रोमान्टिक दृष्टिमा डोनाल्ड र मेलानिया

रोमान्टिक दृष्टिमा डोनाल्ड र मेलानिया


donald-trump-melania

गैरराजनीतिक पृष्ठभूमिका अमेरिकी अर्बपति डोनाल्ड ट्रम्प आउँदो जनवरी २० मा राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्दै छन् । विवादास्पद मोडलको छवि बनाएकी ट्रम्पपत्नी मेलानियाले पनि ‘प्रेसिडेन्ट इलेक्ट’ ट्रम्पसँगै अमेरिकी प्रथम महिलाका रूपमा ह्वाइटहाउसमा राज गर्नेछिन् । उमेरले ट्रम्प ७० वर्षका भए भने मेलानिया जम्मा ४६ की भइन् । यस हिसाबमा उनीहरूको जोडी स्वाभाविक लाग्दैन, तर एघार वर्षअघि वैवाहिक सम्बन्धमा गाँसिएका उनीहरू मेलानियाबाट जन्मेका दशवर्षे पुत्रसहित सुखी जीवन बिताइरहेका छन् । अत्यन्त सनसनीपूर्ण परिवेशबाट गुज्रँदै अमेरिकको ४५औँ राष्ट्रपति चुनिएका ट्रम्प र ‘मोडल’ मेलानियाबीच सँगै जीवन गुजार्नेसम्मको सम्बन्ध कसरी सुरु भयो होला भन्ने जिज्ञासा धेरैमा यतिबेला जागेको हुन सक्छ ।

सन् १९९८ को नोभेम्बरमा आयोजित एक फेसन विक पार्टीमा डोनाल्ड ट्रम्प र मेलानिया नासको भेट भएको थियो । मेलानिया त्यसबेला भर्खर २८ वर्ष पुग्दै थिइन् भने उनीभन्दा २४ वर्ष जेठा ट्रम्प भने पहिले नै चार सन्तानका बाबु बनिसकेका थिए । मार्ला मेपल नामकी पत्नीसँग ट्रम्पको पारपाचुकेको प्रक्रिया चलिरहेको थियो, जतिबेला मेलानियालाई भेटेर मित्रताको हात बढाउने कसरत उनी गर्दै थिए ।

प्रसिद्ध टेलिभिजन–व्यक्तित्व ल्यारी किङसँगको एक अन्तर्वार्ताका क्रममा ट्रम्पले बताएअनुसार फेसन विक पार्टीमा मेलानियानजिकै अर्की एक सुपर मोडल बसिरहेकी थिइन् । तिनलाई भेट्ने कार्यक्रम थियो ट्रम्पको । तर, सँगै बसेकी मोडल मेलानियालाई देखेर डोनाल्ड मोहित बन्न पुगे । केहीबेर यताउतिको कुरापछि नै उनले मेलानियाबारे थोरबहुत जानकारी पाए । उनी गजबकी मोडल हुन् भन्ने थाहा पाएपछि ट्रम्पले उनको नम्बर मागे, तर तत्काल आफ्नो नम्बर दिइनन् मेलानियाले । आफू अर्कै व्यक्तिसँग डेटमा रहेको प्रस्ट्याउँदै उनले आफ्नो नम्बर तत्काल नदिने भन्दै उल्टै ट्रम्पको नम्बरचाहिँ दिइराख्न भनिन् । ट्रम्पसँग मेलानियाको पहिलो वार्तालाप यस्तै–यस्तै नै रह्यो ।

एउटा नम्बर मागेकी मेलानियालाई डोनाल्ड ट्रम्पले घर, कार्यालयलगायत भएभरका सम्पर्क नम्बर दिए । त्यो भेटपछि मेलानिया क्यारिबियनतिर फोटोसुटका लागि गइन् । त्यसको केही दिनपछि नै उनले डोनाल्डलाई फोन गरिन् । सुन्दरी मेलानियाको फोन पाएर ट्रम्प दङ्गदास भए । ट्रम्पको उल्लास देखेर मेलानिया पनि प्रफुल्ल भइन् । दुवैले निकैबेर कुराकानी गरे र उनीबीच दोस्ती सुरु भयो ।

नब्बे दशकको उत्तराद्र्धको त्यो समय, पहिलो डेटमा ट्रम्पले मेलानियालाई डिनरपछि न्युयोर्कको मुम्बा रेस्टुरेन्टमा लिएर गए, जुन रेस्टुरेन्ट प्रसिद्ध सेलिब्रेटीहरूले भरिभराउ हुन्थ्यो । ट्रम्पजत्तिका धनाढ्यको त्यसअघि सङ्गत नपाएकी मेलानियाको निम्ति त्यो अवसर अपूर्वको थियो । अझै पनि उनी त्यो साँझलाई जीवनकै अविष्मरणीय रमाइलो साँझको रूपमा सम्झिरहन्छिन् ।

यसरी मौलाउन पुगेको उनीहरूको दोस्ती निकै वर्ष चल्यो, तर दुईबीच कुनै मनमुटाव वा तिक्तता भएन । यसरी भेटको निकै वर्षपछि मात्र डोनाल्ड र मेलानियाले इन्गेजमेन्ट गरे । सन् २००४ को कुरा थियो यो, र अर्को साल त उनीहरू वैवाहिक बन्धनमा बाँधिइहाले । रोचक कुरा के भने, यसपालिको राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी रहेकी हिलारी क्लिन्टन आफ्ना पूर्वराष्ट्रपति श्रीमान् बिल क्लिन्टनसहित ट्रम्पजोडीको वैवाहिक समारोहमा विशेष पाहुनाका रूपमा उपस्थित थिए ।

बिहेपछि ढिला नगरी सन् २००६ मा ३६ वर्ष पुगेकी मेलानियाले छोरा ब्यारोनलाई जन्म दिइन् । मोडलिङमा करिअर जमाएकी सुन्दरी भएर पनि छोराको स्याहारसुसारमा मेलानिया निकै ध्यान दिन्छिन् । स्लोभानियामा जन्मेर अमेरिका पुगेकी उनले पुत्र ब्यारोनलाई स्लोभानियन भाषा पनि सिकाएकी छिन् । प्रतिभाशाली सुन्दरी मेलानिया स्लोभानियन, फ्रेन्च, इटालियन र इङ्ग्लिस भाषा राम्रोसँग बोल्छिन्, जब कि ट्रम्पलाई अङ्ग्रेजीबाहेक अरू भाषा आउँदैन ।
आफ्ना सौताने सन्तानहरूलाई पनि मेलानिया मायालु नजरले व्यवहार गर्छिन् । उनीहरू हुर्किसकेकाले आमाभन्दा पनि साथीजस्तो व्यवहार गर्छिन् उनी । ट्रम्पकी पूर्वपत्नीसँग उनको भेटघाट छैन । ट्रम्पको पूर्वजीवन कहानी भन्दै त्यता खासै ध्यान दिनै चाहन्नन् मेलानिया । उनका निम्ति ट्रम्प निकै रोमान्टिक पति हुन् ।

अमेरिकाका प्रथम पुरुष बन्न पुगेका डोनाल्ड ट्रम्प न्युयोर्कको व्यापारिक घरानामा जन्मिएका हुन् भने फस्र्ट लेडी मेलानिया नाउसचाहिँ पूर्वयुगोस्लाभियाको नोभो मेस्टोमा जन्मिएकी हुन् । स्लोभाकियाबाट मोडलिङमा भविष्य खोज्दै मिलान, पेरिस, न्युयोर्कसम्मको लामो यात्रा तय गरेकी उनी व्यापारिक जीवनको उतारचढाव, दुई असफल विवाह र अनेक विवादमा घेरिँदै बाँचिरहेका ट्रम्पसम्म पुगेकी हुन् ।

पति धनी छन् भन्दैमा जथाभावी खर्च गरिहालौँ भन्ने स्वभाव मेलानियाको नरहेको भन्दै पत्नीको मितव्ययी स्वभावको ट्रम्प प्रशंसा गर्छन् । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिको रूपमा एक सफल राष्ट्रपति साबित हुने मेलानियाको विश्वास छ । व्यावहारिक जीवनमा कतिपय आफ्ना कुरा ट्रम्पले सुन्ने र कतिपयचाहिँ नसुन्ने गरेको सम्झँदै उनी भन्छिन्, ‘मलाई लागेको कुरा सेयर त गर्नेछु तर यस्तै गर्नुपर्छ भनी कुनै दबाब दिनेछैन ।’
– एजेन्सीहरूबाट