बुढेसकालमा जन्मिएको पुत्र प्रतिभाशाली

बुढेसकालमा जन्मिएको पुत्र प्रतिभाशाली


हाम्रो समाजमा ‘बुढेसकालमा जन्मिएको सन्तान झन् प्यारो’ भन्ने कथन प्रचलनमा छ । सन्तानको चाहना राख्दाराख्दै सक्रिय उमेर गुज्रिएर निराश हुन थालेको बेला सन्तान जन्मँदा तुलनात्मक रूपमा त्यस्ता अभिभावकमा खुसी छाउनु स्वाभाविक पनि हो । यसरी बुढेसकालमा सन्तान जन्माउनेहरूलाई अनुसन्धानकर्ता वैज्ञानिकहरूले थप खुसी प्रदान गर्दै छन् । तर, कसरी ?

हालै बेलायतको किंग्स कलेज लन्डनमा गरिएको शोधबाट सिद्ध भएअनुसार सामान्यभन्दा ज्यादा ढल्केको उमेरमा पिता बन्ने पुरुषबाट जन्मिएका पुत्र जिनियस हुने सम्भावना प्रबल रहन्छ । यस्ता बाबुका छोरा अत्यन्त तेज तथा तीक्ष्ण बुद्धिको हुने सम्बन्धित अनुसन्धानकर्ताको दाबी छ । तर, आश्चर्यको कुरा के छ भने यसमा आमा अर्थात् महिलाको उमेरले कुनै सम्बन्ध नराख्ने र यदि सन्तान छोरी हो भने उनमा त्यस्तो सकारात्मक प्रभाव देखा नपर्ने पाइएको छ । शोधार्थीले लगभग १५ हजार जुम्ल्याहा बच्चालाई परीक्षणमा सामेल गरेका थिए, यस आधारमा वैज्ञानिकहरू उक्त निचोडमा पुगेका हुन् ।
उमेर ढल्किसकेका पिता ढिलो गरी बाबु बन्दा उसको परिपक्व र प्रतिभाशाली जिनबाट बच्चा जन्मिने सम्भावना रहने अनुसन्धानकर्ताको बुझाइ एकातिर रहेको छ भने उमेर ढल्किएका व्यक्तिले बच्चालाई ज्यादा सुविधा दिने कारणले पनि बालकमा विशेष प्रतिभा विकसित हुनेसमेत उनीहरूको आँकलन छ । तर, यो तर्कमा चाहिँ त्यति दम रहँदैन, किनकि उस्तै सुविधा दिए पनि छोरी सन्तानमा किन उक्त विशेष गुण या क्षमता देखिन्न त भन्ने सवाल यहाँ खडा हुन पुग्छ ।

वृद्धावस्थामा जन्मिएको छोरो प्रतिभाशाली हुने देखिए पनि परिवार बसाउन तथा सन्तान जन्माउन ढिला गर्ने सोचलाई बढावा दिनचाहिँ नहुने सुझाव सेल्फिड युनिभर्सिटीका प्रोफेसर ऐलन पेसीले दिएका छन् । बुढ्यौलीमा सन्तानको लालनपालन गर्न गाह्रो हुने, महिलामा गर्भपातलगायतका समस्या आइपर्न सक्ने सुझाव उनको छ ।