सत्यको लडाइँ कमजोर देखिएला, तर विजय सुनिश्चित छ

सत्यको लडाइँ कमजोर देखिएला, तर विजय सुनिश्चित छ


rabi 2

– रविराज आचार्य (गोदावरी नपा, वडा नम्बर ३ का स्वतन्त्र उम्मेदवार)

० तपाईं एक सामाजिक कार्यकर्ताको रूपमा चिनिँदै आउनुभएको व्यक्ति, स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी दिनुभएकोरहेछ, मौकामा चौका हान्न खोजेको हो ?
– म वास्तवमा राजनीतिक दलभित्रको मान्छे होइन, तर राजनीति बुझेको सचेत नागरिक हुँ । झन्डै दुई दशकदेखि स्थानीय सत्तालाई चौतारो बनाएर बसेकाहरूलाई विस्थापित गर्ने योभन्दा अर्को मौका नआउला भनेर स्थानीय क्षेत्रको विकासको चौका हान्न तम्सिएको हुँ ।

० भनेपछि तपाईं पनि चौतारामा पुगेर चोर्ने दाउमा हुनुहुन्छ, अर्थात् सेवा–भोगका लागि लालायित हुनुहुन्छ ?

– म चोर्न चौतारामा जान लागेको होइन । मैले गोदावरी–फुलचोकी क्षेत्रको बृहत्तर बहुआयामिक विकासको योजना बनाएको छु । यो योजना व्यावहारिक रूपमा नै सफल बनाउन र गोदावरीलाई नेपालकै एक नम्बर पर्यटकीय स्थल बनाउने सपना पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ ।

० तपाईं स्वतन्त्र रूपमा किन त ? यति ठूलो योजना तपाईं स्वतन्त्रबाट उठेर पूरा गर्न सक्छु भन्नु अलि अपत्यारिलो कुरा भएन र ?
– पहिलो त म स्वतन्त्र उठ्नुको कारण हो– म साझा उम्मेदवार हुन चाहन्छु । कुनै दलको टीका नलगाएको, विशुद्ध पर्यावरण विकास र समाजसेवामा व्यस्त रहेको र यसमै व्यस्त रहन चाहने मान्छे हुँ । पहिलो चरणमा भने मलाई कतिपय राष्ट्रिय दल र कति नयाँ दलहरूले उनीहरूको निर्वाचन चिह्नमा चुनाव लड्न आग्रह पनि गर्नुभएको हो । तर, मेरो विगत र मैले मेरो गोदावरीको लागि गर्ने काम कुनै दलविशेषको नहोस् सबै नागरिकको होस् भन्ने चाहनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको हुँ । रह्यो योजना पूरा गर्ने कुरा मेरो प्रतिज्ञापत्रमा कुनै नौला र नयाँ योजना छैनन् । सबैजसो योजना ७५–८० प्रतिशत पूरा भइसकेका छन् । एक्लै बिनापद र शक्ति त मैले यति धेरै काम गरो भने निर्वाचन जितेपछि गर्न नसक्ने कुरै भएन । अन्य विकास निर्माणका काम राज्यको ढुकुटी र स्थानीय स्रोत साधनबाट नै हुने भएकाले यसमा दलको संलग्नता चाहिन्छ भन्ने मलाई लाग्दैन । हामी सक्छौँ ।

० चुनावमा होमिएको मान्छे, खर्च त दह्रै होला होइन ?
– जम्मा ३२ सयजति खर्च लागेको मेरो चुनावी प्रतिज्ञापत्र युथ नेपाल भन्ने संस्थाले सौजन्यमा उपलब्ध गरायो । फ्लेक्स ब्यानरको रु. ७००, नमुना मतपत्र रु. ३००, नाम पर्चा रु. ७०० गरी छपाइमा मेरो व्यक्तिगत १७ सय रुपैयाँ खर्च भयो । खाजाखर्च पनि प्रचारमा जाने आ–आफैँले गर्ने गरेका छौँ ।

० न खर्च न प्रचार गर्नेको हुल ! अनि त्यसरी पनि चुनाव जितिन्छ त ?
– पाण्डव पाँचजना नै थिए । कौरव पक्षको हुल नै थियो । सत्यको लडाइँ कमजोर देखिए पनि विजय सत्यकै हुन्छ भन्ने मेरो विश्वास रहिआएको छ ।

० तपाईंले जित्ने आधार के छ त ?
– धेरैलाई मेरो खरो बोली नमीठो पनि लाग्छ, तर मेरो स्पष्ट बोल्ने बानी, इमानदारीपन, सच्चरित्रता, जुझारु प्रकृति, नवीन दृष्टिकोण, सत्यको पक्षधरता नै मेरा चुनाव जित्ने आधार हुन् भन्नुपर्छ ।

० तपाईंको प्रचार पनि धुमधाम छैन । न झन्डा न व्यानर । पैतालाले हिँडेर ४–५ जनाको साथले घरदैलो गर्दैमा जितिन्छ भन्ने दाबी अलि घमण्ड गरेजस्तो भएन र ?
– म जनता र मेरो गाउँको निडर, निर्भीक, लोभलालसाविहीन सेवक हुँ । आजका मतदाताहरू पहिलेका जस्ता छैनन् । कसैले भन्दैमा दललाई सुरुसुरु भोट हाल्ने जमाना छैन । सचेत छन्, उनीहरूले मेरो प्रतिज्ञा पत्र पढ्नेछन् । सच्चाई बुझ्नेछन् । ठूलो सङ्ख्याका बुद्धिजीवी र विद्यार्थी र दलका मान्छेवाट वाक्क भएकाहरूले बल्ल सही मान्छे पाएको महसुस गरेका छन् र स्वतन्त्र उम्मेदवारको रूपमा मलाई नै जिताउने लहर चलेको छ । विजय निश्चित छ र यो विजय सारा नागरिकको विजय हुनेछ ।