फेरि तुहियो नेपालको सपना-श्रीविक्रम भण्डारी

फेरि तुहियो नेपालको सपना-श्रीविक्रम भण्डारी


अन्तिम समयमा आएर खुट्टा कमाउने नेपाल क्रिकेट खेलाडीहरूको बानी अहिले परम्परा भइसकेको छ । यो कुरालाई नेपाली खेलाडीहरूले एसीसी ट्रफीको आठौं संस्करणमा पनि हुबहु दोहोर्‍याएका छन् । हालै कुबेतमा सम्पन्न भएको एसीसी ट्रफी इलाइटको लिग चरणमा नेपालले शानदार प्रदर्शन गर्दै फाइनलमा पुगे पनि फाइनल भिडन्तमा भने नमीठो पराजयको स्वाद चाखेको छ । सेमिफाइनलमा मलेसियालाई रोमाञ्चक ढङ्गले पराजित गरेको नेपाल फाइनलमा अफगानिस्तानका सामु मुसो सावित भएको थियो । फाइनलमा नेपालले टस जिते पनि कप्तान पारस खड्काले अफगानिस्तानलाई ब्याटिङका लागि निमन्त्रणा दिएका थिए । अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै निर्धारित पचास ओभरमा दुई सय २४ रन बनाउँदै अलआउट भएको थियो । मध्यम स्कोरको चुनौती पाएको नेपालले उक्त चुनौतीलाई पहाडझैं सम्भिँmदा गोलखाडीमा पुगेको थियो । नेपाल ४० ओभरमा केवल एक सय २९ रन बनाउँदै अलआउट भएको थियो ।

क्रिकेटमा कुनै टिमलाई बलियो र कुनैलाई कमजोर आँक्न मिल्दैन । नेपाल पनि भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला हालेको अफगानिस्तानभन्दा कुनै पनि मानेमा कमजोर थिएन । अनुभवका हिसाबले पनि नेपाल अफगानिस्तानभन्दा अगाडि थियो । यो हिसाबले नेपालले अफगानिस्तानलाई पराजित गर्नु कुनै आइतबारको कुरो थिएन । तर, विडम्बना, अफगानिस्तानसँग नेपालको भिडन्त हुनुअगावै नेपाली खेलाडी मानसिक रूपमा बिरामी हुन्छन् । उनीहरूमा भएको सबै आत्मविश्वास हराएर जान्छ । विजयको कल्पनासमेत गर्न सक्तैनन् । मर्नुभन्दा अगाडि नै खुट्टा तानेर लम्पसार पर्छन् । जिउमै सुसु गर्छन् । आफू के हौँ – के गर्न आएका हौँ – आफ्नो जिम्मेवारी के हो – र, मुलुकको यो प्रतियोगितासँग गाँसिएको प्रतिष्ठा के हो – सबैलाई भुलेर गैरजिम्मेवारी रूपमा प्रस्तुत हुन्छन् । जसको पछिल्लो उदाहरण एसीसी ट्रफी बनेको छ । नेपाली खेलाडीहरूले फाइनल गरेको प्रदर्शनको विश्लेषण गर्दा जो-कोही भन्न सक्छ ‘यस्ता पनि खेलाडी हुन्छन्, जो मुख्य समयमा आएर सबै बिर्सने -‘ अर्जुनजस्तो भएर निशाना साध्नुपर्ने बेलामा कर्ण जसरी मन्त्र बिर्सनु साँच्चिकै दुभाग्य कुरा हो । एसीसी ट्रफीको फाइनलमा नेपाली खेलाडीहरूले बलिङ र ब्याटिङ दुवै गर्न बिर्सिएका थिए । तर, यो कुनै संयोग नभएर गैरजिम्मेवारीको चरम नमुना थियो ।

अफगानिस्तानले क्रिकेटमा कदम राखेको भर्खरै आधा दसक पुगेको छ । यो अवधिमा अफगानिस्तानले गरेको प्रगति तारिफयोग्य छ । यो प्रतियोगितासमेत नेपालको अफगानिस्तानसँग पाँचपटक भिडन्त भएको छ । जसमा नेपाल चारपटक पराजित भएको छ । आखिर किन अफगानिस्तानसँग खेल्न सक्तैनन् नेपाली खेलाडी – खोजीको विषय बनेको छ । नेपाल क्रिकेट सङ्घ -क्यान) का पदाधिकारीसमेत अफगानिस्तानसँग नेपालको प्रतिस्पर्धा हुँदा त्यसको तुलना अस्टे्रलिया र बंगलादेशसँग भएको जस्तै गर्छन् । यसमा कति सत्यता छ र के अर्थमा यस्तो विश्लेषण ती पदाधिकारीहरूले गरे त्यो आफैंमा सोचनीय बनेको छ । थाहा भएअनुसार अहिले अफगानिस्तानबाट खेल्ने सबै खेलाडी पाकिस्तानी खेलाडी भएको क्यानको ठहर छ । पाकिस्तानमा ‘ए’ श्रेणीमा खेल्ने खेलाडी शरणार्थी भएर अफगानिस्तान जाने र त्यहीँबाट खेल्ने गरेको क्यानका पदाधिकारीहरूले बताएका छन् । हुलियादेखि भाषा र नामसमेत एकै भएका कारणले पनि सक्कली र नक्कली खेलाडीहरूको पहिचान आईसीसीले पनि गर्न नसकेको ती पदाधिकारी दाबी छ ।

अफगानिस्तानी क्रिकेट टोलीमा पाकिस्तानी खेलाडीहरू भएका कारणले नेपालले पराजयको मुख देख्नुपरेको सत्य हो भने अन्य मुलुका टिमहरूमा पनि भारतीय र पाकिस्तानी खेलाडी रहेको कुरालाई कदापि बिर्सनुहुँदैन । सिङ्गापुर, मलेसिया, हङकङ र थाइल्यान्डका टोलीहरूमा पनि यिनै देशका खेलाडीको जगजगी छ । र पनि नेपालले यी मुलुकलाई स्वदेश र विदेशमा प्रायजसो पराजित गर्दै आएको छ । अब कुरा आउँछ- यी मुलुकलाई पराजित गर्ने सामर्थ्य राख्ने नेपालले अफगानिस्तानलाई अहिलेसम्म किन पराजित गर्न सकेको छैन ? आखिर अफगानिस्तानले पनि क्रिकेट नै खेल्ने हो । यहाँ अफगानिस्तानलाई बाघ वनाएर प्रस्तुत गर्ने क्यानको गलत धारणाले गर्दा नेपाली खेलाडीहरूले अहिलेसम्म सफलता पाउन नसकेका हुन् भन्दा अतिसयोक्ति नहोला । खेलाडीहरूलाई जस्तोसुकै बलियो टिम परे पनि मनोवैज्ञानिक रूपमा तयार पार्नुपर्नेमा उल्टै जे होला देखा जाएगाको हिसाबले प्रस्तुत गराउनु विडम्बनाको विषय बनेको छ । यहाँ सबैभन्दा महत्त्वपूर्ण भूमिका प्रशिक्षकले खेल्नुपर्ने भए पनि उनी जहिले पनि आए आँप गए झटारोको रूपमा खेलाडीहरूलाई उतार्ने भएकाले नेपालले यस्तो नकारात्मक परिणाम भोग्नुपरेको हो ।

विश्व क्रिकेट डिभिजन फाइभको उपाधि जितेपछि नेपाललाई एसीसी ट्रफीको मुख्य दाबेदार मानिएको थियो । सोहीअनुरूप लिग चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा सोचेअनुरूपको प्रदर्शन गर्न सकेन । कारण नेपालको प्रतिद्वन्द्वी अफगानिस्तान परेको थियो । अफगानिस्तान भन्नेबित्तिकै खुट्टा कमाउन थाल्ने नेपाली खेलाडीलाई मनोवैज्ञानिक रूपमा कसैले तयार पार्न उचित ठानेन । जबसम्म उपाधि हातमा पर्दैन तबसम्म अन्य विजयको कुनै अर्थ हुँदैन भन्ने पाठ नेपाली खेलाडीलाई नसिकाउँदासम्म यस्तै परिणाम दोहोरिने कुरामा शङ्का गर्न मिल्दैन । तर्सथ सर्वप्रथम नेपाली टोलीलाई बलिङ र ब्याटिङ सिकाउनुपूर्व मानसिक रूपमा तयार पार्नु अहिलेको आवश्यकता भइसकेको छ । यो कुरा नेपाली क्रिकेटको विकासका लागि डेढ दशक प्रशिक्षकको भूमिका निभाइसकेका रोय डायसले बुझ्नुपर्ने जरुरी भइसकेको छ ।

वर्तमान अवस्थामा नेपाली क्रिकेट र अन्य मुलुकका टोलीको बारेमा तुलना गर्दा नेपाल जहीँको त्यहीँ छ भने अन्य मुलुकहरूले ठूलो फड्को मारिसकेका छन् । सिङ्गापुर, मलेसिया, कतार र थाइल्यान्डले गरेको प्रगति नेपालका लागि टाउको दुःखाइ बनिसकेको छ । हिजोसम्म नेपाललाई उदीयमान क्रिकेटको शक्तिको रूपमा हेर्ने यी राष्ट्रहरूले अहिले नेपाललाई चुनौती मात्रै होइन पराजितसमेत गर्न थालेका छन् । उनीहरूको बढ्दो प्रगतिलाई सम्बन्धित निकाय क्यान र नेपालका खेलाडीहरूले आत्मसात् गरेनन् भने भोलि नेपालको स्थिति निकै नाजुक हुने कुरामम दुईमत छैन । तर्सथ समयमै सबैलाई चेतना भया ।

लहरो तान्दा…सानियाको दिल पाकिस्तानीसँग (बाल ठाकरे आक्रोशित)

भारतीय टेनिससुन्दरी सानिया मिर्जाले पाकिस्तानी क्रिकेट खेलाडी शोएब मलिकसँग विवाह गर्ने फैसला गरेपछि शिवसेना प्रमुख बाल ठाकरेले आक्रोश पोखेका छन् । ठाकरेले आफ्नो पार्टीको मुखपत्र ‘सामना’मा सानियाको बारेमा सम्पादकीय लेख्दै ‘अबदेखि सानिया भारतीय नरहेको’ घोषणा गरेका छन् । ८४ वषर्ीय नेता ठाकरेले सानियाको दिल भारतीय नभएको खुलासासमेत गरेका छन् । नेता ठाकरेले यदि सानियाको दिल भारतीय भएको भए भारतीय युवाप्रति धड्किनुपर्ने बताएका छन् । अन्यथा करोडौं भारतीय युवाको दिल तोडेर सानियाले कदापि शोएबलाई रोज्ने थिइनन् । त्यस्तै नेता ठाकरेले यदि सानियालाई भारतीय भएकोमा त्यत्रो गर्भ थियो भने उनले किन भारतीय जीवनसाथी रोजिनन् भनेर प्रश्नसमेत गरेका छन् ।

प्रमुख नेता ठाकरेले सानियाको खेलको बारेमा चर्चा गर्दै विभिन्न आरोपसमेत लगाएका छन् । ठाकरेले सानिया टेनिसकोर्टमा खेल जित्नुभन्दा पनि छोटा कपडा, फेसन र प्रेम-प्रसङ्गले ज्यादा चर्चित रहेको लेखेका छन् । ठाकरेले सानियाले खेलप्रति बढी ध्यान दिनुको साटो आफूलाई ग्ल्यामर बनाएर युवाहरूलाई आकरि्षत बनाउनपट्ट िमात्र लागेको आरोप पनि लगाएका छन् । टेनिसकोर्टमा सानियाको हाउभाउले पनि यस्तै देखाउँथ्यो भन्दै नेता ठाकरेले अब सानियाले भारतबाट खेल्ने इच्छा राख्नु गलत भएको प्रस्ट पारेका छन् । सानियाका लागि धड्कने भारतीय दिलहरू स्वयम् सानियाले नै तोडेका कारणले गर्दा उनी अब के साइनोले भारतीय भएर खेल्न चाहन्छिन् त्यो बुझाउनुपर्ने आवश्यक भएको टिप्पणी गरेका छन् । ठाकरेको यो कुरामा समर्थन जनाउँदै विभिन्न राज्यका युवाहरूले सानियालाई शोएबसँग विवाह नगर्न सल्लाह दिएका छन् । ती युवाहरूले योभन्दा अघि पाकिस्तानीसँग विवाह गर्ने भारतीय महिलाको के हविगत भएको छ, त्यसलाई फर्केर हेर्नसमेत आग्रह गरेका छन् । उनीहरूले शोएब झुटो भएको दाबी गर्दै उनकी दोस्रो पत्नी नबन्न अनुरोध गरेका छन् । तर, शोएबको प्र्रममा पागल भएकी सानियाले यसको जवाफमा आफूले शोएबलाई राम्रोसँग चिनेको बताउँदै जस्तै परिस्थितिको सिर्जना भए पनि शोएबसँगै विवाह गर्ने निर्णय गरेको बताएकी छिन् ।

नेता ठाकरेले शोएबको बारेमा लेख्ने क्रममा शोएब भारतीय खेल क्षेत्रको मात्र नभई युद्धक्षेत्रको पनि दुश्मन भएको आरोप लगाएका छन् । ठाकरेले शोएबले थुप्रै भारतीय युवतीहरूसँग प्रेम-प्रसङ्ग चलाएको, विवाहको झुटो आश्वासन दिएर धोका दिएको बताएका छन् । उनले सानिया-विवाह प्रकरणमाथि औंला उठाउँदै पाकिस्तान सरकारले सानियाको परिवारलाई तुरुन्त भिसा उपलब्ध गराउनुलाई पनि रहस्यको दृष्टिले हेरेका छन् । ठाकरेले भारतीय नागरिकलाई पाकिस्तानको भिसा पाउन निकै कठिन भएको बताउँदै स्वर-साम्राज्ञी लता मंगेशकरलाई पनि पाकिस्तानले भिसा दिन आनाकानी गरेको रहस्यको खुलासा गरेका छन् ।

भाइचुङ भुटियालाई ‘बम्पर’ उपहार

नेपाली मूलका भारतीय स्टार फुटबल खेलाडी भाइचुङ भुटिया हालै जुम्ल्याहा छोराछोरीका बाबु बनेका छन् । भुटियाकी पत्नी माधुरीले गत साता जुम्ल्याहाका रूपमा दुई सन्तान छोरा र छोरीलाई जन्म दिएकी थिइन् । माधुरीले पहिले छोरीलाई जन्म दिएकी थिइन् भने त्यसको केही क्षणपश्चात् नै छोरालाई । अहिले आमा र दुवै सन्तान स्वास्थ्य रहेको अस्पताल सूत्रले बताएको छ । भारतीय राष्ट्रिय फुटबल टिमका कप्तानसमेत रहेका भुटिया अहिले दोहोरो खुसी प्राप्त गर्दा निकै प्रसन्न देखिएका छन् । उनले यो खुसीलाई बम्पर उपहारको संज्ञा दिएका छन् ।