पत्रकार अधिवेशनले तय गरेको हाम्रो राशिफल

पत्रकार अधिवेशनले तय गरेको हाम्रो राशिफल


– डिल्लीराम अम्माई (बेल्जियम)

मनमा कुरा खेलेर विचलित बनेको अवस्थामा ध्यान अन्यत्र मोड्न पुस्तक पढ्नु भनिन्छ । यस्तै निर्णयविहीन अवस्थामा पुगेको बेला मैले पनि कवि शिरोमणिको तरुणतपसी खण्डकाव्य निकालेर पढ्न थालेँ । तलका हरफ मेरा सहकर्मी मित्रहरूको मनोदशामा मेरै परिदृश्य मिलाएर बनाइएको ‘राशिफल’ पो हो कि जस्तो लाग्यो । मैले बारबार कविताका यी हरफमा म र मेरा सहकर्मी पत्रकारहरू सँगसँगै तिनका रुचिहरू पनि भेट्टाएँ, विशेषगरी युरोपवासी मित्रहरूका । तरुणतपसीमा मैले भेट्टाएको राशिफल यस्तो रहेछ :

‘यताको हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्गम–विधि
हावामा बोहोरी बिहग सरि ठाडै बहकिँदै
चल्यो माथि मेरो नयन नभमा चक्कर लिँदै ।।
पालाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हर किसिमको कौतुक गरी
खुशी भै त्यो पन्था विहगकुलको लङ्घन ग¥यो
हावाको झोक्कामा जलद उसको सम्मुख प¥यो ।।
(कवि शिरोमणि लेखनाथ पौड्याल)

यति हरफमै म रोकिएँ र आफू अलमलिएको गाँठी फुकाउन सक्ने गरी आफूलाई तयार पार्दै जुन २४ तारिख २०१७ को दिउँसो बेल्जियमको लुभेनतर्फ एक्लै हुइँकिएँ । मन खुसी थिएन । साथीहरूका अनुहार पनि सङ्क्रमणकालीन मनोदशाले थलिएर रोगाएजस्ता । समस्या उही पुरानो, आफूलाई भए हुने नभए खै के हुने के हुने ? तयारीमा पनि खै केको हो केको चटारो । सबै साथीका अनुहार वृत्तचित्रका आवृत्तिझैँ आँखा अगाडिबाट बगिरहे । जुन २४ तारिखमा पत्रकार महासङ्घ युरोप शाखाको अधिवेशन अपूरो तयारीमा आयोजना हुँदै थियो ।

पहिलो अधिवेशनबाटै पानी धमिलिन सुरु भएको थियो । त्यो धमिलोपानी थेग्रिन सकेजति प्रयास भयो, गरियो र केही आदरणीय सहकर्मी मित्रहरूले मानसिक थकानका सुस्केरा नहालीकन पत्रकार महासङ्घ युरोप शाखालाई सञ्जीवनी दिइरहनुभयो । यो शाखा पत्रकार महासङ्घको एक अङ्ग र विश्व सङ्घको एउटा सेलको रूपमा रहेको छ अहिले । आखिर नसङ्लिएको भए पनि उमालेरै भए पनि यही पानी पिउनुको विकल्प छैन हामीलाई । मूलकै पानी त सहज रूपमा कहाँ प्राप्ति हुन्छ र ! छानेर वा फिल्टर गरेर पिउनुको विकल्प रहँदैन ।

कुरो दुई–चार दिनअगाडिको हो । अनेक सङ्क्रमित तरङ्गले मन अमिलो बनाएको बेला सम्मानित मित्र ओमसरसँग भेटका लागि कुरा गरेँ । उहाँ सङ्गठनको वरिष्ठ उपाध्यक्ष र पुरानो पत्रकार पनि । भेट भयो र असहजताको गाँठो फुकाउन अन्तिमसम्म संवाद गरियो । उहाँले अन्य साथीहरूको सल्लाहबाट सम्मेलनबारे धारणा बनाउने सुनाउनुभयो । उहाँले आफँै निर्णयमा पुगेर साथीहरूको मत लिन सक्ने हैसियत थियो । मेरो विचारमा सदस्यता विवाद हल हुन सक्ने विवाद हो र समयावधिको कुरा केन्द्रीय प्रतिनिधि बेल्जियम आउने प्रवेश आज्ञासँग जोडिएकोले प्राविधिक रूपमा अलिक असजिलो नै थियो । प्राविधिक असजिलोलाई हामी सबैले बुझ्न सक्दथ्यौँ । छोटो समयमा केन्द्रीय प्रतिनिधि तथा प्रमुख अतिथिको भिसा लाग्यो, अनि समस्या सभाहलको रह्यो । छोटो अवधिमा हाल पाउन कति मुस्किल छ बेल्जियममा ! स्थानसम्बन्धी समस्याको मूल चुरो यही हो ।

पदहरूमा आ–आफ्ना रुचिहरू हुने नै भए । हामी सङ्क्रमणकालको सुरुवात र द्वन्द्वको मध्यान्तरतिर आएका धेरै पत्रकार साथीहरू छौँ । हाम्रो मनोविज्ञानमा अस्थिरता र सङ्क्रमणकालको प्रभाव अधिक नै छ । मुलुकले निर्णायक मोड पार गरेर राजनीतिक स्थिरता प्राप्त गरिसकेको भए हाम्रो मानसिक अवस्था रूपान्तरित भइसकेको हुन्थ्यो होला । वा, प्रवासका गल्ली–गल्लीमा सङ्गठन नै बनाउनुपर्ने अवस्थामा हामी विस्थापित पनि हुने थिएनौँ सायद ।

जे–जस्तो अवस्थामा छौँ प्रक्रियामा जाऊँ, जति सकिन्छ गरौँ र नसकिएको कार्य विश्वासपूर्वक नयाँ नेतृत्वलाई सुम्पौँ । हाम्रा स्वभाव र मनोविज्ञानका थोरै हिस्सा अनि नयाँ समाजबाट प्रविधिसहित सिकेका उनीहरूका आफ्ना तरिकाको ठूलो हिस्सा लिएर अन्य चुनौतीहरू दोस्रो पुस्ताले स्वीकार गर्नेछ । हाम्रा धेरै तरिका त उनीहरूले खारेज गरिदिने छन् । किनकि, सुधार निरन्तर चलिरहने प्रक्रिया हो, यसको अन्त्य असम्भव छ । अधिकतम् प्रक्रियागत आशङ्काका सारहरू, हाम्रा असन्तुष्टिहरू र जानाजान नमिलाइएका कुराहरूको पोको अधिवेशन गराउन आउनुभएका पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष खिला सरलाई उपहारस्वरूप दिऊँ । अधिवेशनमा जे–जस्तो अवस्था छ त्यसको अधिकतम रूपमा प्रयोजन गरौँ । सामाजिक सञ्जालतिर बहकिँदा अमूकहरूले ताली बजाउनेभन्दा अरू केही हुँदैन । प्रजातन्त्रको अधिकतम उपयोग गर्ने थलो अधिवेशन हो । त्यसको विकल्प त अराजक विद्रोह हुन्छ । मैले मेरा कुरा सबै साथीसँग राखेँ, विशेषगरी ओमसरसँग । प्रक्रियागत असन्तुष्टि मेरो पनि हो । तर, हल गर्ने विधि मेरो योभन्दा फरक रहेन र विश्वास पनि छैन ।
अधिवेशन अलिक व्यापक बनाउन र प्रतिनिधिको उन्मुक्त सहभागिताका लागि केन्द्रीय प्रतिनिधिले अधिवेशन केही समय रोक्छु, तर सहमति गरौँ पनि भन्नुभयो । तर खै किन हो साथीहरू निर्णायक बन्न हिच्किचाउनुभयो । हामीले एकातिर प्रक्रिया मिलाउन जोड दिनुपर्दथ्यो । राजनीतिक पार्टीका सङ्गठनकर्ताहरूबाट मुक्त गर्ने पहल गर्नुपर्दथ्यो । पत्रकार महासङ्घको यो शाखालाई क्रमशः हिजोदेखिको आन्तरिक अराजकताको अन्त्य गर्नका लागि विधिविधानको पालनालाई लागू गराउने वैधानिक तरिका खोज्नुपर्दथ्यो । अघिल्लो बेलुकादेखि सम्मेलनको दिनसम्म हामीले छलफल चलायौँ । आपसी विश्वासको अभावमा केन्द्रको मध्यस्थतामा सहमति गर्नु वा समस्याको हल खोज्नु हाम्रो दोस्रो विकल्प थियो ।

हामी केही साथी छौँ जसले महासङ्घको गरिमाका लागि केही भौतिक र नैतिक लगानी गरेका छौँ । त्यसैले त्यसैमध्येका साथी अलग बस्न खोज्नु अलिक पीडादायी कुरा हो । पत्रकार युरोप शाखाका लागि यो नमिठो अनुभव हो । वक्तव्य निकाल्ने साथीहरूले पनि आफ्नै मनोदशालाई नियन्त्रण गर्न सकेनौँ । यो शाखामा चुनौतीहरू छन्, निरन्तर चुनौतीको चाङ घट्नुको साटो बढिरहेको छ, तर पनि हामीले विधिविधानको परिधिभित्र रहेर सामना गर्ने सामथ्र्य राख्नैपर्छ । एउटा गल्तीको प्रतिकार गर्दा अर्को गल्ती भएको छ । जस्तो कि केन्द्रीय प्रतिनिधि यहीँ आएको हुनाले उहाँलाई विरोधपत्र बुझाउन सकिन्थ्यो । अर्को कुरा महाधिवेशन हलमा साङ्केतिक धर्ना दिन सकिन्थ्यो र त्यसका लागि न्यूनतम समयको अल्टिमेटम दिन सकिन्थ्यो । अनि त्यति गर्दा पनि हल नहुने वा पेल्ने काम भए साङ्केतिक धर्ना हुँदै बाहिर निस्कन सकिन्थ्यो । मैले बुझेको प्रक्रिया त त्यही हो ।

तर, तत्कालीन महासचिवले अधिवेशनको खुलासत्र सकिएपछि पौने दुई बजे मध्याह्नमा बिनाअल्टिमेटम, बिनाजानकारी विरोध वक्तव्य निकाल्नुभएको छ । त्यसलाई प्राविधिक त्रुटि त भन्न अलिक नमिल्ने हो कि ? अघिल्लो दिनसम्म सहभागी हुने कुरा सकारात्मक नै थियो । एक्कासि आएको वक्तव्यले सबैलाई स्तब्ध बनाउनु स्वाभाविकै हो ।

अर्कोतर्फ केही अनलाइन मिडियामा फेक समाचारसमेत पठाइयो । साथीहरू, पत्रकार महासङ्घलाई सम्मान गर्ने पत्रकारले एकपटक सम्मेलन हलको अवस्था र केही साथीहरू सहभागी नहुनाको कारण सोधेर समाचार बनाएको भए के बिग्रन्थ्यो ? केन्द्रीय प्रतिनिधिलाई नै नसोधी कसैको प्रतिक्रियाबिना ‘…बहिस्कार, असफल, सम्मेलन विवादास्पद’ भनेर लेख्नु जायज थियो ? सार्वजनिक ठाउँमा आफ्नै कपडा छोडाउँदा ‘ऊ’ देखिन्छ भनेको यही हो । भन्न खोजेको कुरा विरोधको पनि विधि हुन्छ र त्यसलाई नजरअन्दाज गर्न मिल्दैन भनेको हो ।

म त अझै पनि यही भन्छु, हाम्रो मानसिक अवस्था चिट चोरेर पास गर्ने विद्यार्थीको भन्दा माथि रहेन । यो मनोवृत्तिको पूर्ण हल हुन सक्दैन । आशा गरौँ, दोस्रो पुस्ताले मात्र यसको आंशिक हल गरेर अगाडि बढ्नेछ । निराशावादी बनेर हामी पलायन हुन वा भाग्न पाउँदैनौँ । हामीले पढेका छौँ– युरोपको पुरानो सामन्तवादी क्याथोलिक सत्ताभित्रको रुढीग्रस्त जडता तीन सय वर्ष चलेको सुधार आन्दोलनले पनि निर्मूल पार्न सकेन । आचरण, संस्कार र मानसिक रूपान्तरणका लागि युरोपले नौ सय वर्षमा हजारौँ टन पसिना, अर्बौंको सहादत र बिलियार्डको भौतिक क्षति व्येहोरेर मात्र यो अवस्थामा आएको हो । म आग्रह गर्छु सहकर्मी मित्रहरू, यी यावत् समस्याको जड हामी आफैँ हौँ । अराजकताका लागि ताली बजाउने सुरसार नगरौँ । केही भएको छैन, अझै गल्तीबाट सिक्दै सँगै अघि बढौँ । मलाई आशा छ, तपाईं–हामीले महासङ्घका लागि बगाएको श्रम र पसिनाले विवेकका तारहरू मिलाएर पुनः सुमधुर सङ्गीतमा धुनहरू भर्नेछ र पत्रकारहरूका चुनौतीहरूलाई डटेर सामना गर्न ओमसरले भनेझैँ नर्कको बाटोबाट फर्काएर स्वर्गजस्तो आफ्नो झुपडीमा ल्याउनेछ ।