अध्यक्षज्यू, आगे तपाईंकै मर्जी !

अध्यक्षज्यू, आगे तपाईंकै मर्जी !


kp-paudel

– कृष्णप्रसाद पौडेल

कुनै पनि व्यक्तिलाई आफ्नो सपनाको शिखर चुम्ने रहर हुनु अस्वाभाविक होइन र त्यो सपनालाई साकार पार्न वर्षौं कठोर परिश्रम गर्न ऊ पछि पर्दैन । तर, सबै मानिसलाई त्यो सफलता हात लाग्न मुस्किल पर्छ । केही व्यक्तिलाई मात्र त्यो सफलता प्राप्त हुन्छ । जब उसले प्राप्त गर्नुपर्ने सर्वोच्च स्थान हासिल गर्छ र त्यसभन्दा अर्को प्राप्तिको कुनै आशा बाँकी रहन्न उसका लागि त्यो उचाइको मर्यादा जोगाउनु नै सर्वाधिक महत्वपूर्ण र कठिन कार्य बन्न जान्छ । विश्वका जुनजुकै व्यक्तिमा लागू हुने त्यो अवस्था नेपालका राजनीतिज्ञमा पनि लागू नहुने होइन ।

ओठमा जुँगाको रेखी बसेदेखि नै राजनीतिमा होमिएका केही व्यक्ति अनेक जेलनेल, भूमिगत जीवनजस्ता कठोर सङ्घर्षपछि जीवनको उत्तरार्धमा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीजस्तो गरिमामय पदमा पुगेका दृष्टान्त पनि छन् । तर, त्यस ठाउँमा पुगिसकेपछि उनीहरूले आफ्नो व्यवहारको कारण त्यो मर्यादा जोगाउन नसकेका दृष्टान्त प्रस्तुत हुँदा उनीहरूप्रति भरोसा राख्ने ठूलो सङ्ख्याको जनपङ्क्ति पनि विचलित हुन पुग्छ । हो यहाँ यस्तै विशिष्ट व्यक्ति पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबारे केही उल्लेख गर्न लागिएको हो ।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा कठोर परिश्रम, मिहिनेत, जेलनेलका साथ पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नु ओलीका लागि मात्र नभएर तमाम झापालीका लागि खुसी र गौरवको विषय बनेको थियो । केपी ओलीका लागि किशोरावस्थादेखिको प्रयत्नले जीवनको उत्तरार्धतिर प्राप्त गरेको शिखर चुमाइ अन्य पार्टीका नेताहरूका लागि पनि लोभलाग्दो र इष्र्याजनक नै रह्यो । तर, उहाँले त्यो सफलता हासिल गर्न जुन पसिना बगाउनुभयो, जुन यातना भोग्नुभयो, जेलनेलको कालकोठरीमा जुन १४ वर्ष बिताउनुभयो त्यसबाट प्राप्त उपलब्धिलाई जोगाइराख्नमा खासै हेक्का राख्न नसक्नुभएको अनुभूत भइरहेको छ । शिखर चुमेपछि उहाँले अन्य पार्टीका नेता–कार्यकर्तालाई लिलिपुट देख्न थाल्नुभएको छ । उहाँ प्रधानमन्त्री भएका बेला र प्रधानमन्त्री पदबाट बहिर्गमित भइसकेपछि पनि कतिपय अवस्थामा उहाँबाट व्यक्त विचार सुन्दा के यो ओलीले सोचविचार गरीकनै दिएका अभिव्यक्ति हुन् त भन्ने लाग्छ ।

हो, उहाँ प्रधानमन्त्री भएका बेला देशको अवस्था पनि प्रतिकूल नै थियो । सरकार उहाँको पार्टीको एकलौटी पनि थिएन । संसद्मा १ सिट मात्र जित्ने पार्टीको सांसदलाई पनि आफ्नो सरकारको स्थायित्वका लागि मन्त्री बनाउन उहाँ बाध्य हुनुभएकै हो । मित्रराष्ट्रले अघोषित नाकाबन्दी गरेर स्थितिलाई अझ गभीर तुल्याएकै हो । विनाशकारी भूकम्पका कारण जनता घरबाट सडक र बारीका पाटामा पालमुनि पुगेकै थिए । यस्तो अवस्थामा जनताले देशको प्रधानमन्त्रीबाट के अपेक्षा गरेका हुन्छन् र प्रधानमन्त्रीका प्रत्येक अभिव्यक्तिको सकारात्मक–नकारात्मक प्रभाव के पर्छ त्यो बताइरहनुपर्ने विषय होइन र स्वयम् राजनीतिका चतुर खेलाडी ओलीलाई पनि यो हेक्का नहुने विषय होइन ।

KP-OLi

उट्पट्याङ–उट्पट्याङ कुरा गर्न पूर्वप्रधानमन्त्री र एमाले अध्यक्षजस्तो व्यक्तिलाई कुनै कोणबाट पनि सुहाउने कुरा होइन । प्रधानमन्त्री भएका बेला नाकाबन्दीका कारण जनताले एक सिलिन्डर ग्यास नपाएर दाउरा बालिरहँदा ‘अब काँधमा सिलिन्डर बोकेर हिँड्ने दिन गए, जनताका भान्सा–भान्सामा ग्यासको पाइपलाइन ल्याइनेछ, जति प्रयोग गर्नुहुन्छ गर्नुहोस्, बिजुलीको जस्तै मिटरमा उठेको बिल तिर्नुहोस्’ भन्नुभयो । आहतमा परेर राहतको प्रतीक्षामा बसेका जनताप्रति योभन्दा कठोर मजाक अरू के हुनसक्छ ? तत्कालको अवस्थामा एक सिलिन्डर ग्यास जनताको आवश्यकता हो कि भान्सा–भान्सामा जोडिने ग्यासको पाइपलाइन । हो– विचार उन्नत हुनैपर्छ, सपना देख्नैपर्छ । तर, त्यतिबेला प्रधानमन्त्रीजस्तो दपमा रहेको व्यक्तिले जनताको भावनामाथि खेलवाड गर्न मिल्थ्यो ? उहाँले भनेजस्तो अवस्थामा देश पुग्न कस्ता–कस्ता भौतिक संरचना निर्माण गर्नुपर्छ । त्यसका लागि पर्याप्त रकम नै भए पनि ती संरचना निर्माण गर्न कति समय लाग्छ– खोइ उहाँले हेक्का राखेको ?

देशको उच्च ओहोदामा बसेका व्यक्तिका कमजोर पाटालाई खोतलखातल पारेर नाटकीय रूपमा प्रस्तुत गर्ने र नेताहरूलाई खबरदारी गर्न त हास्य कलाकार धुर्मुस (यहाँ समाजसेवी सीताराम कट्टेलको कुरा गरेको होइन) हरू नै पर्याप्त छन् नि । त्यस्ता उट्पट्याङ–उट्पट्याङ कुरा गर्न पूर्वप्रधानमन्त्री र एमाले अध्यक्षजस्तो व्यक्तिलाई कुनै कोणबाट पनि सुहाउने कुरा होइन । प्रधानमन्त्री भएका बेला नाकाबन्दीका कारण जनताले एक सिलिन्डर ग्यास नपाएर दाउरा बालिरहँदा ‘अब काँधमा सिलिन्डर बोकेर हिँड्ने दिन गए, जनताका भान्सा–भान्सामा ग्यासको पाइपलाइन ल्याइनेछ, जति प्रयोग गर्नुहुन्छ गर्नुहोस्, बिजुलीको जस्तै मिटरमा उठेको बिल तिर्नुहोस्’ भन्नुभयो । आहतमा परेर राहतको प्रतीक्षामा बसेका जनताप्रति योभन्दा कठोर मजाक अरू के हुनसक्छ ? तत्कालको अवस्थामा एक सिलिन्डर ग्यास जनताको आवश्यकता हो कि भान्सा–भान्सामा जोडिने ग्यासको पाइपलाइन । हो– विचार उन्नत हुनैपर्छ, सपना देख्नैपर्छ । तर, त्यतिबेला प्रधानमन्त्रीजस्तो दपमा रहेको व्यक्तिले जनताको भावनामाथि खेलवाड गर्न मिल्थ्यो ? उहाँले भनेजस्तो अवस्थामा देश पुग्न कस्ता–कस्ता भौतिक संरचना निर्माण गर्नुपर्छ । त्यसका लागि पर्याप्त रकम नै भए पनि ती संरचना निर्माण गर्न कति समय लाग्छ– खोइ उहाँले हेक्का राखेको ?

यस्तै प्रकारको जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने लोडसेडिङबारे उहाँले अर्को मजाक गर्नुभएको छ । देशमा ८४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनसक्ने जलस्रोतको पर्याप्त भण्डार छ, तर उहाँ हावाबाट बिजुली निकालेर जनताका घरघरमा वितरण गर्ने कुरा गर्नुहुन्छ । आँखैअघि भएको स्रोतलाई प्रयोग गर्न नसक्नेले सम्भावित (सम्भव हुने हो वा होइन) सपना जनतालाई किन देखाउनु । यदि लगानीको उचित संरक्षण र प्रतिफलको ग्यारेन्टी सरकारले दिन सक्ने हो भने विद्युत् उत्पादनका लागि नेपाली जनताबाटै भनेजति लगानी जुटाउन सक्ने अवस्था समय–समयमा विभिन्न हाइड्रोपावरले आह्वान गरेका सेयरहरूले नै प्रमाणित गरिसकेका छन् ।
त्यसैगरी भएको सम्झौताअनुसार प्रधानमन्त्री पद प्रचण्डलाई हस्तान्तरण नगरेपछि (सम्झौता भएको थियो कि थिएन उहाँहरूले नै जान्ने कुरा हो, बाहिर आएको हल्ला यहाँ उठान मात्र गरिएको हो) उहाँ प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य हुँदा पनि एक सच्चा राष्ट्रवादीको छवि बनाउन सफल हुनुभएकै हो । तर, त्यसयताका कतिपय अभिव्यक्ति पनि उहाँको पद, मर्यादा र प्रतिष्ठा प्रतिकूल देखि“दै आएका छन् । यस्तै एउटा अभिव्यक्ति हो प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका बेला व्यक्त विचार । त्यसबेला उहाँले कुनै कामै नभएका बेला किन भारत जानुपरेको होला, यो भ्रमण केवल सिंगडा खानका लागि मात्र हो भन्ने आसयको विचार व्यक्त गर्नुभयो । तर, त्यो अभिव्यक्ति स्वययम् ओलीको पद, प्रतिष्ठा र मर्यादा जोगाउन कति कामयावी रह्यो ? यस्ता कुरामा ओली आफैले हेक्का राखे तपाईंकै कल्याण हुन्छ जस्तो लाग्छ ।

त्यसैले फलाना दिन केपी ओलीको फलाना ठाउँमा कार्यक्रम छ, त्यहाँ उनले कसलाई खसाल्न र पखाल्न कस्ता–कस्ता उखान–टुक्कासहितको अभिव्यक्ति दिन्छन् र त्यसको आनन्द लिऔँ भन्ने अवसरको अन्त्य गरिदिनुहोस् । त्यसले सुन्नेलाई केही क्षणिक आनन्द त देला अनि स्रोताका तालीका कारण पनि तपाईंलाई केही समय उत्साही अवश्य बनाउला । तपाईंले रोगलाई जितिसक्नुभएको छ र अझै जनताको भरोसाको केन्द्रभागमै तपाईं हुनुहुन्छ ।

सत्य सधैँ तीतो नै हुन्छ । रोगले थलिएर बसेका बेला उपचारमा प्रयोग गरिने ट्याब्लेट पनि मीठो र स्वादिलो हुँदैन, मन नलागी–नलागी आँखा चिम्लिएर पानीसँग घुटुक्क निल्नुपर्छ । दिमागले सही र गलत छुट्याउन नसकेर उट्पट्याङ–उट्पट्याङ व्यवहार र बोली प्रदर्शन गरिरहेका बेला प्राप्त अर्ती त झन् मानिसका लागि पतनको कारण बन्न सक्छ । तैपनि आफ्ना हितैषी र शुभचिन्तक आफ्नो प्यारो नेताको पतन चाहँदैनन् र सल्लाह र सुझाव दिइरहन्छन् । यस लेखलाई यही रूपमा लिइदिनुहुन आग्रह छ ।

कृपया धुर्मुसहरूको काम उनीहरूकै जिम्मामा छोडिदिनुहोला– त्यसैमा एमाले र तपाईंको कल्याण हुनेछ । नत्र यस्ता अभिव्यक्तिले एमालेले त अर्को नेतृत्व पाउने नै छ स्वयम् तपाईं भने किनारा लाग्ने पक्का छ । यस अवस्थामा तपाईं र तपाईंका शुभचिन्तक हितैषी चुकचुकाउनुको अर्को विकल्प बाँकी रहनेछैन, आगे तपाईंकै मर्जी ।