मधेसी जनताले आग्रह गरेकाले चुनावमा होमिएँ

मधेसी जनताले आग्रह गरेकाले चुनावमा होमिएँ


■ उपेन्द्र यादव (अध्यक्ष, सङ्घीय समाजवादी फोरम नेपाल)

० संविधान पुनर्लेखन हुनुपर्ने माग बोकेको नेता तपाईं यतिबेला स्थानीय तहको निर्वाचनमा होमिनुभएको छ, मधेसमा कत्तिको बनेको छ त चुनावी माहोल ?
– छ, यतिबेला मधेस चुनावमय भएको छ । जनता मतदान गर्न आतुर छन् । सबै पार्टी, सङ्गठनहरू चुनावी दौडधुपमै देखिएका छन् । जताततै चुनावको चर्चा र बहस सुनिन्छ ।

० तपाईंले यस्तो दाबी गरिरहँदा राजपाले त ठीक उल्टो कुरा गरेको छ, मधेसी जनता चुनावको प्रतिरोधमा छन् भन्ने दाबी छ नि उसको त ?
– जनता चुनावी मुडमा छन्, चुनावमा होमिएका छन् । यस्तोबेला कुन–कुन पात्र वा अनुहारले चुनावको विरोध गरिरहेको छ या छैन भनी नियाल्ने फुर्सद पनि छैन जनतासँग । मैले त विभिन्न पार्टीका उम्मेदवारहरू मतदातासँग मत माग्दै हिँडेका र मतदाताले पनि सही प्रतिनिधि छनोट गर्न परख गरिरहेका नै देखिरहेको छु ।

० राजपाले मधेसी आन्दोलनले उठाएका मुद्दाको सम्बोधनका साथै चुनावको मिति सार्नुपर्ने माग गरिरहेको छ, यसबाट मधेसमा चुनावी वातावरण बिथोलिन सक्ने देख्नुहुन्न तपाईं ?
– त्यसले जनताको सानो हिस्सामा अलमलजस्तो पैदा गर्न खोजेको कतिपयले अनुभूति नगरेका त होइनन् । धेरैपटक चुनावका मिति सरेकाले पनि अब के होला भन्ने जिज्ञासा कतिपयमा उत्पन्न नभएको होला भन्न म सक्दिनँ । तर, जनता निर्वाचनमा भाग लिन अत्यन्त उत्साहित देखिएका छन् । धेरै लामो समयपछि गणतन्त्र नेपालमा पहिलोपटक स्थानीय तहमा मतदान गर्न पाएको र आफ्नो सरकार अब घरगाउँमै आइपुग्ने आशामा जनता हर्षित बनेका छन् ।

० संविधान पुनर्लेखन नै हुनुपर्ने माग गर्ने तपाईं संविधान संशोधन नभई निर्वाचनमा जाँदा मधेसका जनतालाई तपाईंले धोका दिएको आरोप पनि लागेको छ नि ?
– धोकाको कुरा केही व्यक्तिविशेष निहित स्वार्थवश गरेका हुन सक्छन्, तर मधेसका तमाम जनताले यस्तो आरोप लगाएका छन् भन्नु बेकारको कुरा हो । पछिल्लो चरणमा जतिपटक म मधेस पुग्थेँ, जनताले प्रश्न गर्थे कि किन चुनावको तयारी गरिरहेका छैनौँ ? मधेसमा गाउँपालिका–नगरपालिका बनाएर त्यसका लागि जनप्रतिनिधि चुन्ने माहोल हाम्रा लागि किन बनाइरहेका छैनौँ ? यसरी पटक–पटक मधेसकै जनताले भनेकैले पनि हामी निर्वाचनमा होमिएका हौँ । जहाँसम्म संविधान संशोधनको प्रक्रिया छ, त्यो अगाडि बढिसकेको छ । हामीसँग दुईतिहाइ बहुमत छैन, जुन दिन दुईतिहाइ बहुमत पुग्छ, त्यो पारित भइहाल्ला ।

० तपाईंहरूको मागअनुसार स्थानीय तहको सङ्ख्या पनि त थपिएन नि ?
– मधेसमा स्थानीय तहको सङ्ख्या थप्नुपर्छ भन्ने मुद्दा सुरुमा मैले नै उठाएको हुँ । संविधान संशोधन, पुनर्लेखन हुनुपर्छ, अन्यथा संविधान कार्यान्वयन हुन सक्दैन भन्ने कुरा हामीले नै उठाएका हौँ । सरकारले आंशिक रूपले त यी काम गर्न खोजेकै हो, तर निर्वाचन घोषणा भईकन पहिलो चरणको चुनाव भइसकेपछि बीचमा अब स्थानीय तह घटबढ गर्न मिल्दैन भनी सर्वोच्च अदालतले आदेश जारी गरेको त जगजाहेर छ नि । अब उपयुक्त समयमा यी सबै मागको सम्बोधन त राज्यले गर्नैपर्छ नि ।

० निर्वाचनको कुरा लिएर नआउनुस् भन्दै तपाईंलाई मधेसका विभिन्न स्थानमा कालोझण्डा देखाएर विरोध गरिएछ नि, किन होला ?

– राजपाको सबभन्दा ठूलो गढ सर्लाहीमा छिर्नै नदिने, हाम्रा सभा बिथोल्ने कार्यमा राजपाका केही मानिस लागेकै हुन् । तर, जनताले उहाँहरूलाई कुटेर खेदेपछि उहाँहरू भागेको पनि त हो नि । यस्तो विरोधका बाबजुद हामी सभाहरू गर्न सफल रह्यौँ । जनताको व्यापक समर्थन प्राप्त भयो । राजपाबाटै थुप्रै कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरे । यो सत्य पनि नियाल्नुपर्ला कि ?

० तपाईंको मतलब राजपाको दाबी झुटो हो, मधेसका जनता निर्वाचनमा खुसीले सहभागी हुँदै छन्, हो ?
– जबर्जस्ती भ्रम दिएर उचालिएका राजपाका केही कार्यकर्ताबाहेक राजपाकै अन्य नेता–कार्यकर्ता चुनावमा जान चाहन्छन् । कतिपयले उम्मेदवारी नै घोषणा गरिहिँडेका छन् भने कैयनले स्वतन्त्र उम्मेदवारीको तयारी गरेका छन् । तिनैमध्येका कतिपयले हाम्रो पार्टीमा आएर टिकट मागिरहेका छन् भने कैयनचाहिँ काङ्ग्रेस–एमाले प्रवेश गरी टिकट मागिरहेका छन् । राजपाका नेताहरूबीच आन्तरिक कलह छ, मुलुक र जनताको समस्याप्रति भन्दा पनि ती आफ्नै स्वार्थबाट चलेका छन् । राजपाका नेताबीच चलेको आन्तरिक द्वन्द्वका कारण कार्यकर्ता अन्योलमा त परेकै छन्, तिनको स्वार्थ मुलुकमाथि जबर्जस्ती थोपर्न खोज्दा देशले पनि दशा भोग्नुपरेको छ । राजपाको नेतृत्वले उग्र नारा दिएर जनता झुक्याउन खोजिरहेको छ ।

० लामो समयदेखि मधेस आन्दोलित छ, त्यत्रो नाकाबन्दीसमेत चल्यो, तर मधेसले उठाएका माग सम्बोधन नै भएन, अनि कसरी चुनावमा जान सकिन्छ भन्ने तर्क छ नि उनीहरूको त ?
– मधेस जनविद्रोह चलिरहेको बेला आजका राजपाका नेता भन्नेहरू सत्तामा हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलन चलिरहेको बेला अहिलेका राजपाका वरिष्ठ नेताहरू राजा ज्ञानेन्द्रको क्याबिनेटमा मन्त्री थिए । जनआन्दोलनका प्रतिकारमा उभिनेहरू सत्ताको स्वाद चाखिरहेका थिए । मल्लिक आयोग, रायमाझी आयोगले अपराधी किटान गरेकाहरू आज राजपाका नेता बनेका छन् । यिनले आन्दोलनको कुरा गर्न कमसेकम मसँग चाहिँ सुहाउँदैन । मधेसमा आन्दोलनमा उता त्रिचालीस मधेसी जनताले सहादत दिँदै गर्दा उहाँहरू क्याबिनेटको बैठक चलाइरहेको अवस्थामा हामीले देखेभोगेकै हौँ । त्यसका बाबजुद त्यो जनविद्रोह भइछोड्यो र २२बुँदे सम्झौता भई मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको हो । सङ्घीयता, गणतन्त्र, मधेसी जनताका लागि आरक्षणजस्ता मूलभूत कुरा प्राप्त भएको त्यसैबेला हो । यस्ता उपलब्धि अहिले प्रतिगमनकारी शक्तिहरूले खोस्ने प्रयत्न गरिरहेका छन् । प्राप्त उपलब्धिको रक्षाका साथै थप उपलब्धिका लागि सङ्घर्ष त हामी पनि गरिरहेकै छौँ । हामीले प्राप्त गर्न बाँकी धेरै कुरा छन् । यसका लागि जुन सङ्घर्ष हामी गरिरहेका छौँ, यस सङ्घर्षकै एउटा माध्यम हो यो चुनाव पनि । हामीले मुद्दा छोडेका छैनौँ, चुनावलाई पनि सङ्घर्षकै रूपमा उपयोग गरेका मात्रै हौँ । यसरी चुनावको विरोध गर्नेले हिजो प्रधानमन्त्रीमा सुशील कोइरालालाई किन भोट हालेको ? शेरबहादुर देउवालाई किन मत दिएको ? कसैलाई प्रधानमन्त्री बनाउन आफू भोट हाल्ने अनि जनताले चाहिँ आफ्नो प्रतिनिधि चुन्न मतदान गर्न नपाउने ? यो दोधारे चरित्र किन ?

० मधेस आन्दोलनको उपलब्धि फगत निर्वाचन हुन सक्दैन भनेका छन् नि राजपाका नेताहरूले, तपाईं के भन्नुहुन्छ ?
– मधेस आन्दोलनको उपलब्धि निर्वाचन नै हो भनेर हामीले कहिले भन्यौँ र ? तर, मधेस आन्दोलनको उपलब्धि लोकतान्त्रिक सङ्घीय गणतन्त्र नेपाल त हो नि । र, लोकतान्त्रिक गणतन्त्रका लागि स्थानीय तहको निर्वाचन, संसद्को निर्वाचन पनि अति महत्वपूर्ण कुरा हो । लोकतन्त्रका लागि जनताले बलिदान दिएका छन् । निर्वाचनकै माध्यमबाट लोकतन्त्रको स्थायित्व र पक्षपोषण हुँदै जान्छ । जनताले आफू अधिकारसम्पन्न भएको, आफूहरू सशक्त बन्दै गएको अनुभूति गर्ने माध्यम हो निर्वाचन । त्यसैले यसलाई छेक्न खोज्नु दुराशय हो ।

० यो संविधान नमान्ने नेता होइन र तपाईं ?
– यो संविधान त म अहिले पनि मानिरहेको छैन । किनकि, यसमा प्रशस्त त्रुटी–गल्तीहरू छन् । तिनलाई सच्याउनैपर्छ, पुनर्लेखन गर्नैपर्छ भनिरहेको छु म ।

० संविधान कार्यान्वयनका लागि गरिएको निर्वाचनमा भाग लिने अनि संविधानचाहिँ काम छैन भन्ने, यो कस्तो अभिव्यक्ति हो ?
– चुनावको पक्षमा उभिँदैमा संविधान ठीक छ भनेको अर्थ लगाइनुहुँदैन । चुनावको तात्पर्य त जनताले आफ्नो प्रतिनिधि चुनेर आफ्ना सेवा–सुविधा र अधिकारमाथि पहुँच पु¥याउनु रहेकोले यसलाई स्वीकार गरिनुपर्छ । जहाँसम्म अपूर्ण संविधानको कुरा छ, संशोधनका लागि संसद्मा विधेयक प्रस्तुत भएको छ, दुईतिहाइ पुगेपछि संशोधन भइहाल्छ । र, जे–जति विषयमा संशोधनको प्रस्ताव गरिएको छ, त्यतिले पुग्नेवाला छैन । तसर्थ, संशोधन त धेरैपटक हुनु आवश्यक छ । यसका लागि हामी निरन्तर लागिपर्नुपर्छ । राजपाका नेताहरूले मधेसका धेरै मुद्दाहरूलाई काँटछाँट गरेर या मुद्दै छोडेर अहिले संसद्मा प्रस्तुत गरिएको विधेयकमाथि सम्झौता गरेका छन् भने हामीले चाहिँ अलग्गै विधेयक पनि दर्ता गराएका छौँ । त्यसैले अहिलेको विधेयक पारित भएर पनि मधेसले खास केही पाउनेछैन । यो सबैले र खासगरी मधेसी जनताले बुझ्नु आवश्यक छ ।