किन खस्कियो अर्घाखाँचीमा काङ्ग्रेसको पोजिसन ?

किन खस्कियो अर्घाखाँचीमा काङ्ग्रेसको पोजिसन ?


– मुक्तिनाथ भुसाल

दोस्रो चरणमा अर्घाखाँचीमा भएको स्थानीय निर्वाचनको परिणाम गत सोमबार सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोलाका अनुसार ७१.२२ प्रतिशत मतदाताले मतदान गरेका र निर्वाचन शान्तपूर्ण वातावरणमा सम्पन्न भएकोे छ । तीनवटा नगरपालिका र तीनैवटा गाउँपालिका रहेको अर्घाखाँचीमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रद्वारा जिल्लाका सबै नगरपालिका र एउटा गाउँपालिकामा चुनावी गठबन्धन गरिएको भए पनि गाउँपालिकाको गठबन्धन तोड्ने सफलता एमालेलाई मिलेको छ । चुनावी तालमेल भएको सन्धिखर्क र शितगङ्गा नगरपालिकामा ११०३ र १६८७ मतको अन्तरले एमालेलाई पछि पार्दै नेपाली काङ्ग्रेसका उम्मेदवारहरू नगरप्रमुखमा विजयी बनेका छन् । उल्लिखित नगरपालिकामा क्रमशः ९ सय ६१ र ९५ मतको अन्तरमा नेकपा एमालेका उमेदवारलाई पराजित गरी माओवादी केन्द्रले उपप्रमुख हात पारेको छ । आ–आफ्नै एजेन्डाका साथ सन्धिखर्क नगरपालिकाको नगरप्रमुख पदका लागि चुनावी मैदानमा होमिएको राष्ट्रिय जनमोर्चाले ७ सय ७८, नेपाल परिवार दलले १०, राप्रपाले १ सय ६५, राप्रपा लोहनी (स्वतन्त्र उम्मेदवारी) ११ र नयाँ शक्ति पार्टीले ६८ मत प्राप्त गरेका छन् ।

चुनावी तालमेल गरिएको भूमिकास्थान नगरपालिकाबाट ७ सय ७८ मतले राष्ट्रिय जनमोर्चालाई पछाडि पारी माओवादी केन्द्रले नगरप्रमुख हात पार्नुको अलवा ५ सय २९ फरक मतले एमालेलाई पराजित गरी नेपाली काङ्ग्रेस उपप्रमुखमा विजयी बनेको छ । जिल्लाका तीनवटा नगरपालिकाको चुनावी परिणामलाई अध्ययन गर्दा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल नभएको भए नेपाली काङ्ग्रेस दोस्रो स्थानमा अनि माओवादी केन्द्र पत्तासाफ हुने प्राप्त परिणामले बताएको छ । चुनावी तालमेलवाट विजयी माकेका एक जना नगरप्रमुख र दुईजना उपप्रमुखमध्ये सन्धिखर्क नगरपालिकाबाट विजयी उपप्रमुख ठाकुरकुमार बिक किशोर राजनीतिमा अब्बल मानिन्छन् । माओवादी केन्द्रका जिल्लास्थित नेताहरू भन्दा पृथक स्वभाव र अध्ययनशील किशोरले कुनै दिन राजनीतिमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पछाडी पार्ने अनुमान गरिएको छ । नम्र स्वभाव तथा स्मरण क्षमता भएका किशोर अन्य माओवादी नेताहरू जस्तो दम्भपूर्ण शैलीमा उत्रिएनन् भने एकदिन उनका पछाडि हजारौँ जनता लामबद्ध हुने कुरामा दुई मत देखिँदैन, किनकि किशोर सुशासन पक्षधर समेत मानिन्छन् ।

यसैगरी चुनावी तालमेल गरिएको मालारानी गाउँपालिकामा नेकपा एमालेका बालकृष्ण आचार्य र प्रमिला क्षेत्रीले क्रमशः ९ सय ९९ र १,३१२ मतको फरकले नेका तथा माके गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी अध्यक्ष तथा उपाध्यक्षमा शानदार विजयी भएका छन् । मालारानी गाउँपालिकामा नेपाली काङ्ग्रेसले कुनै पनि वडामा विजयी प्राप्त गर्न नसक्नुको अलवा भूमिकास्थान नगरपालिकामा एक मात्र वडा काङ्ग्रेसलाई र सन्धिखर्क नगरपालिकाबाट माओवादी केन्द्रलाई एक वडा हात लागेको छ । चुनावी तालमेल नगरिएको छत्रदेव गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका लेखनाथ पोखरेल तथा तुल्सीदेवी श्रेष्ठ विजयी भएका छन् । यसैगरी तालमेल नभएको पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका अच्युत गौतम र उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतम विजयी बनेका छन् । छत्रदेव र पाणिनी गाउँपालिकामा रहेका १६ वटा वडाबाट कुल २६,०५० मत खसेको भए पनि दुवै नगरपालिकाको मेयरमा माओवादी केन्द्रले प्राप्त गरेको मत जम्मा १,७४६ रहनुका अलवा कुनै पनि वडामा माकेले विजय हात पार्न सकेन । अनुभवले धेरै कुरा सिकाउँदछ भनेझैँ काङ्ग्रेस नेतृ पुष्पा भुसालको सक्रियतामा अच्युत गौतमलाई पाणिनीको उम्मेदवार घोषणा गर्नु आफैमा एक सुझबुझपूर्ण निर्णय रहेको विश्लेषण गरिएको छ । लामो समयसम्म नेकपा एमालेको जिल्ला कावा अध्यक्ष बनेका जीवनारायण कोइरालाको उम्मेदवारीलाई सामना गरी काङ्ग्रेसभित्रको डरलाग्दो असहयोगलाई चिरेर विजय हात पार्न गौतमको विकल्प थिएन । जसका कारण गौतमलाई उम्मेदवारी दिएर काङ्ग्रेस नेतृ भुसालले ठुलो बुद्धि पु¥याएको यतिबेला जिल्लामा चर्चाको विषय बनेको छ ।

जिल्लामा रहेक ६१ वडामध्ये केही वडामा मात्र नेका र माकेबीच चुनावी तालमेल भएको भए पनि सरदरमा नेपाली काङ्ग्रेसले अध्यक्ष जितेका वडाहरू २५ र माओवादी केन्द्रले अध्यक्ष जितेका वडाहरू ७ रहेका छन् । एक्लाएक्लै चुनावी मैदानमा उत्रिएको एमाले २५ र राष्ट्रिय जनमोर्चाले ४ वटा वडामा विजयी हात पारेका छन् । अर्घाखाँचीमा सम्पन्न यसपालाको चुनावलाई विश्लेषण गर्दा नेपाली काङ्ग्रेसको सङ्गठन अत्यन्तै कमजोर हुँदै गएको र माओवादी केन्द्र पत्तासाफ भइसकेको बुझ्न सकिन्छ । यसैगरी एमालेको सङ्गठन मजवुत देखिए पनि एमालेको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिँदा आफ्नैबाट जोगिन मुस्किल हुने टिप्पणी सामाजिक सञ्जालमार्फत बाहिर आउनु एमालेको लागि अशुभ सङ्केत हो । सङ्गठनलाई अघि बढाउन सुझबुझपूर्ण निर्णय गर्न नसक्ने र जनमत हुदाँहुदै पनि पार्टीलाई अन्तर्घात गर्ने कति कार्यकर्ता कारवाहीको भागीदार बन्ने हुन् र जिम्मेवारी पदबाट कतिजनाले नैतिकताका आधारमा राजिनामा दिने हुन्, ब्यग्र प्रतीक्षाको विषय बनेको छ ।