विद्युत् प्राधिकरणको ध्यान पुग्ला कि ?

विद्युत् प्राधिकरणको ध्यान पुग्ला कि ?


नेपाल विद्युत् प्राधिकरणको नेतृत्व कुलमान घिसिङको काँधमा आएपछि लोडसेडिङ अन्त्य भई विद्युत् क्षेत्रमा कायापलट भएको कुरा अब पुरानो भइसक्यो । तर, कुलमानजस्ता इमानदार र जागरुक राष्ट्रसेवकबाट अन्य कर्मचारीले पनि पाठ सिक्दै देश र जनताको सेवामा समर्पित होलान् भन्ने सर्वसाधारण नेपालीको अपेक्षामा भने अझैसम्म पनि कालोबादल लागेको अनुभूति गर्नुपर्दा हामी दुःखी बनेका छौँ । के विद्युत् प्राधिकरणका प्रमुख कुलमानबाहेक अरू सबै अक्षम र अल्छी नै हुन् त ? अन्य कर्मचारीलाई नालायक नै भन्नुपर्ने हो त ? गैंडाकोट वडा नम्बर १५, नवलपरासीस्थित १६ नम्बर चोकमा रहेको बिजुलीको लट्ठाको हालत हेर्दा त यस्तै प्रश्न गर्नुपर्ने भएको छ ।

अमरापुरी चोकस्थित स–मिलसँगै रहेको बिजुलीको पोलमा करेन्ट त प्रवाहित भइरहन्छ, तर जमिनबाट मुस्किलले तीन–चार फुट मात्र उचाइमा रहेका तार विगत चार–पाँच वर्षदेखि नै आमस्थानीय बासिन्दाका लागि फाँसीको फन्दासरह कहालीलाग्दो अवस्थामा रहेको व्यहोरा अवगत गराउनुपर्दा निकै अत्यास लागेर आउँछ । के नागरिकले अकाल मृत्युवरण गरून् भनेरै विद्युत् प्राधिकरण कावासोतीले यसरी बिजुलीको तार लत्रारेर राखेको हो त ? कि तार तन्काएर अग्लो गरी टाँग्ने क्षमता नै नभएको हो प्राधिकरणसँग ? यस मामलालाई लिएर पटक–पटक लिखित आवेदनसहित अनुरोध गर्दा पनि सम्बन्धित स्थानीय प्राधिकरण निकायले सुनुवाइ नगर्दा हामी कस्तो लोकतन्त्रमा बाँचिरहेका रहेछौँ भनी खेद लागेर आउँछ । ‘होइन, दुई–चारजना नागरिकको ज्यान नगई लत्रेको तार तन्काउनेतर्फ प्राधिकरणको ध्यान जाँदैन कि कसो हो ?’ भन्ने प्रश्न गर्छन् स्थानीयवासी शेषकान्त पौडेल । देशभर यस्तो दूरावस्था कैयन ठाउँमा हुन सक्छ, यसैलाई प्रतिनिधि आवाज ठानेर तत्काल सुधार हुनुपर्छ भन्ने उनको माग छ । कुलमानजस्ता जनप्रेमी राष्ट्रसेवकले नेतृत्व गरेको निकायले अब त हाम्रो आवाज सुनेर समस्या समाधान गरिदेला कि ?

– केदार पौडेल, गैंडाकोट–१५, नवलपरासी