बुद्धत्व प्राप्त गर्न सरकारी सहयोग आवश्यक नपर्ने गुरु आदित्यको सन्देश

बुद्धत्व प्राप्त गर्न सरकारी सहयोग आवश्यक नपर्ने गुरु आदित्यको सन्देश


Aditya Dahal

कतिपयले भगवान्को रूपमा समेत मानेका गुरु आदित्यले सरकारद्वारा उपलब्ध गराइएको रु. एक करोड अशक्तहरूको सहयोगमा खर्च गर्न सरकारलाई सुझाव दिनुभएको छ । आफ्नो उपचारका लागि गत वर्ष उपलब्ध गराइएको रकममध्ये खर्च नभएको साठी लाख रुपैयाँभन्दा बढी उहाँले केहीअघि नै सरकारलाई फिर्ता गरिसक्नुभएको छ । केपी ओली नेतृत्वको सरकारले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको समेत सहमतिमा गुरु आदित्यको प्रतिष्ठानलाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गत महिना गरेको थियो ।

सरकारको यस्तो निर्णयपछि सामाजिक सञ्जालहरूमा यस विषयलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेको थियो । सामाजिक सञ्जालहरूमा अस्वाभाविक टीका–टिप्पणी हुनु पहिले नै गुरु आदित्यले आफ्ना शिष्यहरूलाई सरकारद्वारा उपलब्ध गराइएको रकमबारे गम्भीरतापूर्वक विचार गर्न सुझाव दिनुभएको थियो । बुद्धत्व प्राप्त गर्न बुद्धले पनि सरकारबाट आर्थिक सहयोग लिनु नपरेको ठान्नुहुने गुरु आदित्यले सरकारले आफ्नो प्रतिष्ठानका लागि उपलब्ध गराएको रकम आफूजस्तै अशक्तहरूको सहयोगका लागि खर्च गर्नु उपयुक्त हुने चाहना राख्नुभएको बुझिएको छ । प्राप्त जानकारीअनुसार उहाँ आफ्नाबारेमा सञ्चारमाध्यमहरूमा केही आएको रुचाउनुहुन्न । गुरु आदित्यले शिष्य र शुभचिन्तकहरूमार्फत विभिन्न सन्देशहरू दिने गर्नुभएको छ । यसैबीच प्राप्त जानकारीअनुसार उहाँले आफ्ना एक शिष्यको जिज्ञाशा मेट्ने क्रममा ‘आगामी दश वर्षसम्म नेपालका राजनीतिज्ञहरूको भविष्य आफूले राम्रो नदेखेको’ सन्देश दिनुभएको छ । तर, सन्देशको व्याख्या भने उहाँले गर्नुभएको छैन ।