देशको नाम उच्चारण हुनु नै उपलब्धि !

देशको नाम उच्चारण हुनु नै उपलब्धि !


गौरिका सिंह

हालै सम्पन्न रियो ओलम्पिकमा विश्वका दुई सय ६ मुलुकले सहभागिता जनाएकोमा नेपाल पनि एक थियो । रियो ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता सहभागितामै सीमित बन्नु कुनै नौलो कुरा पनि होइन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा समेत उत्कृष्ट प्रदर्शन गर्न नसकेका नेपाली खेलाडीले ओलम्पिकमा कुनै चमत्कार देखाउने आशा पनि गरिएको थिएन । अझ सातैजना खेलाडी वाइल्ड कार्डमार्फत रियो ओलम्पिक पुगेका हुँदा पदक जित्नु उनीका लागि आकाशको तारै टिपेर ल्याउनुजत्तिकै थियो । साँचो रूपमा त्यसको कल्पना गर्नु पनि मूर्खता थियो । जो आमनेपालीले गरेका पनि थिएनन् । तर, सहभागिताको नाममा चर्चित खेलाडीले आफ्नै राष्ट्रिय रेकर्डसमेत भङ्ग नगर्नु दु:खद् पाटो बन्यो । यस्तोमा नेपालले रियो ओलम्पिकमा कुनै पदक नजिते पनि गौरिका सिंहका कारणले भने नेपालको नाम रियो ओलम्पिकमा बारम्बार उच्चारण भएको थियो । गौरिका रियो ओलम्पिक २०१६ की सबैभन्दा कान्छी खेलाडी भएका कारण नेपालको नाम चर्चामा आएको हो ।

रियो ओलम्पिकमा को गयो, किन गयो, के गर्‍यो ? भन्ने कुराको चर्चा गर्नुभन्दा अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठपत्नी प्रतिभा श्रेष्ठले ओलम्पिक रंगशालामा निदाएर नेपाललाई सुत्ने खेलमा स्वर्ण पदक दिलाएकी छिन् । नेपालबाट ओलम्पिक खेलकुद प्रतियोगिता हेर्न रियो पुगे पनि प्रतिभा ओलम्पिक रंगशालामा निदाएरै खेलकुदको दृश्यावलोकन गरेको उनको तस्बिरले स्पष्ट पारेको छ । विश्वका करोडौँ दर्शकले आँखा च्याती–च्याती टट्याउन्जेल हेरेको उक्त ओलम्पिकलाई प्रतिभाले आयोजनास्थल पुगेर पनि निदाएर हेर्नु आफैँमा एउटा ऐतिहासिक कीर्तिमान बनेको छ । रियो ओलम्पिकमा खेलाडीले राष्ट्रिय कीर्तिमानसमेत तोड्न नसकेको समयमा उनले निदाएर कीर्तिमान बनाउनु नेपालको नभई जीवनरामको भने गौरवको विषय बनेको छ । अब श्रेष्ठलाई पत्नीका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मेरिट अवार्ड दिने पक्का भएको छ ।

अर्को कुरा, यसपटक अवैधानिक ओलम्पिक कमिटीका कति पदाधिकारी जीवनरामको गर्दै रियो ओलम्पिक पुगे, त्यसको बखान गर्नुभन्दा कति प्रशिक्षक जीवनरामको निशानामा परे त्यसको चर्चा गर्नु बेस होला । सर्वप्रथम नेपाल तेक्वान्दो सङ्घले तेक्वान्दोको प्रशिक्षकको रूपमा कोरियन प्रशिक्षक क्वान गुरुलाई सिफारिस गरेको थियो । तर, जीवनरामले कोरियन गुरु क्वानको नाम काटेर संगीना वैद्यको नाम राखेको थियो । अर्को कुरा एथलेटिक्स प्रशिक्षकको रूपमा रियो पुगेका पुष्पराज ओझालाई के आधारले प्रशिक्षक बनाएर जीवनरामले रियो लगे त्यो कसैको समझमा आएको छैन । एउटा राखेपको रिटायर प्रशिक्षकलाई ज्वाइँसरि श्रेष्ठले कसरी सम्मान दिएर लगे त्यो अहिले चर्चाको विषय बनेको छ । कतै उनी एमालेभन्दा पनि जीवनरामका हनुमान त होइनन् प्रश्न खडा भएको छ । त्यस्तै अर्को सनसनीपूर्ण कुरा नेपाल पौडी सङ्घले ईश्वर कार्कीलाई पौडीको प्रशिक्षकको रूपमा ससम्मान रियो लगे पनि रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहले कार्की आफ्नो प्रशिक्षक नभएको बताएपछि सनसनी फैलिएको थियो ।

खेलाडी उत्पादन र प्रशिक्षणमा नेपाल सरकारको योगदान र लगानी मात्रै छ भन्दा अतिसयोक्ति नहोला । यसर्थमा कि अहिलेसम्म जे–जस्तो अवस्थामा भए पनि सरकारले समग्र नेपाली खेलकुदको विकासको बिँडो सम्हाल्दै आएको छ । तर, विडम्बना, पुँजीको लगानी सरकारले गर्ने ब्याज खाने काम भने अवैधानिक ओलम्पिक कमिटी र त्यसका पदाधिकारीले गर्दै आएका छन् । त्यसको सानो उदाहरण रियो ओलम्पिकमा जीवनरामका हनुमानहरूको सहभागितालाई नै लिन सकिन्छ । ओलम्पिक तयारीका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट हजारौँ डलर आउने भए पनि ओलम्पिक कमिटीले खेलाडीको तयारीका लागि अहिलेसम्म एकसुको खर्च गरेको छैन । गरेको भए आईओसीबाट कति सहयोग आयो, कति खर्च भयो त्यसको जानकारी मिल्थ्यो र नेपाल सरकारलाई समेत त्यसको जानकारी हुन्थ्यो । तर, रियो जाने ओलम्पिक पदाधिकारीहरूको टिकटमा समेत घोटाला गर्ने र भाग खोज्ने जीवनरामले आईओसीबाट आएको रकम देखाउने त कुरै भएन । भोलि यो रकमबारे खोजी भए जीवनरामले जाली अडिट आईओसीमा पठाउने पक्का छ ।

– श्रीविक्रम भण्डारी