छत्रप्रसादको पेसा एउटा कमाइ अर्कै

छत्रप्रसादको पेसा एउटा कमाइ अर्कै


(चलनचल्तीको भाषामा भन्नुपर्दा ‘ठेकेदार’ छत्रप्रसाद अधिकारी (२००८) मुलुकको ‘क’ वर्गको निर्माण व्यवसायी हुनुहुन्छ । निर्माण व्यवसायी हुनुपूर्व उहाँसँग भद्रपुर–चन्द्रगढी हाइस्कुलमा ४ वर्ष र काठमाडौंको आदर्श विद्या मन्दिरमा एकवर्षे विज्ञान विषयको अध्यापकको अनुभव पनि छ । विज्ञानमा स्नातक उहाँ ०३५ देखि बुबा लालप्रसादले गरी आउनुभएको निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ । लालप्रसाद शर्मा एन्ड सन्स नामक ‘क’ श्रेणीको निर्माण संस्थाको प्रमुख रहेका उहाँ निर्माण व्यवसायजस्तो फुर्सत कम हुने व्यवसाय गर्दागर्दै पनि एउटा अब्बल साहित्यकारजति नै साहित्य अनुरागी बन्न भ्याइरहनुभएको छ । विभिन्न पुस्तक पढ्ने र कविता लेख्ने काम (तर नछाप्ने) अहिले पनि गरिरहनुभएको छ । प्रस्तुत छ एक कर्मठ व्यक्तित्व छत्रप्रसादसँगको सङ्क्षिप्त वार्ता ।

Chhatra Adhikari

० यति धेरै पढेलेखेको मान्छे पनि निर्माण व्यवसायमा हुनुहन्छ, किन ?
– निर्माण व्यवसायमा नलागी शिक्षण पेसामै पनि लाग्न सक्थेँ म । मेरो चाखको विषय पनि त्यही हो । अहिले पनि कुनै स्कुलले भोलेन्टिएर शिक्षकका रूपमा बोलायो भने गर्छु जस्तो लाग्छ । तर, निर्माण व्यवसायमा वा कुनै पनि पेसामा पढालेखा मानिस आउँदा त्यो पेसालाई नराम्रो हुँदैन, राम्रै हुन्छ ।

० शिक्षण पेसा अँगाल्दा के कमाउनुभयो ?
– पढाइ सक्दा नयाँ शिक्षा योजनाको लहर थियो, जसमा विज्ञान शिक्षाको अभाव । मेरो पढाइको रिजल्ट नआउँदै नियुक्ति पाएँ । मैले त्यसमा धेरै आफन्त वा मित्रजन कमाएँ । आफूले पढाएका विद्यार्थी धेरै माथिल्लो तहमा पुगेको देख्दा आनन्द र गौरव हुन्छ । मान्छेले कमाएँ–कमाएँ भन्छन्, मैले कमाएकोचाहिँ यही नै हो ।

० अहिलेको व्यवसाय र पुरानो व्यवसायमा के फरक देख्नुहुन्छ ?
– अहिलेको मित्रता कारोबारी मित्रता हुन्छ । तर, विद्यार्थीसँग, मित्रहरूसँग निस्वार्थ मित्रता हुन्थ्यो–त्यसबेला । र, मलाई अहिलेको कमाइभन्दा मित्रता कमाएकोमा धेरै आनन्द आउँछ । सबैले ‘सर’ भनेर अझै पनि आदर गर्छन् ।

० निर्माण व्यवसायमा विकृति आयो भन्छन् नि ?
– निर्माण व्यवसायमा पहिले राम्रो थियो । मेरा पिताको समयमा मात्र होइन मैले सुुरु गर्दा पनि इज्जतिलो पेसा नै थियो । तर, ०४६ सालमा बहुदल आएपछि बिस्तारै यो पेसामा ‘मसल पावर’को सक्रियता बढ्यो । तथापि, अहिले इलेक्ट्रोनिक सुविधाले घरैबाट टेन्डर बिड गर्न सकिएकाले बीचमा आएको विकृति निकै हदसम्म हटेको छ भन्नुपर्छ ।

० निर्माण कार्यमा गुणस्तर कम गरी नाजायज कमाइ गर्ने प्रवृत्ति बढेको छ भनिन्छ नि ?
– होइन, त्यसो होइन । कामको गुणस्तर कम हुनेमा ठेकेदारलाई मात्र गाली गरेर हुँदैन । सबैको साझा जिम्मेवारी छ यसमा । ठेकेदारले गलत गर्दा हेर्ने निकायले के हेरेर बसेको त ? हेर्नुपर्दैन ? थपमा निर्माण व्यवसायीको इमानदारी, मेटेरियल उत्पादनकर्ताको गुणस्तर पनि यसमा जिम्मेवार छ । मेटेरियल उत्पादनकर्ताले कम गुणस्तरको सामान उत्पादन गरेपछि व्यवसायीले के गर्ने ? अर्थात्, निर्माण कार्यको गुणस्तर राम्रो–नराम्रो जे हुन्छ त्यसमा यी तिनै पक्षको जवाफदेहिता साझा रूपमा रहन्छ, रहनुपर्छ ।

० लो बिडिङ अर्थात् चाहिनेभन्दा कममा बिडिङ गर्ने कामलाई कसरी हेर्नुभएको छ ? गुणस्तर यसबाट खस्केको होइन ?
– काम नपाएर मोबिलाइजेसन (पेस्की) एडभान्स लिनका लागि, होसियार प्रतिस्पर्धामा उत्रिएर, कम मूल्य बिड गर्नुले पनि गुणस्तरमा धक्का पार्दछ । तर, यसको अर्को पक्ष पनि छ । यो निर्माण व्यवसायीको बाध्यता पनि हो । उदाहरणको निमित्त, मैले यो सिजनभरि काम पाएको छैन । बैंक ब्याज तिर्नु परेकै छ, स्टाफ पाल्नु परेकै छ । त्यसले गर्दा म कम बिडिङमा जान्छु । यसलाई हटाउनका लागि मोबिलाइजेसन (पेस्की) दिन बन्द गरेर बैंकमार्फत कन्ट्रयाक्ट लोन मिलाएमा यो र यस्ता धेरै विकृति हट्नेछन् ।

० तपाईलाई नजिकबाट जान्नेहरू निर्माण व्यवसायीबाहेक एक साहित्य अनुरागीका रूपमा पनि चिन्दछन् । यसलाई किन व्यवसायभन्दा पछि छाड्नुभएको ?
– पछि छाडेको छैन, अहिले पनि म अध्ययन गर्ने गर्दछु । म पाँच कक्षामा पढ्दा स्कुलमा पुस्तकालय खुल्यो । त्यसको हर्ताकर्ता एकजना पण्डित सर हुनुहुन्थ्यो । उहाँले नै पढ्ने बानी बसाउनुभएको हो । म र नेविसंघका पूर्वमहामन्त्री शिव भुर्तेल (हाल अमेरिका)लाई पुस्तक पढ्ने बानी बसालिदिनुमा पण्डित सर र त्यही भद्रपुर हाइस्कुलको पुस्तकालयलाई श्रेय जान्छ ।

० निर्माण व्यवसायमा लागेर फुर्सद हुन्छ पढ्नलाई ?
– जहाँ इच्छा त्यहाँ उपाय । समय निकाल्न समस्या छैन । अहिले पनि म पढ्दै छु । नेपाली, हिन्दी, अङ्ग्रेजी साहित्य पढ्छु । प्रकाशनमा नगए पनि लेखेर शोखचाहिँ पूरा गर्छु ।

० एउटा पाठकको हैसियतले नेपाली साहित्यलाई कसरी नियालिरहनुभएको छ नि ?
– विगतमा नेपाली साहित्यको स्वर्णकाल थियो, तर बीचमा एउटा ग्यापजस्तो आयो । तथापि, यताको समयमा बिस्तारै नेपालको सुगन्ध आउने साहित्य फस्टाइरहेको देख्दछु ।

प्रस्तुति : राजेश ढुङ्गाना