गलत, असफल हुनै सक्दैन ः राजनाथ

गलत, असफल हुनै सक्दैन ः राजनाथ


भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंह नेपालबारे विशेष चासो राख्ने नेतामध्ये पर्नुहुन्छ । भारतीय राजनीतिमा छुट्टै पहिचान र ख्याति कमाउनुभएका सिंह ँवेटिङ प्राइममिनिस्टर’का रूपमा समेत चिनिनुहुन्छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा घटना र विचारका लागि ऋषि धमलाले उहाँसँग गरेको टेलिफोन वार्ता ः
० नेपालमा चार चरणमा चुनाव गर्दा पनि प्रधानमन्त्री छानिन सकेको छैन । यसबारे तपाईंको धारणा के छ –
– नेपालका राजनीतिक दलहरू प्रधानमन्त्री छान्न असफल भइसकेको निष्कर्षमा म पुगेको छैन । उनीहरू यसका लागि आफैं सक्षम छन् । भारत नेपालमा राजनीतिक स्थायित्व होस्, स्थायी शान्ति होस् र समयमै लोकतान्त्रिक संविधान लेखियोस् भन्ने चाहन्छ । नेपालमा शान्ति र स्थिरता हुँदा छिमेकी मुलुक भारतलाई राम्रो प्रभाव पर्छ । त्यसैले मलाई लाग्छ, नेपालले छिटोभन्दा छिटो सरकार पाओस् र सहज रूपमा अघि बढोस् ।
० तपाईंले यसबारे भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग पनि कुरा गर्नुभयो । नेपालबारे उहाँको धारणा कस्तो पाउनुभयो –
– भारतीय जनता पार्टीले मेरै नेतृत्वमा प्रधानमन्त्री मनमोहन सिंहसँग नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्‍यो । नेपाल अहिले अप्ठ्यारो स्थितिमा छ । राजनीतिक सहमति हुन सकेको छैन । अन्योल कायमै छ । यसबारे हामीेले अवगत गरायौँ । कुराकानी धेरै महत्त्वपूर्ण छ । प्रधानमन्त्रीसँग भएका सबै कुरा मैले मिडियामा बताउन मिल्दैन । त्यो कूटनीतिक मर्यादा पनि हो ।
० भारतीय
प्रधानमन्त्री सिंहको धारणा अलिकति त बताउन मिल्ला नि –
– प्रधानमन्त्री सिंहसँग भएका कुराबारे म धेरै कमेन्ट गर्न चाहन्न । तर, उहाँ नेपालको समस्याबारे धेरै गम्भीर र चिन्तित हुनुहुन्छ । भारत नेपालमा दिगो शान्ति, राजनीतिक सहमति, चाँडै लोकतान्त्रिक संविधान बनाएर एउटा गति लिनुपर्छ भन्नेमा हाम्रो समान धारणा छ ।
० माओवादीको नेतृत्वमा सरकार बनाउन भारतलाई किन आपत्ति –
– हामी नेपालको कुनै पनि राजनीतिक पार्टीको विरोधी होइनौँ । हामी हत्या, हिंसा र आतङ्कका विरोधी हौँ । माओवादीले साँच्चिकै व्यवहारमा हिंसा त्यागेको प्रत्याभूति दिन्छ भने, लोकतान्त्रिक मूल्य र मान्यता अङ्गीकार गर्छ भने हामीलाई उसको नेतृत्वमा कुनै आपत्ति छैन । हाम्रो एउटै मात्र सरोकार लोकतन्त्र संस्थागत हुनुपर्‍यो र मुलुक अघि बढ्नुपर्‍यो ।
० तर, माओवादीले तपाईंहरूमाथि सरकार निर्माणमा भारतको हस्तक्षेप भएको आरोप लगाइरहेको छ नि –
– नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप गरेको छैन । यो त सद्भावलाई नबुझेर लगाइएको आरोप मात्र हो । भाजपाको स्पष्ट नीति छ, माओवादीले हिंसा छाड्नुपर्छ र ऊ एउटा साँच्चिकै नागरिक पार्टी भएर लोकतन्त्रको मूल्य र मान्यताअनुसार अघि बढ्नुपर्छ । यसो भयो भने माओवादीका जुनसुकै नेता या प्रचण्ड नै प्रधानमन्त्री भए पनि हामीलाई आपत्ति छैन । भाजपा हिंसाविरोधी हो, माओवादीविरोधी होइन ।
० तपाईंहरू लोकतान्त्रिक गठबन्धनको कुरा गरिरहनुभएको छ । प्रधानमन्त्री सिंहसँग पनि यसबारे कुरा गर्नुभएको हो –
– हामी नेपालमा लोकतन्त्र बलियो भएको हेर्न चाहन्छौँ । त्यसमा पनि लोकतन्त्रलाई स्वीकार गर्ने शक्तिहरू एक हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । आजको विश्व कुनै एकदलीय र तानाशाही व्यवस्थामा जान सक्दैन । माओवादीलाई पनि मेरो आग्रह के छ भने, तपाईंहरू लोकतान्त्रिक पद्धतिलाई स्वीकार गर्नोस्, हाम्रो तपाईंहरूप्रति कुनै पर्ूवाग्रह छैन ।
० नेपालमा शान्ति र संविधान सुनिश्चित भएको छैन । नेपालको भविष्य कस्तो देख्नुहुन्छ –
– हामी अहिले नै नेपालमा शान्ति र संविधान बन्दैन भनेर निराश भएका छैनौँ । अझै पनि दलहरूबीच सहमति, सहकार्य र एकताबाट नेपालले शान्ति र संविधान सुनिश्चित गर्न सक्छ । मलाई विश्वास छ, नेपालका दलहरू फेरि पनि सहमतिबाटै अघि बढ्न सक्षम छन् ।
० नेपाल असफल राष्ट्र हुन लागेको भारतको ठम्याइ हो –
– गलत, नेपाल असफल राष्ट्र हुनै सक्दैन । नेपालमा एकसे एक सक्षम नेताहरू छन् । उनीहरूले छिटोभन्दा छिटो निकास निकाल्ने आशा छ ।
० नेपालमा भारतको यति धेरै चासोचाहिँ किन त –
– तर, छिमेकी बदल्न सकिँदैन । नेपालको शान्ति नै भारतको शान्ति हो । नेपालको स्थिरताको लाभ भारतले पनि प्राप्त गर्छ । छिमेकी मुलुक नेपाल सक्षम, सम्पन्न र सबल होस् भन्ने भारतको चाहना हो । यसबाहेक अरू कुनै स्वार्थ छैन । छिमेकी मुलुकमा अस्थिरता हुँदा भारतसमेत स्वतः प्रभावित हुन्छ । भारतको नेपालप्रतिको चासो केवल हस्तक्षेप मान्न म तयार छैन ।