रातारात फेमस हुन खोज्दा…

रातारात फेमस हुन खोज्दा…


सार्वजनिक रूपमा आफ्ना फलोअर्स वा प्रशंसक बढाउनकै लागि एक अमेरिकी युवा जोडीले अत्यासलाग्दो विधि अपनाएका छन् । मानिसको ध्यान खिच्नका लागि वैकल्पिक उपायहरू यावत् हुँदाहुँदै पनि प्रसिद्धिको भोको यो जोडीले खतरनाक विधि अपनाउँदा युवकले अकालमै ज्यान गुमाउनुपरेको छ भने उनकी प्रेमिकाले जीवनभर पछुताएर बिताउनुपर्ने अवस्था सिर्जना भएको छ । अमेरिकाको मिनिसोटावासी मोनालिजा पेरेजले आफू फेमस हुने चक्करमा क्यामेरासामु आफ्ना ब्वाइफ्रेन्ड पेड्रो रुइजको छाती गोलीले छेडेपछि यस घटनाले सर्वत्र चर्चा पाएको हो । मोनालिजा र रुइज मिलेर एक युट्युब च्यानल चलाएका थिए । उक्त च्यानलमा फलोअर्स बढाउने दुवैको धोको थियो । यसका लागि मोनालिजालाई यही उपाय सुझ्यो कि एक हार्डकभरयुक्त मोटो पुस्तक रुइजले छातीमा टाँसेर उभिने, अनि पुस्तक ताकेर आफूले गोली प्रहार गर्ने र उक्त सनसनीपूर्ण स्टन्टको भिडियो खिचेर युट्युबमा अपलोड गरी प्रसिद्धि कमाउने । यसरी योजनाअनुसार सबै तयारी गरेर प्रशस्त दर्शकसमेत उपस्थित गराई मोनालिजाले ब्वाइफ्रेन्ड रुइजको छातीमा टाँसिएको पुस्तक ताकेर गोली त चलाइन्, तर सोचेझैँ गाली पुस्तकको हार्डकभरमा नरोकिई रुइजको छातीसमेत छेडेर बाहिर निस्कियो । रुइज त्यहीँ ढले भने यतिबेला मोनालिजाचाहिँ नियतवश नगरिएको हत्या अभियोगमा मुद्दा खेपिरहेकी छिन् ।