लन्डन दूतावासमा पूर्व प्रधानमन्त्रीलाई भेट्नमा पत्रकारलाई रोक

लन्डन दूतावासमा पूर्व प्रधानमन्त्रीलाई भेट्नमा पत्रकारलाई रोक


embassy-ukलन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा नबोलाइएको भन्दै स्थानीय नेपाली सञ्चारकर्मीहरुले आक्रोस पोखेका छन् । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बेलायतमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुबीच शुक्रबार साँझ दूतावास भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत डा. सुवेदीले कुनै पनि सञ्चारकर्मीलाई बोलाएनन् । अन्तरक्रियामा बेलायतस्थित नेपालका सबै राजनीतिक दलका भ्रातृ संस्थाका नेता तथा कार्यकर्ता उपस्थिति थिए ।

शनिवार बिहान पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ताका लागि लन्डन दूतावास जान लागेको नेपाली टिभी यूकेको टोली र लन्डनस्थित नागरिक संवाददाता चिरन शर्मालाई दूतावास भवनभित्र कुनै पनि नेताको अन्तरर्वार्ता रेकर्ड गर्न नमिल्ले भन्दै रोक लगाइएको अवस्थाकाे जानकारी पत्रकार शर्माले जानकारी दिएकाछन् । ।
नेपाली टीभी यूकेका निर्देशक विजय थापाले दूतावासको पछिल्लो निर्णय गलत भएको बताए । अहिलेसम्म नेपालका शीर्ष नेताहरुको अन्तरर्वार्ता त्यही दूतावासभित्रै रेकर्ड गर्दै आएको भए पनि पूर्वप्रधानमन्त्री डा. भट्टराईको अन्तरर्वार्ता रेकडिङ गर्न अचानक रोकिनु पूर्वाग्रही भएको थापाले बताए । राजदूतले नयाँ नीतिका नाममा दूतावासलाई सर्वसाधारणको पहुँचबाट टाढा राख्न खोजेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।

दूतावासमा मिडिया नीति बदलिएको भन्दै नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्षसमेत रहेका शर्माले राजदूतको ध्यानाकर्षण गराएका छन् । उनले राजदूत दुर्गाबहादुर सुवेदीलाई आइतबार नै एक ध्यानाकर्षण पत्र लेख्दै– ‘पूर्वप्रधानमन्त्री भट्टराईसँग आयोजित अन्तरक्रियामा सञ्चारकर्मीलाई रोकिनु निन्दनीय भएको बताएका छन् । सुरक्षा नीति तथा सम्वेदनशील कुरामा दखल हुने कार्यक्रममा दूतावासले लिने निर्णयप्रति पूर्ण सम्मान र आदर रहेको स्मरण उनले राजदूत सुवेदीलाई लेखेको पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण गराइएपछि राजदूत सुवेदीले भविष्यमा राजदूतावासले विभिन्न कार्यक्रमहरुमा मिडियासँग सहकार्य गर्ने बारेमा सल्लाह गर्दै जाने बताए । राजदूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणसँग निकट रहेर कार्य गर्दा पत्रकारलाई सहज होला भन्ने आशासमेत उनले राखेका छन् । यसबारे नेपाल पत्रकार महासँघकाे बेलायत शाखाबाट कुनै टिप्पणी सार्वजनिक भएकाे छैन ।