मल्ट्री इन्ट्री भिसाको प्रक्रिया लम्बिँदा व्यवसायी चिन्तित

मल्ट्री इन्ट्री भिसाको प्रक्रिया लम्बिँदा व्यवसायी चिन्तित


rasuwagadhi

नेपाल–चीन प्रवेशको लागि हाल सञ्चालनमा रहेको एक मात्र रसुवागढी नाकाबाट चीन प्रवेशका लागि सुरु गरिएको मल्ट्री इन्ट्री भिसाको प्रक्रिया लम्बिएको छ । आवेदन दिएको एक महिनासम्म पनि कसैलेसो भिसा प्राप्त गर्न सकेका छैनन् । रसुवा जिल्ला प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरी भिसाको लागि एक महिनाअगाडि सिफारिससहित गृह मन्त्रालय पठाएको थियो । सो प्रक्रिया अहिलेसम्म नटुंगिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीे बताए ।

ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरी दुई सय ४१ थान आवेदन दर्ता गरी भिसाको लागि गृहमन्त्रालय पठाइएकोमा गृह र परराष्ट्र मन्त्रालयबीच छलफल भइरहेको उनको भनाई छ । परराष्ट्रमार्फत चीनको अध्यागमन पुगेपछि मात्र सो भिसाको प्रक्रिया सुरु हुने जिल्ला प्रसासन कार्यालय रसुवाले जनाएको छ । रसुवाले तीनसय जनाका लागि सो भिसा आवश्यक रहेको दाबी गरिरहेको छ । सो भिसा प्राप्त गरिसकेपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालकहरू केरुङ आवतजावत गर्न पाउने छन् ।

भिसाको लागि असोज महिनासम्मको समय लाग्ने जानकारी आएको रसुवाका सहायक प्रजिअ दीपक केसीले जानकारी दिए । तर, व्यवसायीहरू भने बडादशैंमा सामान आयात गर्न समस्या रहेको भन्दै चिन्तित बनेका छन् । नेपाल सरकारले तत्काल तदारुकता देखाएर भिसाको प्रक्रिया सुरु गर्नुपर्ने उनीहरूको माग छ ।

सिफरिस भएकामा एकसय २२ थान आवेदन चालकको र एकसय १९ थान यातायात तथा उद्योगी व्यवसायीको रहेको छ । रायसुझावसहित गृहमन्त्रालयमा आवेदन पठाइएको हो । तर, भिसा कहिले पाइने हो ठेगान छैन । ती आवेदन गृहमन्त्रालय हुँदै सिमा प्रशासन, परराष्ट्र मन्त्रालय हँुदै चीन पक्षसँग पुग्ने जनाइएको छ । सहज रुपमा मल्ट्री इन्ट्री भिसाका लागि गृहमन्त्रालय, पररष्ट्र र वाणिज्य मन्त्रालयले सहजीकरण गरिरहेको रसुवा प्रशासनले जनाएको छ ।

सरकारीस्तरमै छलफल भइरहेका कारण असोज महिना भित्रमा मल्ट्री इन्ट्री भिसा प्राप्त हुने जनाइएको छ । रसुवागढी नाकाबाट नेपालीलाई चीन प्रवेशको लागि हालसम्म चिनीयाँ पक्षले व्यवहारिकता हेरेर मात्र केरुङसम्म प्रवेश दिँदै आएको थियो ।

चीनले मल्ट्री इन्ट्री भिसा प्रदान गरेपछि व्यापारिक कारोबार गर्न सुविधा पुग्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवा प्रशासनमा मल्ट्री इन्ट्री भिसाको सिफारिसका लागि निवेदन परेका सबै आवेदन गृहमन्त्रालय पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए । व्यापारी, कन्टेनर, उद्योगी तथा चालहकहरूको सो आवेदन गृहमन्त्रालयमा पठाइएकोे बताए । गृहमन्त्रालयले भने मल्ट्री इन्ट्री भिसाका लागि परराष्ट्र मन्त्रालयलाई प्रदान गर्ने नीति रहेको छ ।

परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षलाई मल्ट्री इन्ट्री भिसाका लागि अन्तिम सिफारिससहित पठाउने जनाइएको छ । परराष्ट्र मन्त्रालयले चीनको अध्यागमनलाई पठाउने र भिसा प्रक्रिया सुरु हुने प्रजिअ अधिकारीले बताए । रसुवा प्रशासनले रसुवामा दर्ता भएका आठ वटा ट्रक कन्टेनर व्यवसायी संघसंस्था, रसुवा उद्योग वाणिज्य संघ, नेपाल–चीन उद्योग व्यापार संघ, हिमालय सिमा व्यापार संघलगायत संघसंस्थामार्फत मल्ट्री इन्ट्री भिसाको सिफारिसका लागि आवेदन दर्ता गरेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङ बताउँछन् । उनका अनुसार उद्योग वाणिज्य संघमार्फत मात्र एकसय थान निवेदन दर्ता गरिएको थियो ।

सो आवेदन नेपालका सबैले दिन सक्ने रसुवा प्रशासनले जनाएको छ । तर, रसुवामा दर्ता भएका आठवटा ट्रक कन्टेनर व्यवसायी संघसंस्थाहरूले भने सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै सञ्चालन भएका ट्रक कन्टेनरलाई भने सञ्चालन गर्न नदिने जनाएका छन् ।

गोसाइँकुण्ड, पासाङल्हामु ट्रक कन्टेनर व्यसायी संघलगायतले तातोपानी नाकामा सञ्चालित ट्रक कन्टेनरहरूले महिनाको तीन पटक केरुङ पुगेर सामान आयातनिर्यात गरिरहेका छन् । तर, रसुवामा दर्ता भएका आठ वटा ट्रक कन्टेनर व्यवसायी संघसंस्थाका ट्रक कन्टेनरहरूले भने महिनाको एक पटक मात्र सामान आयातनिर्यात गर्न पाएको गुनासो गोसाइकुण्ड ट्रक कन्टेनर व्यवसायी समितिका सचिव अशोक अधिकारीले बताए ।

उनले रसुवागढीबाट यसअघि, तातोपानी नाकामा सञ्चालन भइरहेका ट्रक कन्टेनरलाई
रसुवागढी नाकामा प्रवेश गर्न दिन नहुने आफुहरूको माग रहेको बताएका छन् । उनीहरूको मागलाई मुख्य राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी तथा नयांशक्ति पार्टीले पनि समर्थन गरेका छन् । यसो गर्दा सिण्डिकेट हुने तातोपानीमा सञ्चालनका हुँदै आएका ट्रक कन्टेनर व्यवसायीहरूले बताएका छन् । आफुलाई यसको आधिकारिक जानकारी नभएको दाबी गर्दै रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले सिण्डिकेट कानुन विपरित भएको बताए ।

काठमाडौंबाट एकसय ५५ किलोमिटर दुरीमा रहेको रसुवागढी नाका नेपाल–चीन प्रवेशको छोटो तथा ठुलो नाका हो । सो नाकाबाट गत वर्षदेखि आयातनिर्यात औपचारिक रुपमा सञ्चालन गरिएको थियो ।
हाल सिन्धुपाल्चोकतर्फको तातोपानी नाका वन्द रहेको अवस्थामा एकमात्र रसुवागढी नाका सञ्चालनमा रहेको छ । नाकाबाट सहज व्यवस्थापनको लागि नेपाल तथा चिनीया पक्षसँग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ ।

नेपालीले चीनबाट मल्ट्री इन्ट्री भिसा पाएपछि द्विपक्षिय व्यापारमा निकै वढोत्तरी आउने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए । चीनले दिने मल्ट्री इन्ट्री भिसाको अवधि ६ महिनाको हुने जनाइएको छ । सो भिसाबाट चीन प्रवेश गर्ने उद्योगी, व्यवसायी, कन्टेनर सबैलाई सुविधा पुग्ने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए । हाल रसुवागढी नाका हुँदै केरुङ प्रवेशको लागि रसुवावासीलाई परिचय पत्र तथा अन्य व्यक्तिलाई एक दिने प्रवेश पास मात्रको व्यवस्था रहेको छ ।

चीनको केरुङ नाका प्रवेशको मल्ट्री इन्ट्री भिसाका विषयमा ट्रक कन्टेनर व्यावसायीहरूले सिण्डिकेट लगाउन खोजेको अरोप लागेको छ । मल्ट्री इन्ट्री भिसाका विषयमा गोसाइँकुण्ड कन्टेनर व्यवसायी समितिले गाडी संख्याको आधारमा कोटा पाउनुपर्ने जनाएको थियो । मल्ट्री इन्ट्री भिसाका लागि आवेदन दिएकामा ८० प्रतिशत कन्टेनर तथा मालवाहक गाडीका चालक तथा २० प्रतिशत उद्योगी व्यापारीहरू रहेका छन् । रसुवागढीमा सन्चालित मैत्री र जनमुखी दुई कन्टेनर व्यवसायी संघले भिसा दामासाही हुनुपर्ने भनेपछि विवाद बढेपनि समाधानको पहल भइरहेको रसुवा उद्योग वाणिज्य संघले जनाएको छ ।
सरकारको पहलमा चीनबाट नेपालका व्यवसायीलाई मल्ट्री इन्ट्री भिसा उपलब्ध गराउँछ । यसबाट नेपाल–चीन व्यापार गर्न सहज हुने केरुङ व्यापारी भवनाथ पौडेल बताउँछन् ।
– देवचन्द्र भट्ट (त्रिशुली, नुवाकोट)