नेपालमा तरकारीवालीको चर्चा, बेलायतमा राजदूतको चर्चा

नेपालमा तरकारीवालीको चर्चा, बेलायतमा राजदूतको चर्चा


rajdootलन्डन, यही डिसेम्बर ४ तारिख आइतवारका दिन वरिष्ठ समाजसेवी इन्दिरा रानामगरको उपस्थितीमा लन्डनस्थित फेल्थाम कम्युनिटी सन्टरमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना सम्पन्न भयो । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी र हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी यूथ तथा नेपाल आदिवासी जनजाति महिला महासंघ यूकेको संयुक्त आयोजनामा गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्यका क्रममा डा. सुवेदीले आफू सम्पूर्ण नेपाली भाषा भाषी तथा धर्मको प्रतिनिधित्व गर्ने राजदूत भएको र राजदूतावासबाट कसैलाई कुनै पनि किसिमको भेदभाव तथा कुनै पनि भ्रष्टाचार नहुने दावी गरेका थिए । आफ्नो नामको पछाडी सबै नेपाली थरहरु जोड्दा आफूलाई फरक नपर्ने र म राई, लिम्बू, मगर, गुरुङ, थकाली, शेर्पा मधेसी, यादव, थारु आदि सबै जाति र थर हुँ भनेका थिए । विगतका केही दिनहरुमा केही न्यूज पोर्टल र सामाजिक संजाल फेसबुकमा लेखिएका प्रसंगलाई पनि निकै गहिरोसङ्ग कोट्याएका थिए ।
डिसेम्बर १ तारिख अर्थात मङ्सिर १६ गतेका दिन डा. सुवेदीले बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहकाबीच बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए । उक्त दिनको रिसेप्सन कार्यक्रममा आफूहरुलाई निमन्त्रणा नगरेको र स्थानीय समुदायमा अस्तित्वमा रहेका सङ्घसंस्थाको प्रतिनिधित्व हुन नसकेको भन्ने गुनासाहरु आएका थिए । सोही प्रसंगलाई व्यंग्यात्मक शैलीमा उनले भने “नेपालमा तरकारीवालीको चर्चा चल्छ लण्डनमा राजदूतको चर्चा चलेको छ । नेपालको राजदूत नेपाल सरकारको प्रतिनिधिलाई तपाईहरुको शीरलाई उच्च राख्ने, तपाईंहरुले गौरव गर्ने चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा बोक्ने राजदूतलाई तरकारीवाली जस्तो नबनाउनुस यसले तपाईंहरुलाई नै असर पर्छ उनले भनेका थिए । आफू बेलायत र नेपालको दुई सय वर्षभन्दा पूरानो सम्बन्धलाई अझ सुमधुर घनिष्ट र ब्यापक पार्दै नेपालको आर्थिक विकास र सामाजिक विकासमा कटिबद्ध रहेको जनाएका थिए । आफू बेलायतका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुप्रति सहिष्णुता समझदारी भातृत्व र एकता अभिव्रिद्धि गर्न कटिबद्ध रहेको र यो कुनै दोष हुन नसक्ने उनले बताएका थिए ।
राजदूतद्वारा कसैलाई कुनै किसिमको विभेद नगर्ने र नेपाली राजदूतको छाती खुल्ला छ दूतावासको ढोका पनि खुल्ला छ र कसैलाई आपद्बिपद परेमा दुई घण्टा बन्द गरेकोमा आश्चर्य नमान्नुस् अावश्यक परेमा म कुनै पनि बेला शनिवार होस् वा आइतवार पनि दूतावास खोल्न तयार रहने प्रतिवद्धता ब्यक्त गरेका थिए । आफ्नो बारेमा केही भन्नु छ भने फेसबुकमा हैन मेरो फेसमा सिधै भन्नुहोस् भन्दै दूतावास तपाईंहरु सबैको साझा घर हो राजदूत त आउछन जान्छनं अहिलेसम्म १९ जना राजदूत आइसकेका छन् । नेपाली राजदूतको शीर निहुरियो भने राजदूतको स्वाभिमान निहुरियो भने सबैजनाको अभिमान पनि निहुरिन सक्ने चेतावनी दिएका थिए ।
सामाजिक संजालको प्रसंगलाई औंल्याउँदै नेपाली दूतावासमा भएको एउटा रिसेप्सनमा निमन्त्रणा नआउदा ठूलो कुरा नबनाउनुस् सबैलाई एकैचोटी सम्भव नहोला तर पालोपालो गरी मेरा दुई लाख दाजुभाइ दिदीबहिनी सबैलाई चार वर्ष भित्रमा दूतावासको आँगनमा टेकाउने आश्वासन पनि दिएका थिए । आफूले तमू ल्होछारमा गुरुङ पोशाकमा, शेर्पा नेवार सबै जातिको कार्यक्रममा सबैले आ-आफ्नो पोशाक उपलब्ध गराएमा आफू सोही पोशाकमा उपस्थित हुने पनि राजदूत सुवेदीले बताए ।
अन्तमा आमा इन्दिरा रानामगरको बारेमा पनि प्रशंसा गर्दै इन्दिरा रानामगर बगरमा फालिएकी मणि हुन् उनले नेपालका जेलका रहेका अनाथ बालबालिकाहरुलाई आँखा दिएकीछन् हात दिएकीछन् आड दिएकीछन् र ओत नभएकाहरुलाई ओत दिइरहेकी छन् तसर्थ सबैले मिलेर तन, मन र वचनले सहयोग गर्न आग्रह गरेका थिए । विभिन्न संघ सस्थाका प्रतिनिधि,संसद डिपुटी मेयर, पत्रकार लगायत थुप्रै समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन बिमला सेनेले गरेकी थिइन् । इन्दिरा मगरले नेपालमा भएका बन्दी तथा कैदीहरु र तिनका बालबच्चाहरुमाथि भइरहेको मानव अधिकारको हनन र तिनीहरुलाई पालन पोषण शिक्षा स्वास्थ्य लगायतका विभन्न क्षेत्रमा सहयोग पुर्याउदै तथा आवाज उठाउँदै आएकी इन्दिरा अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्डबाट समेत सम्मानित भइसकेकी छन् । ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्षसमेत रहेकी रानामगर युरोपका बिभिन्न युनिभर्सिटीहरुमा आफ्नो अनुभबहरु साटासाट गर्ने उद्देश्यले युरोप भ्रमणमा आएकी हुन् ।
-नरेन्द्र बस्नेत, गुर्खा रेडियाे