भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्तो

भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्तो


भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन बिहारको राजधानी पटना पुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले त्यहाँका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । पश्चिमाञ्चल होटल सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा गत असार १६ गतेबाट ‘चलिए पोखरा’ अभियान सुरु गरिएको थियो । द्विपक्षीय व्यापारिक भेटघाट कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना समेटेको अभियान औपचारिक रुपमा ६ वर्षअघि सुरु भए पनि यसपटक असार २० गते सम्पन्न हुने बताइएको छ ।

‘बोर्डर टाउन सेल्स मिसन’ नाम दिइएको सो अभियानमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जना सहभागी छन् । आइतबार उत्तर प्रदेश (भारत)को लखनउमा भ्रमण टोलीले अन्तक्रिया गर्ने सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गोरखपुरमा अन्तिम कार्यक्रम आयोजना गरिने छ । विनाशकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको छ । पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय सहरमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्देश्य रहेको सङ्घका महासचिव गणेशराज पहारीले जानकारी दिनुभयो ।