‘हिन्दु पुनर्जागरणका महानायक’ को उदय

‘हिन्दु पुनर्जागरणका महानायक’ को उदय


Aditye nath CM

दुई दशकअघिको कुरा हो । गोरखपुर शहरको मुख्य बजार इलाका गोलघरस्थित गोरखनाथ मन्दिरद्वारा सञ्चालित इन्टर कलेजमा अध्ययन गरिरहेका केही छात्र स्थानीय एक कपडा पसलमा कपडा किन्न गए । सो क्रममा पसलवालासँग विद्यार्थी समूहको भनाभन चल्यो । विवादका क्रममा उत्तेजित भएका छात्रहरूले पसलेमाथि हात हाल्ने कोशिस गरेपछि पसलेले पेस्तोल निकालेर छात्रहरूतर्फ ताक्यो ।

यसको दुई दिनपछि उक्त कपडा पसलेमाथि कारवाहीको माग गर्दै एक युवा योगीको अगुवाईमा विद्यार्थीहरूले भीषण प्रदर्शन गरे । सो इलाका हेर्ने प्रहरी अधिकारीको आवासमै प्रवेश गर्ने धृष्टता समेत आन्दोलित विद्यार्थीहरूले गरे ।

ती व्यक्ति थिए– योगी आदित्यनाथ, जसले उक्त घटनाको केही समयअघि अर्थात् १५ फेब्रुअरी १९९४ मा नाथ सम्प्रदायका सर्वप्रमुख मठ ‘गोरखनाथ मन्दिर’का उत्तराधिकारीको रूपमा आफ्ना गुरु महन्त अवैद्यनाथद्वारा दीक्षा पाएका थिए ।

माथि उल्लिखत घटना गोरखपुरको राजनीतिमा एक ‘एङ्ग्री योङ्ग म्यान’को धमाकेदार प्रवेश बन्न पुग्यो । यो त्यही समय थियो जब गोरखपुरको राजनीतिमाथि दुई ‘बाहुबली’ नेता हरिशंकर तिवारी र वीरेन्द्रप्रताप शाहीको पकड कमजोर भइरहेको थियो । खासगरी गोरखपुर विश्वविद्यालयका युवा एवम् विद्यार्थी नेताहरूले ती ‘एङ्ग्री योङ्ग म्यान’मा हिन्दु महाशभाका अध्यक्ष रहेका महन्त दिग्विजयनाथकौ छवि देखे र युवा पङ्क्ति उनीसँग जोडिँदै गयो ।
अहिले आएर उनै योगी ‘हिन्दुत्वको ठूलो फायरब्राण्ड नेता’का रूपमा स्थापित हुन पुगेका छन् । गत आइतबार यिनै योगीले उत्तर प्रदेशजस्तो विशाल र भारतीय राजनीतिकै महत्वपूर्ण प्रान्त उत्तरप्रदेशको मुख्यमन्त्रीको रूपमा सपथ लिएका छन् ।

दिल्लीपछि बिहारमा नराम्रोसँग चुनावी पराजय भोगेर चिन्ताग्रस्त भइरहेको भारतीय जनता पार्टी (भाजपा)भित्र गत वर्षदेखि नै योगी आदित्यनाथलाई उत्तरप्रदेशको मुख्यमन्त्री पदको अनुहारका रूपमा प्रस्तुत गर्ने विषयमा चर्चा सुरु भएको थियो । गत वर्ष मार्चमा गोरखनाथ मन्दिरमा भएको भारतीय सन्तसभाको चिन्तन बैठकमा आरएसएसका ठूला नेताहरूसमेतले योगी आदित्यनाथलाई मुख्यमनत्री बनाउने सङ्कल्प गरिएको थियो । उक्त बैठकले उत्तर प्रदेशमा मुलायम सिंह र मायावतीहरूको सरकार रहेसम्म रामजन्मभूमि मन्दिर बन्न नसक्ने हुनाले आदित्यनाथलाई मूख्यमन्त्री बनाउनु अपरिहार्य रहेको किटानी गरेको थियो ।

उत्तराखण्डस्थित गढवालको एक गाउँबाट गोरखपुर छिरेका अजयसिंह बिष्ट योगी आदित्यनाथ बन्नुभन्दा अघिको जीवनबारे खास कुरा बाहिर आएको थिएन । पुस्तौँअघि नेपालकै गोरखाबाट गढवाल पुगेका बिष्टका पुर्खाबारे पनि त्यहाँ त्यति चर्चा गरिँदैन । हेमवतीनन्दन बहुगुणा विश्वविद्यालय गढवालबाट विज्ञानमा स्नातक रहेका र उनको परिवारका सदस्यहरू यातायात व्यवसायमा रहेका भन्ने मात्र मानिसहरू जान्दथे ।

योगी आदित्यनाथलाई दीक्षित तुल्याउने अवैद्यनाथ पनि उत्तराखण्डकै हुन् । गोरखनाथ मन्दिरप्रति मानिसमा अत्यन्त आस्था छ । माघेसङ्क्रान्तिमा हरेक धर्म र वर्गका मानिस बाबा गोरखनाथलाई खिचडी चढाउन पुग्छन् । महन्त दिग्विजयनाथले उक्त मन्दिरलाई ५२ एकड क्षेत्रफलमा फैलाए भने उनकै समयमा गोरखनाथ मन्दिर हिन्दु राजनीतिको महत्वपूर्ण केन्द्रमा रुपान्तरित हुन पुग्यो, जसलाई महन्त अवैद्यनाथले अघि बढाए ।

योगी आदित्यनाथलाई गोरखनाथ मन्दिरको महन्तको गद्दीका उत्तराधिकारी बनाइएको चार वर्षपछि नै महन्त अवैद्यनाथले उनलाई आफ्नो राजनीतिक उत्तराधिकारीसमेत बनाइदिए । जुन गोरखपुरबाट महन्त अवैद्यनाथ चारपटक सांसद रहे भने सोही सिटबाट योगी आदित्यनाथ सन् १९९८ मा २६ वर्षकै उमेरमा लोकसभा प्रवेश गर्न सफल भए ।

यसपछि उनले निजी सेनाको रूपमा हिन्दु युवा वाहिनी (हियुवा) गठन गरे, जसलाई उनी ‘सांस्कृतिक सङ्गठन’ भन्न रुचाउँछन् भने वाहिनीले ग्राम रक्षा दलको रूपमा हिन्दुविरोधि, राष्ट्रविरोधि गतिविधिहरू नियन्त्रण गर्ने गर्छ । हिन्दु युवा वाहिनीका क्रियाकलाप तथा प्रभावका कारण हरेक वर्ष योगी आदित्यनाथले चुनावमा निकटतम् प्रत्यासीलाई जित्ने मतको अन्तर अत्यधिक बढ्दै आएको छ । सन् २०१४ को चुनावमा उनले तीन लाखभन्दा बढी मत अन्तरले प्रतिद्वन्द्वीलाई पछारेका थिए ।

Yogi & Gyanendra

ज्ञातव्य छ, नेपालमा राजसंस्था समाप्ति तथा धर्मनिरपेक्षता लादिएको सन्दर्भप्रति अत्यन्त दुःख प्रकट गर्दै आएका योगी आदित्यनाथ नेपाल र नेपालीको एकताका लागि राजसंस्था पुनर्वहाली हुनुपर्ने धारणा राख्छन् । गोरखनाथ मन्दिरद्वारा सञ्चालित तीन दर्जनभन्दा बढी शैक्षिक तथा स्वास्थ्यसम्बन्धी संस्थाहरूमा अध्यक्ष वा सचिवको कार्यकारी भूमिकामा रहेका योगी आदित्यनाथ एक मेडिकल इन्ष्टिच्युट स्थापना गर्न लागिपरेका छन् भने गोरखनाथ मन्दिरका सम्पत्ति गोरखपुरका अलावा भारतको तुलसीपुर, महाराजगञ्ज र नेपालमै पनि रहेको बताइन्छ ।

बिहानै मन्दिरस्थित उनको निवासमा भेला भएका कार्यकर्ता एवम् आमजनताको समस्या सुनेर समस्या समाधानको लागि सम्बन्धित सरकारी अधिकारीहरूलाई आदेश दिँदै दिनचर्या सुरु गर्दै आएका आदित्यनाथ सोझै जनतासँग जोडिएर लोकप्रियता कमाएका भारतका सीमित नेतामध्ये पर्छन् । जनतासँग सोझै सम्पर्क र सम्वादमा रही काम गर्ने उनका सामाजिक कार्यको आमजनतामा निकै प्रभाव रहेको छ । योगीले हिन्दु युवा वाहिनीका अलावा विश्व हिन्दु महासङ्घको माध्यमबाट आफूलाई जनतासँग जोड्दै आएका छन् । उनका अनुयायी या प्रशंसकहरूले योगी आदित्यनाथलाई ‘हिन्दु पुनर्जागरणका महानायक’, ‘सांस्कृतिक राष्ट्रवादका प्रतीक’ जस्ता विशेषण दिएर प्रशंसा गर्ने गरेका छन् । (एजेन्सीको सहयोगमा)