‘मोदी मनैबाट खुशी हुनुभयो’ : उपप्रधानमन्त्री निधि

‘मोदी मनैबाट खुशी हुनुभयो’ : उपप्रधानमन्त्री निधि


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा चारदिने भ्रमणमा भारत पुगेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेर स्वदेश फर्किएका छन् । उनले आफ्नो भारत भ्रमण पूर्ण रूपमा सफल भएको दाबीसमेत गरेका छन् । नयाँदिल्लीमा रहँदा पत्रकार ऋषि धमलाले उपप्रधानमन्त्री निधिसँग गरेको विशेष कुराकानीको सम्पादित अंश :
bimalendra nidhi
० तपाईंको भारत भ्रमण कसरी सफल भयो ?
– वास्तवमै मेरो भारत भ्रमण निकै सफल भएको छ । म प्रधानमन्त्रीको विशेष दूत बनेर भारत भ्रमण गर्नुको मुख्य उद्देश्य संविधान कार्यान्वयनका लागि सहमति जुटाउनु नै हो । अहिलेको सरकारको मुख्य प्राथमिकता पनि हो यो । मधेसी मोर्चासँग तीनबुँदे सहमति भएको छ । सहमति कार्यान्वयन गर्न संविधान संशोधन गरेर अघि बढ्नुपर्छ । र, ०७४ माघभित्रै तीनवटै निकायको चुनाव गराउनुपर्छ । यसको साथसाथै नेपाल–भारत सम्बन्धलाई पनि सुमधुर बनाउनु नै छ । यसका लागि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण गराउनु पनि मेरो भ्रमणको उद्देश्य हो । मैले भारत रहँदा यहाँका सबै प्रमुख नेताहरूसँग भेटवार्ता गरेँ । यो भेटघाट साधारण भेटघाट मात्रै होइन, उहाँहरूले मलाई भव्य स्वागत गर्नुभएको छ । नेपाल सरकारले अहिले निर्धारण गरेको प्राथमिकतालाई पूरै समर्थन गर्ने भनी मलाई आश्वस्त पार्नुभएको छ ।

० उसो भए तपाईंको यो भ्रमणपछि नेपाल–भारत सम्बन्धमा देखिएको चिसोपना अन्त्य भयो भन्दा हुन्छ ?

– हो, अब यसो भन्दा हुन्छ । नेपाल–भारत सम्बन्ध अब समझदारीतर्फ अघि बढेको छ । नेपालमा भारतीय प्रधानमन्त्री मोदीजीको जुन भ्रमण भएको थियो, अहिले त्यही स्तरबाट द्विपक्षीय सम्बन्ध अघि बढेको छ । अब नेपाल–भारत सम्बन्ध नयाँ शिराबाट अगाडि बढ्यो ।

० दुई देशबीच देखिएका सबैखाले असमझदारी हट्यो त अब ?
– मेरो यो भ्रमणसँगै असमझदारी हटेको छ । अझै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र नेपालको राष्ट्रपतिको भारत भ्रमण भएपछि झनै यसलाई पुष्टि गर्छ ।

० नेपालको संविधान संशोधनबारे भारतीय नेताहरूले के भने नि ?
– संविधान संशोधन गर्ने विषय नेपालको आन्तरिक मुद्दा हो । नेपालभित्र नै यो संविधान संशोधन हुनुपर्छ । संविधानको सर्वस्वीकार्यताका लागि पनि संशोधन गर्नुपर्छ । मैले त यसबारेमा पहिला पनि कुरा उठाउँदै आएको छु । मलाई लाग्छ संविधान संशोधन गर्न दुईतिहाइ पुग्छ । संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि हामी एमालेसँग सहमति गर्छौं । छलफल गर्छौंं । एमालेलगायत राप्रपा, फोरम लोकतान्त्रिकसँग वार्ता थाल्छौँ । दुईतिहाइ पुर्‍याउने कोसिस गर्छौं ।

० तपाईंले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो गर्नुभएको छ कि छैन ?
– मैले प्रसङ्गवश उहाँलाई पहिला उहाँले गर्ने भनेको लुम्बिनी, जनकपुरलगायतको भ्रमण रोकिएकोबारेमा कुरा उठाएको थिएँ । मोदीजीको जनकपुर भ्रमणबारे कुरा उठाउन मैले प्रधानमन्त्री प्रचण्डजीसँग पनि अनुमति लिएको थिएँ । सोहीअनुसार मैले उहाँसँग यो कुरा उठाएको छु । मोदीजीले नेपालप्रति यस्तो सद्भाव देखाउनुभएको छ । विदेशमन्त्री सुष्मा स्वाराजले भारतको अन्य देशमा व्यापारिक सम्बन्ध छ, तर नेपालसँग त विशेष किसिमको सम्बन्ध रहेको छ भन्नुभएको थियो । त्यस्तै मोदीजीले पनि नेपालप्रति विशेष सद्भाव राख्नुभएको छ । उहाँले नेपालमा चाँडै स्थिरता होस् भन्ने चाहनुभएको छ । संविधान सबैका लागि सर्वस्वीकार्य होस्, नेपालको शान्तिप्रक्रिया दुनियाँका लागि अनुकरणीय होस् भन्ने चाहनुभएको छ । यो उहाँको सदासयता र राजनीतिक विश्लेषण हो । उहाँले हाम्रो प्रधानमन्त्री प्रचण्डलाई पनि स्वागत गर्न आतुर छु भन्नुभयो । यहीबीचमा मैले पनि उहाँलाई नयाँ निम्तो दिएँ । उहाँलाई मैले जनकपुर भ्रमणका लागि निम्तो दिएँ । खासगरी नेपाल–भारत सम्बन्धमा जुन किसिमको धार्मिक–सांस्कृतिक सम्बन्ध छ, अब यसलाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले मैले उहाँलाई यो प्रस्ताव गरेको हुँ । मैले उहाँलाई विशुद्ध रूपमा स्प्रिच्युअल भिजिटका लागि आग्रह गरेको छु । उहाँ मेरो प्रस्तावलगत्तै मनैबाट खुसी हुनुभयो । उहाँले जनकपुर, मुक्तिनाथ, लुम्बिनी, पशुपतिनाथलगायतको भ्रमण गर्ने विश्वास दिलाउनुभएको छ । उहाँले विशेषगरी मुक्तिनाथको कुरा गर्नुभएको छ । यसर्थ उहाँले यदि साँच्चिकै सांस्कृतिक एवम् धार्मिक भ्रमण मात्रै गर्नुभयो भने पनि यो नयाँ कुरा हुन्छ र नेपाल–भारत सम्बन्धमा जुन किसिमको धार्मिक–सांस्कृतिक गहिरो सम्बन्ध छ त्यो अझ मजबुत हुन्छ । प्रकान्तरमा यसले नेपालको आर्थिक समृद्धिमा पनि टेवा पुर्‍याउँछ ।

० तपाईं र मोदीजीको ४५ मिनेट लामो भेट भयो, तपाईंहरूबीच के–के कुरा भए ?
– यही द्विपक्षीय सम्बन्ध, राजनीतिक चासो, आर्थिक समृद्धिको कुरा भयो । खासगरी हाम्रो प्रधानमन्त्रीले हुलाकी सडकबारे र रेलवेको कुरा गरेँ । भूकम्पपीडितलाई तीन लाख दिने हाम्रो प्रधानमन्त्रीको कुरा छ । त्यसका लागि पनि भारतले सहयोग गरिदिनुपर्‍यो भन्ने मोदीजीलाई कुरा गरेँ । उहाँले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा संविधान निर्माण, शान्तिप्रक्रिया, र विकासको एजेण्डाबारे छलफल भयो । नेपालका लागि जस्तोसुकै सहयोग गर्न पनि भारत तयार छ भनेर उहाँले भन्नुभयो ।

० भारतीय गृहममन्त्री र तपाईंबीच सीमा सुरक्षालगायत अन्य विषयमा पनि छलफल भयो, खासगरी के–के विषयमा तपाईंहरू केन्द्रित हुनुभयो ?

– नेपाल–भारत सम्बन्धको कुरा गर्नुहुन्छ भने सीमा सुरक्षाबारे स्थानीय तहमा द्विपक्षीय समन्वय गर्ने परम्परा छ । तर, हामीले यसलाई अझै मजबुत बनाउनुपर्छ भन्नेमा हामीबीच कुरा भयो । मैले उहाँलाई नेपाल भ्रमणको निम्तो दिएको छु । उहाँको भ्रमणको बेलामा सीमालगायत विभिन्न सुरक्षासम्बन्धी स्पटमा जानेबारेमा कुरा भएको छ ।

० नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको हो ?
– दुवै सरकारले यसबारे तयारी गर्दै छन् । मलाई लाग्छ मिड सेप्टेम्बरमा हुने कुरा भएको छ । भारतीय राष्ट्रपतिको नेपाल भ्रमण र नेपालको राष्ट्रपतिको भारत भ्रमण हुने कार्यक्रम छ ।