काङ्ग्रेसले किन रोज्यो उल्टो बाटो ?

काङ्ग्रेसले किन रोज्यो उल्टो बाटो ?


विमलेन्द्रलाई बिन्ती !

Ratnanidhi Regmi
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

०३७ को वैशाख २० गते राजा वीरेन्द्रबाट जनमतसङ्ग्रहको घोषणा गरिएको थियो । शाही सन्देशमा जनतालाई बहुदल र निर्दलमध्ये एक रोज्ने अधिकार दिइयो । त्यसबेला म आलोकाँचो विद्यार्थी थिएँ, तर मेरो भोट दिने अधिकार भने थिएन । ०३६ को जेठ १० मा जनमतसङ्ग्रहको घोषणा भएपछि पढाइ नै छाडेर बहुदलीय व्यवस्थाको पक्षमा प्रचारप्रसारमा पूरै वर्ष बिताएँ मैले । २०३६ सालको विद्यार्थी आन्दोलनमा लागेबापत परोपकार आ.मा.वि.बाट लगभग निलम्बित नै भएको थिएँ । यसै सिलसिलामा पश्चिम १ नम्बर नुवाकोटका शिक्षासेवी एवम् त्यस भेगका प्रथम वामपन्थी नेता शारदारमण नेपालसित मेरो सम्पर्क थियो । उहाँ कवि पनि भएकाले मेरा केही कविता पढेर मन पराउनुभएको रहेछ । शारदा सरकै आग्रहमा म नुवाकोटको क्षेत्रपाल मा.वि.मा २०३७ को वैशाख ४ गते भर्ना भएँ ।

वैशाख ७ गते हुनुपर्छ, त्यस भेगका नरबहादुरलगायतका पञ्चहरूले ममाथि साङ्घातिक आक्रमण गरे । त्यसबेला म निकै घाइते भएँ । मेरा दुवै आँखाका छाला थिएनन्, शरीर थिलथिलो भएको थियो भने मेरुदण्डको उपचारै गर्नुपर्ने भयो । त्यतिबेला हाम्रो स्कुलबाट म, सुुवास पाण्डे र पद्मलाल चित्रकारलगायत थुप्रै विद्यार्थी वारेन्टेड भयौँ भने शिक्षक चन्द्रकान्त पौडेलमाथि पञ्चायती शासकको गिद्धेदृष्टि पर्न गयो । वैशाख ८ गतेदेखि हाम्रो विद्यालय हड्ताल भयो भने १० वा ११ गतेदेखि नुवाकोट, धादिङ र रसुवा जिल्लाका शिक्षण संस्थाहरू बन्द भए । केही समयपछि त्यो आन्दोलन सम्झौता भई टुङ्गियो । मचाहिँ उपचारका निम्ति काठमाडौंतिर लागेँ ।

आफू वामपन्थी सङ्गठनमा भए पनि मर्दापर्दा कम्युनिस्टहरू कोही पनि काम लागेनन् । त्यसबेला मेरो झापालीहरूसित राम्रो सम्बन्ध भए पनि उपचार गराउन सकिनँ । यस्तैमा मलाई एकजनाले ‘तपाईं बहुदलवादी भएकाले पनि कम्युनिस्टहरूले सहयोग गर्दैनन्, तै काङ्ग्रेसले गरिहाल्छ कि प्रयत्न गर्नुहोस् न’ भने । नभन्दै म हान्निएर बीपीनिवास चाबहिलतिर गएँ । त्यतिबेलासम्म मेरो बीपी कोइरालासित आमने–सामने भेट भएको थिएन । म जाँदा बाहिरपट्टि अग्लो र पातलो शरीरको तर लम्रङ्ग परेको मानिस बीपीको पीएजस्तै गरी बसेका रहेछन् । उनले सबै विवरण लिएर भित्र पसे, त्यसपछि त्यस्तै पातलो शरीर र गोरो अनुहारको व्यक्तिले ढोकाबाट मलाई भित्र आउन अनुरोध गरेपछि म भित्र पसेँ । ती गोरो तथा हँसिलो अनुहार भएका व्यक्ति नै बीपी कोइराला थिए । बीपीको भाषण सुनेको तथा पत्रपत्रिकामा देखिरहेको भए पनि प्रत्यक्ष भेटचाहिँ पहिलो नै थियो । त्यसबेला उहाँलाई सान्दाइ र पुष्पलाललाई माल्दाइ भन्ने चलन थियो । मैले आफ्नो समस्या अवगत गराउन नपाउँदै उहाँले समाचार पढिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हुन त तपाईं अखिलको विद्यार्थी, मैले सहयोग गर्न त कर छैन, तर म सबभन्दा पहिले मानवता हेर्छु, त्यसपछि मात्रै विचार हेर्छु । तसर्थ म अहिले ३ सयजति सहयोग गर्नसक्छु ।’ त्यसपछि बीपीले फोन गर्नुभयो र एउटा कागज दिएर विमलेन्द्र निधिलाई जमलमा भेट्न अह्राउनुभयो ।

Bimalendra-Nidhi

मेरो नामको पछाडि निधि जोडिएर आएकाले उहाँको पनि त्यस्तै होलाजस्तो लागेको थियो । म मनमनै सोच्थेँ किन थरचाहिँ नराखेको होला ? ज्यादाजसो कम्युनिस्टहरू आफ्नो वास्तविक नाम लुकाएर अर्कै नाम राख्थे । उहाँ त नेविसङ्घको केन्द्रीय पदाधिकारी, नाम लुकाउन जरुरी नै थिएन । अर्को कुरा ज्यादाजसो कम्युनिस्टहरूको द्वैधचरित्र हुने भएकाले पनि वास्तविक नाम लुकाउँथे । पञ्चहरूको संरक्षणमा भूमिगत रहन्थे । प्रायस: धनीका छोरीसित लहसिन्थे । पुँजीको विरोध गरेर पैसाका लागि र्‍याल चुहाउँथे । सयजना कम्युनिस्टमा २–४ जना मात्र सद्दे हुन्थे । राजा महेन्द्रले काङ्ग्रेसलाई सखाप पार्न यिनको भरपूर उत्पादनका साथै मलजल हालेका थिए । अहिले पनि उनीहरू ज्यादाजसो दरबारिया पञ्चहरूलाई नै बढी मन्त्री बनाउने गर्छन् । २०५४ मा एमालेले चन्द र २०७२ मा थापालाई शक्तिशाली उपप्रधानमन्त्री बनाएको जगजाहेरै छ । २०५२ मा एमालेले सरकार चलाउँदा राजा महेन्द्रको सालिक जीर्णोद्धार गरेको पनि कतैबाट छिपेको छैन । बेलाबखत यिनीहरू दरबारको नुनको गुन तिर्ने पनि गर्छन् । यसो भएर कम्युनिस्टहरूले आफ्नो वास्तविक नाम लुकाउँथे । म ११–१२ वर्षकै उमेरदेखि राजतन्त्रको समर्थक थिइनँ । करिब १३ वर्षको छँदा जनवादी गणतन्त्र परिषद् संखुवासभा भन्ने लेखेबापत म खतर्नाकको सूचीमा परेको थिएँ । यही कारण नेपालका कम्युनिस्टहरूले मलाई सहयोग गर्दैनथे । काङ्ग्रेसमा नाम गोप्य राख्ने चलन थिएन । चोर्ने, ठग्ने, ढाँट्नेलाई नै हो नाम भन्न नहुने, अरूलाई आपत्ति पनि थिएन । यहाँ कम्युनिस्टहरू चोर्थे भन्न खोजेको होइन, उनीहरू पञ्चसँग मिलेका थिए, त्यसैले २–४ वटा नक्कली नाममा काम गर्थे । मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठ तथा विष्णुबहादुर मानन्धरका समूहहरू मात्र बहुदलीय पक्षधर थिए । मेरै यो घटनामा फेडरेसन अध्यक्ष श्री कैलाश कार्कीले रु. ७ सय मद्दत गर्नुभएको थियो । यसरी मेरो उपचार भए पनि ढाडको समस्या बाँकी नै थियो । पछि तीन वर्षजति योगा गरेपछि निको भयो । यसरी मैले पहिलोचोटि बीपीलाई भेटेको थिएँ । उहाँमार्फत विमलेन्द्र निधिसित सम्पर्क भयो ।

२०४७ पछि मेरो धेरैसित भेट भयो । २०३४–३५ देखि नै गणेशमान सिंह, मनमोहन अधिकारीसित मेरो सम्पर्क थियो । २०३७ देखि बीपीकहाँ बाक्लै आउजाउ रह्यो । केही समय शरणविक्रम मल्लसित मेरो बसाइ पनि भयो । यो ०३३/३४ तिरको घटना हो, उहाँमार्फत साहना प्रधान, बलबहादुर के.सी. तथा मनमोहनसम्म मेरो चिनापर्ची भएको हो । २०४५ तिर पुनर्जागरणमा काम गर्दा कृष्णप्रसाद भट्टराईसित मेरो गहिरो सम्बन्ध थियो । २०४७ पछि महेन्द्रनारायण निधि, भीमबहादुर तामाङ, सीके प्रसाईं, रामहरि जोशी, प्रदीप गिरी, नूतन थपलियादेखि कृष्ण पहाडीसम्म मेरो आउजाउ रह्यो । पञ्चायतको अन्त्य गर्ने हो भने काङ्ग्रेस र वाम मोर्चाको कार्यगत एकता जरुरी छ भन्ने लाइनमा लेखेबापत मालेले हामीलाई कारबाही गरेको थियो । यसरी म खटेरै बहुदलवादी थिएँ । त्यसकारणले मैले कहिल्यै आफ्नो नाम लुकाइनँ र लुकाउन पनि परेन । जब महेन्द्रनारायण निधिको सम्पर्कमा पुगेँ, तब थाहा पाएँ कि विमलेन्द्र निधि त उहाँकै सुपुत्र हुनुहुँदो रहेछ । निधि त उहाँहरूको थर या जातै रहेछ । यसरी निधिबारे थाहा पाउन मैले १० वर्ष कुर्नुपर्‍यो । महेन्द्रनारायण निधि किशुनजीका असाध्यै प्रियपात्र र म किशुनजीप्रति अत्यन्त भक्ति राख्ने भएकाले पनि यो नाम मलाई प्रिय भइरह्यो । त्यसो त म गिरिजाबाबुको यस अर्थले विरोधी भएँ कि उहाँको व्यवहारले नेपालमा ह्वात्तै कम्युनिस्टहरू बढे । यो निजीकरणले भ्रष्टाचार मौलायो । उहाँले बीपीको समाजवाद हावामा उडाइदिनुभयो ।

आज देशमा विकृत पुँजीवाद छ । यो गिरिजाबाबुकै कमजोरीका कारण भएको हो । यस्ता केही कारण म गिरिजाबाबुको विरोधी भएँ । मैले थाहा पाएसम्म सीके प्रसाईं, महेन्द्रनारायण निधि, प्रदीप गिरी आदि बीपीको समाजवादलाई राम्ररी बुझेका र पालना गरेका व्यक्तिहरू हुन् । पार्टी सभापति शेरबहादुर देउवा पनि किशुनजीले पत्याएको व्यक्तित्व हो । अहिले उहाँहरू काङ्ग्रेसको उच्च तहमा हुनुहुन्छ । जबसम्म समाजवादी अर्थतन्त्र लागू हुँदैन, तबसम्म काङ्ग्रेस मजबुत हुँदैन र चरम गरिबीका कारण कम्युनिस्ट अफबाह फैलिरहनेछ । यसर्थ काङ्ग्रेसले आफ्नो विधानमै समाजवादी लेख्नु र त्यही कार्यनीति बनाएर अघि बढ्नु राम्रो हुन्छजस्तो मलाई लाग्छ । फेरि महेन्द्रनारायण निधिलाई नेपालका गान्धीका रूपमा चिन्ने गरिन्छ । उहाँकै सुपुत्र विमलेन्द्र निधि अहिले उपप्रधान तथा गृहमन्त्री पनि हुनुभएकाले यति स्मरण गरेको हुँ । साथै कम्युनिस्टहरूबाट संविधान बन्ने र पालना हुने किञ्चित पनि विश्वास गर्न सकिँदैन । उनीहरू द्वन्द्ववादी भएकाले नेपालको बहुलवादी समाजमा समन्वयका लागि काङ्ग्रेस मात्रै शासनका लागि योग्य भएको जगजाहेरै छ ।

यसर्थ काङ्ग्रेसमा समाजवाद स्थापित गर्न–गराउन श्री निधिले पनि आवश्यक पहल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । अब यस्तो न हाँसको चाल न कुखुराको चालले काङ्ग्रेस त उँभो लाग्दैन लाग्दैन, देश पनि उँभो लाग्दैन । बीपीको सिद्धान्त लागू गर्ने अहिले स्वर्णिम अवसर छ । यसो भएमा हामीजस्ता समाजवाद मन पराउने अनगिन्ती मानिसलाई काङ्ग्रेसमा लाग्न सजिलो पर्ने थियो । बिन्ती भनौँ वा स्मरण भनौं मेरो विमलेन्द्र निधिमार्फत काङ्ग्रेसलाई यही सुझाब छ । खालि सत्ता मात्र हेर्ने हो भने काङ्ग्रेसले राजनीति नगरे हुन्छ । मेरो आशय हो समाजवादी काङ्ग्रेस र जबजवादी एमाले मिलेर देशको गरिबी र पछौटेपन हटाउनु आवश्यक छ । तर, काङ्ग्रेसले किन उल्टो बाटो रोज्यो ? मलाई आश्चर्य लागेको छ । जसले १० वर्षसम्म देशलाई दोहोलो काढ्यो, जनता विदेशीको गुलाम बन्न बाध्य पार्‍यो, उसलाई काखी च्यापेर काङ्ग्रेस वा मुलुकको हित हुने कुरामा मलाई पटक्कै विश्वास छैन । यदि भएछ भने गोरु नै पनि व्याउला । अहिलेलाई यत्ति नै । अस्तु ।
[email protected]