर्दा हामीलाई किन बाहिर राख्छन् ?’ यो गीत नेपथ्यमा मेरो चेतनामा÷मानसमा गुञ्जिरहेको थियो । यो समाजको शिल्पकार जसलाई हामीले सम्मान त परै जाओस् मान्छेले मान्छेसित गर्ने व्यवहारसमेत गरेनौँ । यस विषयलाई आजभन्दा दशकौँ अगाडि उठान गरेको देखिन्छ । फेरि पनि हाम्रो समाजमा यो मुद्दा हल भएको छैन, दलितमाथिको व्यवहार उस्तै छ जसले आधुनिक भनाउँदा हामीलाई झकझकाउँछ ।

चूडानाथ गाउँको सामन्त, साहु र शोषक पनि हुन् । उनले कसरी गाउँलेहरूलाई सयकडा पैंतीस व्याजमा ऋण दिन्छन् र उनीहरूलाई उठिबास लाउँछन्, त्यो सजीव रूपमा हेर्न पाइन्छ । त्यसको ज्वलन्त पछिल्लो उदाहरण रणध्वज हुन् । विवश भएर घर साहुले खाएपछि निस्कन परेको दृश्य कम्ती मर्मस्पर्शी छैन जुन दृश्यले भावुक मात्रै नभएर दर्शकलाई आँसु पनि खसाल्न बाध्य बनाउँछ । त्यसैगरी विवाहको विषयमा परम्परागत समाज र बदलिँदो समाजमा परिवर्तित अवस्था पनि चित्रण गरिएको छ । जस्तै शमशेर र मैयाँबीच प्रेम हँुदा पनि मैयाँका इच्छाविपरीत जबर्जस्ती बहादुरेसित रणध्वजले जुन लगन जुराउँछ, फलस्वरूप उनी भागेर शमशेरसित मुग्लान हुइँकिन्छिन् । त्यसले समकालीन समाजमा नयाँ पिँढी र पुराना पिँढीबीचको अन्तरविरोध र चिन्तन पद्धतिमा आएको भिन्नता र परिवर्तनलाई जनाउँछ । जुन घटनाले अभिभावकलाई छोराछोरीको राजीखुसी नहेरी एकलौटी विवाह गराउनुहँुदैन भनेर सचेत गराउँछ ।

यस नाटकले तत्कालीन दोलखाको ग्रामीण समाजको सजीव चित्रहरू पस्केको छ, जुन हाम्रो राष्ट्रिय जीवनमा पनि लागु हुन्छ । रोग, भोक, अशिक्षा, बेरोजगारी, ठगी, शोषण, बेइमानी, गद्दारी, षड्यन्त्र, माया, प्रेम, घाँस, दाउरा, मेलापात, दौँतरी भेटघाट, छुत–अछुत, गरिबी, असमानता, मुग्लान पलायन, घात प्रतिघातजस्ता हाम्रा दैनिक जीवनका भोगाइहरूलाई विशिष्ट ढङ्गले नाटककारले मुद्दाहरू उठान गरेको छ भने निर्देशकले अति कुशलतापूर्वक मञ्चन गरेको छ । निर्देशकले नाटकमाथि न्याय गरेको देखिन्छ । नाटकका सबै पात्रहरू आफैँमा दमदार देखिन्छन्, सबैले आ–आफ्नो चरित्रमाथि न्याय गर्न सक्दो प्रयास गरेका छन् । मञ्च निर्माण, मञ्च सेटिङ नै नाटकको मुख्य चुनौती हुन्, त्यसप्रति सिङ्गो शिल्पी परिवारले कुनै सम्झौता गरेको छैन । मञ्चमा नै दोलखा टपक्क हनुमानले पहाड उचालेर ल्याएकोजस्तो ल्याउनु चानचुने काम होइन ।

भन्नाले मञ्च हेर्दै दोलखामा छु भन्ने दर्शकलाई भान हुन्छ । त्यसमा निर्माण गरेको कुवा, पहाडी उकाली–ओराली, गोरेटो, घाँसदाउरा गर्ने ठाउँ, देउराली झनै मनमोहक दृश्य बनेर दर्शकलाई लोभ्याउन र मोहनी लाउन सफल छ । अन्तमा, नाटकको अन्तिम दृश्यमा पानी पारेको, चट्याङ गड्याङगुडुङ गरेको र मुसलधारे पानीको केही क्षणसम्म निरन्तर परिरहेको दृश्य आफँैमा प्रशंसनीय र मञ्चमा त्यस्तो दृश्य अहिलेसम्म कमै व्यवस्थापन गरेको पाइन्छ । नाटकले एउटा गतिलो उदाहरण पस्केर कताकता प्रश्न उठाइरहेको अनुभूति हुन्छ, ‘के नेपाली समाजमा युवा पलायन आर्थिक कारण र बेरोजगारीजन्य समस्याले मात्रै भएको हो ?’ नाटक आफैँ जवाफ दिन्छ, ‘होइन, समाजभँडुवा चतुरमानजस्ता चतुर पापी र चूडानाथजस्ता सूदखोरले गर्दा पनि भएको हो, कलकाँधेको शब्दमा चतुरमानजस्ता वीर मसानले गर्दा भएको हो’ भन्ने प्रस्टै देख्न सकिन्छ ।

यो नाटक दुखान्त भए पनि बीचबीचमा सुखान्त हुने प्रयास नाटकले गरिरहेको पाइन्छ । नाटक हेरिरहँदा नेपाली समाजको मानचित्र हेरिरहेजस्तो लाग्छ । चतुरमानको अन्तिम वाक्यांश ‘एउटा गोलीले दुईवटा चराको सिकार गर्ने’ प्रवृत्तिले हाम्रो समाजलाई कसरी गाँजेको छ भन्ने कथाक्रमले पुष्टि गरिदिन्छ । नाटककारको शब्दमा, ‘यस नाट्य प्रस्तुतिमा गाउँघरको कथा प्रतिबिम्बित गरिएको छ । सामन्ती संस्कारका परिणामस्वरूप आर्थिक असमानता र सामाजिक अन्याय भोग्न बाध्य पारिएका शोषित, पीडित, दलित र किनारीकृत जनताका आवाज प्रतिध्वनित गरिएको छ । राणाकालीन पृष्ठभूमि देखिए पनि अहिले पनि गाउँघरको परिवेश उस्तै छ । पात्रहरू फेरिएका होलान्, तर प्रवृत्ति फेरिएको छैन । सुखी जीवन र सुरक्षित भविष्यको खोजीमा अझै लाखौँ नेपाली देश छोड्दै छन् । सम्पन्न र विपन्नबीचको द्वन्द्वात्मक अवस्थाले लाखौँ आँखामा आँसु बाँड्दै छन् ।’ (स्रोत ः नाटक परिचय) यसैगरी निर्देशक जीवन बराल, ‘अरूको भन्दा आफ्नो कथा सधँै प्रिय र कालजयी हुन्छ । ग्रामीण परिवेशको यो नाटकका पात्रहरू मेरो जीवनका धेरै पात्रहरूसँग मिल्दै गए । परिस्थितिले मलाई गाँझेझैँ यस नाटकका पात्रलाई गाँजेको पाएँ । म तराईमा हुर्किएको हुँ, तर व्यथा यो धारापानी दोलखाको भन्दा कम छैन । सोचेँ यो सबैको साझा समस्या हो । दुःख सबैको समान हो ।’ स्वीकार गर्छन् कि यस नाटकले उठाएको सवाल राष्ट्रिय हो भनेर । (स्रोतः नाटक परिचय) सन्ते (टार्जन दाहाल) च्वाँचे (केसी राजा) र चूडानाथ (सफर पोखरेल), चतुरमान (नीरज सुवेदी)जस्ता पात्रले हाम्रा समाजका तल्ला र माथिल्ला वर्गको प्रतिनिधित्व गर्दछन् ।

माथिल्ला वर्गका चूडानाथ, चतुरमानजस्ता पात्रहरूको कुत्सित स्वार्थ र षड्यन्त्रको सिकार हुनुको फलस्वरूप युवाहरू दोर्लिङ मुग्लान भासिनुपरेको रहस्योद्घाटन नाटकले गरेको छ । जुन वर्तमान समयका भोगाइसित मिल्ने र वर्तमानका कतिपय प्रश्नहरूको चोटिलो जवाफसमेत हुन् । फेरि पनि ‘चतुरमाने प्रवृत्ति’ले सिकार गर्ने शृङ्खलाको अन्त नभएको वर्तमान समयमा हामीलाई (दर्शक) सचेत हुनसमेत सन्देश दिन नाटक सफल भएको छ । साथसाथै, ‘अनि देउराली किन रुन्छ ?’ यो प्रश्नको जवाफ अन्तिम दृश्यमा जुनाको दारुण अवस्था र उनको नियति जुन देउरालीमा देखिन्छ त्यसले नै दिन्छ । जसले एकातिर नेपाली नारीको कारुणिक स्थितिको बोध गराउँछ भने अर्कोतिर जुनाजस्ता निर्दोष नारीहरू÷पात्रहरू हाम्रा समाजमा कति होलान् भन्ने प्रश्नको उठान गरेर नाटक अन्त्य हुन्छ ।