काङ्ग्रेसभित्र अझ जालझेल जारी

काङ्ग्रेसभित्र अझ जालझेल जारी


(२० वर्षअघिको घटना र विचारबाट)

काङ्ग्रेस महाधिवेशनका लागि अब तीन साता मात्र बाँकी छ, तर त्यसअघि सक्नैपर्ने कामहरू पनि धेरै बाँकी छन् कि यही गतिमा हो भने ती काम सिध्याउन तीन साता होइन, तीन महिना पनि लाग्न सक्छ । कामगराइमा ढिलाइ भए पनि महाधिवेशन अब कुनै हातलमा सर्दैन भनी कार्यकर्ता ढुक्क छन् । त्यसो त कसरी हुन्छ, महाधिवेशन भरसक नगरौँ भन्ने चालहरू पनि काङ्गे्रसभित्र विद्यमान छन् । तर, पार्टी सभापति कृष्णप्रसाद भट्टराई, नेता गिरिजाप्रसाद कोइराला र अर्का नेता महामन्त्री महेन्द्रनारायण निधि भने चाहे जे होस् अब महाधिवेशन गराएरै छाड्ने दृढतामा हुनुहुन्छ । महाधिवेशन पटक–पटक सर्ने गरेको कुरामा अब उहाँहरूको प्रतिष्ठा पनि गाँसिएको छ । आमकार्यकर्ता भनिरहेका छन्– बूढा नेताहरू जीवितै हुँदा त यस्तो ताल छ भने पछि–पछि कसले महाधिवेशन समयमै गराउला ? काङ्गे्रस महाधिवेशनसम्बन्धी ढिलाइ, विवाद र तनावले उहाँहरूलाई दुनियाँका सामु लज्जितसमेत पारिसकेको छ ।

पार्टी सभापति कृष्णप्रसाद भट्टराई अब कोइरालाले नै सारौँ भने पनि महाधिवेशन नसार्ने दृढतामा रहनुभएको बताइन्छ किनभने महाधिवेशन गराउन उहाँ इच्छुक हुनुहुन्न भन्ने आरोप सन्तनेता भट्टराईले खपिसक्नुभएको छ । मिति तोक्न गरिएको केहीअघिको ढिलाइबाट व्यक्तिगत रूपले आफ्नो छविमा असर परेको महसुस उहाँले गर्नुभएको छ । अतः भट्टराई महाधिवेशन वैशाख २६ गते गर्ने कुरामा पहिलेभन्दा कठोर बन्नुभएको छ । उहाँ कोइरालालाई हार्दिकतापूर्वक सभापति सुम्पन तयार भइसक्नुभएको छ, तर निसर्त भने होइन । बदलामा उहाँ आगामी उपचुनावमा लड्न इच्छुक हुनुहुन्छ र कोइरालाले उहाँको इच्छा पूरा गरी संसद्मा ल्याइपु¥याउने विश्वास उहाँलाई दिलाउनुभएको छ । भट्टराई–कोइरालाबीचको यो लगनगाँठोबाट कतिपय काङ्गे्रसहरू भने झस्किएका छन् । कोही कोइराला सभापति बन्ने कुराबाट भयभीत छन् भने कोही भट्टराई आउने कुराबाट डराएका छन् । तर, कतिपयले नरुचाए पनि नपत्याए पनि भट्टराई–कोइरालाको सल्लाह सहमति भने कारगर हुने कुरामा कुनै शङ्का छैन ।

शङ्का त कार्यकर्तालाई के छ भने यो तथालिङ्ग तालले महाधिवेशन तोकेको मितिमा कसरी होला ? सक्रिय सदस्यतासम्बन्धी कतिपय जिल्लाको उल्झन अझै सुल्झन सकेको छैन । वैशाख ३ गतेभित्र सक्रिय सदस्यता विवाद टुंग्याउने भनी गठन गरिएको विवाद निराकरण समितिका एक सदस्य सभामुख रामचन्द्र पौड्याल अहिले विदेश भ्रमणमा र अर्का सदस्य तारानाथ रानाभाट जिल्ला भ्रमणमा हुनुहुन्छ भने तेस्रो सदस्य चिरञ्जीवी वाग्ले आफैँ उम्मेदवार बन्ने ताकमा हुनुहुन्छ । बाँकी एक सदस्य धु्रवराम भण्डारी कुनै कामको संयोजन गर्दै भ्याइरहनुभएको छैन ।

सक्रिय सदस्यता विवाद निराकरण समितिले पुराना विवादहरू टुंग्याउने फुर्सद त पाएको थिएन नै अब आएर केही नयाँ विवाद पनि केन्द्रमा आइपुगेका छन् । केही दिनअघि व्यक्तिविशेषमार्फत नौ सय क्रियाशील सदस्यता बाँके जिल्लामा छरिएपछि त्यहाँ बबाल मच्चिएको छ, । नुवाकोटमा गज्जब के भएको छ भने पार्टी जिल्ला सभापतिले करिब २८ सय क्रियाशील सदस्यता फाराम जिल्लामा भराएका थिए, तर केन्द्रमा करिब नौ सय फाराम मात्र बुझाइयो । अरू फाराम र नगदसमेत बेपत्ता भए । बाग्लुङमा गाउँ, क्षेत्र र जिल्लाको सिफारिसमा चार हजार फाराम केन्द्रमा बुझाइएकोमा जिल्ला सभापति गाउँ, जिल्ला र क्षेत्रको सिफारिसबेगर व्यापक थपघट गरिदिए त्यसैलाई केन्द्रले पनि अनुमोदन गरिदियो ।

सोलुखुम्बुमा स्थानीय निकायको सिफारिसलाई मान्यता दिइएन र २०४८ सालमा पाउनेलाई मात्रै दिने भनिएको छ । प्युठानमा स्थानीय अधिवेशनहरू तय भइसकेपछि पुनः चैत अन्तिमतिर सांसद शिवराज सुवेदीमार्फत अरू सदस्यता फाराम भराइयो । तर, ती फाराम केन्द्रले अनुमोदन गरिनसक्दै पार्टी सभापतिले केन्द्रमा उजुर गरे । मुद्दा छिन्न अझै बाँकी नै छ ।

यसरी काङ्गे्रसका कतिपय जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी मुद्दाहरू छिन्न बाँकी नै छन् । काम ढिलो भएकोमा एकातिर कडा गुनासाहरू छन् भने अर्कोतिर हतारमा काम गर्दा ‘लतारपतार’ भएका गुनासाहरू पनि छन् । हतारका कारण नै हुनुपर्छ कतिपय ठाउँमा क्रियाशील बन्ने प्रक्रिया नपु¥याई सदस्यता दिइएको छ । जिल्लामा पठाइएका सदस्यता सूचीमा कम्प्युटर टाइपमा धेरै गल्ती कमजोरीहरू भेटिएका छन् । एउटा जिल्लाको नामावली अर्कै जिल्लामा पनि पुगेका छन् । एउटा गाउँको अर्को गाउँमा त झन् कति हो कति ।

सदस्यतासम्बन्धी झमेला भएका जिल्लाहरूको त कुरै छाडौँ, सदस्यताको समस्या पहिल्यै टुङ्गिएका जिल्लामा पनि कतिपय समस्या अझै छन् । पहिलो समस्या त के भएको छ भने केन्द्रीय पर्यवेक्षक अब जिल्ला–जिल्ला पुगिसक्नुपर्नेमा अधिकांश पर्यवेक्षक काठमाडौंका सडकमा नै टहलिइरहेका देखिन्छन् । जाने सुरसारसम्म गरिसकेका छैनन् कतिपयले त ।

सदस्यता विवाद लम्ब्याइनु, पर्यवेक्षकहरूले ढिलाइ गर्नु आदि सबै कुराको सेरोफेरोमा महाधिवेशन पछि धकेल्ने चाल छ भन्ने आरोपहरू पनि अब लाग्न थालेका छन् । कोइराला सभापति बन्लान् र हामीलाई सिध्याउलान् भन्ने मनको बाघले अझै पनि कतिपय काङ्गे्रसीलाई खाइरहेको देखिन्छ । त्यसैले कोइरालालाई सभापति बन्न नदिन भरसक महाधिवेशन रोक्न कुनै सङ्कट जन्माउने, महाधिवेशन रोक्न नसके कोइराला सभापति बनेमा ‘स्वतन्त्र’ सभापति बन्न नदिने कसरतहरू अझै जारी छन् । भट्टराईसँग सर–सल्लाह र सहमतिले कोइरालाले सभापति पद चलाउने विश्वास दिलाइसकेपछि पनि अझै क–कसलाई उहाँले विश्वास दिलाउनुपर्छ– कार्यकर्ताहरू प्रश्न गर्न थालेका छन् ।

कोइरालालाई कमजोर बनाउन खोजिरहनु कुनै हुने हुनामी नभएमा अन्ततः महाधिवेशन वैशाखमै हुने पक्का छ । अब पनि महाधिवेशन नभएमा त्यो काङ्गे्रसका लागि अप्रिय दुर्घटना सामना हुने निश्चित छ र आमकार्यकर्ताले यही विश्वास लिएका छन् कि नेताहरूले पार्टीलाई दुर्घटनामा पुग्न दिनु हुनेछैन ।
(घटना र विचार, ५ वैशाख २०५३ बुधबार)