बेलायती जनचासोमा ईयू रेफेरेण्डम, ‘बस्ने’ र ‘बाहिरिने’ बीचमा व्यापक राजनीति

बेलायती जनचासोमा ईयू रेफेरेण्डम, ‘बस्ने’ र ‘बाहिरिने’ बीचमा व्यापक राजनीति


-प्रकाश के.सी.
eu-refसन् १९७३ मा पहिलोपटक बेलायत युरोपियन युनियनको सदस्यको रुपमा युनियनभित्र दर्ता भएको हो । २८ वटा राष्ट्रहरु मिलेर बनेको युनियन वास्तवमा दोस्रो विश्व युद्धपछि चार राष्ट्रहरुको मिलिमतोमा स्थापित भएको हो । पेरिसमा भएको सम्मेलनमा सोबेला कोइला, स्टिल तथा फलामहरुमा व्यापारिक सम्वन्ध राख्ने प्रावधान राखेको भए तापनि बताइए अनुसार सोभियत रुसको विस्तारलगायत जर्मनीको तागतलाई प्रतिरोधात्मक उपस्थिति राख्नको लागि सो युनियनको जग हालिएको थियो । १९ वटा सदस्य राष्ट्रहरुले युनियनको आफ्नो मुद्रा युरो प्रचलनमा ल्याएका छन भने बाँकी देशहरुले युनियनभित्र रहे तापनि आफ्नै मुलुकको मुद्रा अद्यापि चलाएका छन्, बेलायत ती राष्ट्रहरुमध्ये एक हो ।

जति-जति निर्वाचनको समय नजिकिँदै छ, प्रचारप्रसारमा जनतालाई ‘डर तथा भय’ देखाउने प्रयायले सभावनाहरुउपर ‘चर्चा-परिचर्चा’ गर्ने खालका राजनीतिहरु चलिरहेको छ । बेलायतमा यही महिना ४३ वर्षपछि सोही युनियनभित्र ‘रहने’ कि ‘छुट्टिने’ भन्ने बारे यही महिनाको २३ तारिख जनमत संकलन गरिँदै छ । बेलायतको कन्जर्भेटिभ पार्टीले दोस्रो निर्वाचनमा अर्थात् अघिल्लो वर्ष, विशेषगरी ‘म्यानिफेस्टो’मा राखेकोे प्रतिज्ञाअनुसार २०१७ मा ‘ईयू रेफेरेण्डम’अन्तर्गत निर्वाचन गरिने भनेको अनुसार नै यही महिनामा ‘जनमत’ हुन लागिरहेको हो । निश्चय नै ईयू ‘भित्र’ र ‘बाहिर’ भन्नेबारे गरिन लागेको यस जनमत संकलनमा जनचासोमा गम्भीरता हुनु स्वभाविकै हो । ४३ वर्षसम्म यस युनियनभित्र रहेर साँचेको राष्ट्रिय अनुभवहरुलाई हरेकले आआफ्नो दृष्टिकोणबाट मूल्यांकन अवश्य नै गर्ने गर्दछन्, हरेकले आफूलगायत आफ्नो परिवारको हितको बारेमा नै सोँची आफ्नो राय बनाउनेछन् तर समग्रमा देशको अवस्था कस्तो हुनेछ भन्ने बारेमा बुझ्नुचाहिँ उत्तम हुनेछ । देश राम्रो भए, निश्चय नै व्यक्ति तथा परिवारलाई राम्रो हुनेछ ।

EU-flags-at-half-mastके हुन्छ त युनियनभित्र ‘रहँदा’ र ‘बाहिर’ जाँदा ४३ वर्षपछि ?

सबैभन्दा पहिलो अनिश्चितताको विषय यो छ कि, युनियनबाहिर फर्कँदा के र कस्तो हुन्छ भन्ने ‘मोडेल’ उत्तर छैन, किनकि योभन्दा अगाडि कुनै राष्ट्र यसरी छुट्टिएकै छैन । अनिश्चितता हुँदाहुँदै पनि सम्भावनाहरु र संकेतहरु नै काफी हुन्छ, फाइदा र बेफाइदाको बारेमा अनुमान लगाउन । युनियनमा एक सदस्य राष्ट्र बन्नेको लागि तिरिने १३ बिलियन पाउण्ड रकमको तुरुन्तै बचत गरी बेलायतमा नै त्यसको प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रहरुमा र्खच गर्न सकिने छ । हरेक नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने एनएचएसमा सो रकमको खर्च भनेको एन.एच.एस.मा आमूल परिवर्तनका साथै व्यापक विकास ल्याउन सकिन्छ । सरकारी तथ्यांकअनुसार, गत वर्ष बेलायतबाट ५१ प्रतिशत युरोपियन युनियनबाहिर निर्यात भएका थिए, भने युनियनभित्रका मुलुकहरुसँग गत वर्ष ट्रेड डेफेसिट १२९.४ बिलियन यूएस डलर रहेको थियो, जहाँ ६० बिलियन यूएस डलरको व्यापार बचत युनियनबाहिरका देशसँग बेलायतले गरेको थियो । ‘सिंगल मार्केट’ पोलिसी हुँदाहुँदा पनि बेलायतले युनियनभित्र व्यापक मात्रामा व्यापारिक घाटा बेहोरिरहेकोलाई युनियनबाट बाहिरिने समूहले महत्वका साथ हेरिरहेका छन् । हुन त अहिले युनियनले अमेरिकासँग नयाँ ‘ट्रेड’ डिल गर्न लाग्दैछ, जसले सायद युनियनलाई ‘फ्री ट्रेड जोन’ बनाउला, तर त्यो मुख्य रुपमा बेलायतलाई बाहिरिएपछि घाटाको रुपमा लाग्ला भन्ने देखिँदैन। जति नै अमेरिकी डेमोक्रेटहरुले बेलायतसँग आफ्नो देशको विशेष सम्वन्धको हावाला दिएर पनि बेलायतलाई युनियनबाट बाहिरिएपछि खासगरी ट्रेड डिलहरुमा वशिेष नरहने भने तापनि संयुक्तमा बेलायत त्यसरी ‘मार्जिनलाइज्ड’ गर्नै नसकिने राष्ट्रको रुपमा विश्व मानचित्रमा स्थापित भएको राष्ट्र भएकोले अमेरिकी डेमोक्रेटहरुको सो राजनीति चाल मात्र भएको स्पष्ट हुन्छ । युरोपको गेट-अवेको रुपमा आर्थिक केन्द्रको रुपमा रहेको बेलायत, युनियनबाट बाहिरिएपछि छायामा पर्ने सम्भावनाहरु भएको देख्ने प्रो युनियनहरुका लागि बाहिरिनेहरु के भन्छन् भने, युरोपको गेट-अवेको रुपमा बेलायत कहिल्यै नरहेको नभुल्न आग्रह गर्दछन् । बेलायत जे र जस्तो आफ्नै बलबुतामा भएको र त्यसरी नै सम्वृद्ध रहने बताउँदछन् । युनियनबाट अगग्गिएपछि सिंगापुर स्टायलको तीव्र गतिको अर्थतन्त्रको रुपमा बेलायत स्थापित हुने बताउँदछन् ।

eu-mobilityईयू प्रावधानअनुसार, बेलायतले ईयू राष्ट्रका कुनै पनि नागरिकहरुलाई बेलायतमा आउन र रहनको लागि रोकतोक लगाउन सक्दैन, न त अन्य युरोपियन मुलुकले नै बेलायती नागरिकलाई त्यहाँ गएर रहनबाट बन्देज लगाउन सक्दछ । तर बेलायतको सम्वृद्धि र न्यायिक हालात तथा स्वतन्त्रताले गर्दा बेलायतबाट अन्य मुलुकमा गएर बस्नेहरुको मात्रा अत्यन्तै न्यून छन् । तर पूर्वी तथा दक्षिणी युरोपियन राष्ट्रहरुबाट आएर बेलायतमा बसोबास गर्नेहरु अत्यन्तै ज्यादा आँकडामा देखिएको छ । हुन त सस्तो लेबरहरुको खपत हुनु व्यावसायीहरुका लागि राम्रै हो । एक स्थानीय अर्थात् बेलायती कारिन्दाको बदलामा पाँच छ जनासम्मको अन्य युरोपियन मुलुकका बासिन्दाहरुलाई रोजगारी दिन पाउने व्यवसायहरु नाफामुलक हुन्छन् नै तर ‘निम्न आय’ भएका बेलायती नागरिकहरुलाई बेलायतमा यस आधारमा बाँच्न दिनप्रतिदिन मुश्किल पर्दै गएको भने पक्कै हो । यसरी भित्रिने पूर्वी तथा दक्षिणी भेगका युरोपियनबासीहरुसँग तलवको हालातले यहाँ निम्न आय गर्नेहरु किन पनि प्रतिष्पर्धा गर्न सक्दैनन् भने, ती त यहाँ कमाउनका लागि मात्र आएका हुन्छन् तर यहाँ निम्न आय हुनेहरुले सोही आयमा बाँच्नु पर्ने हुन्छ, त्यसरी यहाँ सोही कमाइको भरमा सारा र्खच ब्यहोर्दै बाँच्न गाह्रो हुन्छ र त्यसैले त्यो समूहहरु युनियनभित्र रहनुभन्दा बाहिरिनुमा नै कल्याण देख्दछन् । ज्यादा जनसंख्याको भार अर्कोतिर एनएचएसमा परेको छ । आफ्नो मुलुकको बोर्डरको आफूले रक्षा गर्न नसक्नु राष्ट्रको स्वाधीनताको विषयमा निक्कै सम्वेदनशील विषय भएको र त्यसको नियन्त्रण बेलायतसँग हुन नसक्नुलाई बाहिरिनेहरु ठूलो तर्कको रुपमा लिएका छन् ।

‘छुट्टिने’हरु बेलायत विश्वको मानचित्रमा फेरि एउटा स्वतन्त्र देश भई संसारमा आफ्नो शक्तिशाली उपस्थिति देखाउन सक्षम हुने देख्दछन् भने भित्रै रहनेहरु, त्यसरी छुट्टिए, विश्वको मानचित्रमा शक्तिशाली बन्दै जाने युरोपियन युनियनको विशालताको पछाडि छायाजसरी रहने बताउँदछन् । मुख्य रुपमा युनियनबाट अलग्गिएपछि बेलायतले स्वयं फैशला गर्ने छ कि को ‘भित्र’ आउँछ र को आउँदैन । त्यसरी राष्ट्रिय सुरक्षाको मामलामा बेलायत पूर्ण सक्षम हुनेछ ।

calaisगत वर्षबाट सिरियामा युद्धको ज्यादतिका कारण सो देशबाट पलायन भएर खासगरी यरोपमा शरणार्थीको रुपमा छिर्ने र छिर्न खोज्नेहरुको जमातहरु दोस्रो विश्व युद्धपछि विकराल रुपमा देखिएका छन् । लाखौंको संख्यामा यसरी भित्रिनेहरुमा प्रामाणिक रुपमा छानविन नगरी छुट दिइएका जमातमा हजारौं अतिवादीहरु पनि नपरेका होइनन्, त्यसको परिमाणमा जर्मन, फ्रान्स, बेल्जियम आदि देशहरुमा अतिवादी कृयाकलापहरुमा प्रचुरता देखिएका छन्, त्यसलाई रोक्न सक्ने अवस्थाबाट युरोप नाकाम हालातमा गुज्रिरहेको स्पष्टै हुन्छ । त्यो हालातबाट बच्नको लागि पनि ‘ब्रेक्जिट’ अर्थात् युनियनबाट बाहिरिनुमा बेलायतको बुद्धिमानी कदम रहने सम्वद्धहरु बताउँदछन् ।

मुख्यतया युनियनभित्रै रहनका लागि प्रधानमन्त्री क्यामरुन र बाहिरिनका लागि लण्डनका भूपू मेयर बोरिस जोन्सन अगाडि रहेका छन् । लगभग बराबर जस्तै गरेर विभिन्न पोलहरुमा रहने र निस्कनेहरुका मात्रा देखिएका छन् । बेलायतबासी हरेक नागरिकले राख्न पाउने मत यो शताब्दीको सबैभन्दा ‘महत्वपूर्ण’ मत रहेको सन्दर्भलाई कसैले नकार्न सक्दैन । आफ्नो प्रत्यक्ष फाइदाको लागि मात्र नसोँची सम्पूर्ण देशको बारेमा सोँच्नु अति नै वुद्धिमानी हो तर नेपाललगायतका तेस्रो राष्ट्रबाट आएर यहाँ स्थायी बसोबास गर्ने नव नागरिकहरु जो वहुमतमा निम्न आय भएकाहरु हुन्छन् ले भने सर्वप्रथम आफ्नो भलोको बारेमा सोँच्नु नै जायज देखिन्छ ।

विशेषगरी निम्न तर्कहरु ‘भित्र र बाहिर’का लागि दुबैथरिबाट प्रकाशमा आएका छन् :

इमिग्रेसन
छुट्टिनेः बेलायतले कहिल्यै इमिग्रेसरउपर नियन्त्रण पाउन सक्दैन, किनकि युरोपियन मुलुकहरुमा स्वतन्त्र रुपमा घुम्न र रहन पाउने अधिकार, युरोपियन युनियनको जनताको अधिकार हो ।

रहनेः छुट्टिएपछि झन् बेलायतले कुनै पनि हालातमा ‘इमिग्रेसन’उपर नियन्त्रण राख्न सक्दैन, किनकि युनियनबाट छुट्नासाथ अस्थायी रुपमा रहेका शरणार्थीहरुको अखाडा मानिएको फ्रान्सको क्यालाइसबाट बेलायतको डोभरमा सर्नेछ ।

ट्रेड
छुट्टिनेः युनियनभित्र रहेकोले मुख्यरुपमा बेलायतको ट्रेड युनियनभित्र राख्नुपर्ने भएकोले भारत तथा चीनलगायतका मुलुकहरुसँग ‘मेजर ट्रेड डिल’ गर्न मिलेको छैन तर छुट्रिटना साथ त्यो सम्भव छ र अन्तर्राष्ट्रिय लिंकहरु खुल्ला हुनेछन् ।

रहनेः लगभग आधा र्अथात् ५० प्रतिशत युरोपियन युनियनबाहिरका मुलुकहरुमा बेलायतले आफ्ना सामानहरु निर्यात गर्दछ, छुट्टिनासाथ युरोपभित्रको ‘फ्री ट्रेड’ रद्द भई बेलायतलाई घाटा लाग्ने छ ।

कानून
छुट्टिनेः बेलायमा हाल विद्यमान रहेको अधिकतम मात्राका कानूनहरु युरोपियन युनियनको राजधानी ब्रसेल्सबाट पारित गरिएका हुन् । छुट्टिनासाथ बेलायतले आफ्नो राष्ट्रको आफ्नै प्रकारको नीति र नियमको निर्माण गर्न सक्षम हुनेछ ।

रहनेः युरोपियन युनियनबाट लगाइएका नीति र नियमहरुको गलत अर्थले परिभाषित गर्ने ब्रेक्जिटवालाले त्यसलाई सरलीकरण गर्नुको साटो बाहिरिन खोज्नु मूर्खता मात्र हो ।

रोजगारी
छुट्टिनेः रोजगारीसम्बन्धी सम्भावना प्रो युनियनहरुले बढाइचढाइ गरेर बनाएका हुन् । निश्चय नै ठूलाठूला कम्पनीहरुलाई सस्ता कामदारहरुबाट फाइदा नै हुन्छ र तिनका युरोपियन अन्य मुलुकहरुमा फैलिएका तिनका व्यवसायहरुबाट पनि उत्तिकै मात्रामा फाइदा हुन्छ तर निम्न आय भएका अनि यहीं कमाएर यहीँ बाँच्नु पर्ने आम जनताहरुलाई छुट्टिएपछि ज्यादा रोजगारी मिल्ने छ । तिनको ज्यादादर तिनले भोग्ने खर्चहरुको हिसावमा बनाइएका हुन्छन् । स्कान्डेनेभियन मुलुकहरु जस्तै गरेर बेलायतमा रोजगारी स्थापित हुनेछ ।

रहनेः तीस लाख जति रोजगारीहरु युरोपियन युनियनसँग सम्वद्ध भएकोले तिनका रोजगारीमा व्यापक असर पर्ने पक्का छ, यदि बेलायत युनियनबाट बाहिरियो भने ।

अर्थतन्त्र
छुट्टिनेः निम्न आय करले गर्दा अन्र्तराष्ट्रिय वित्तीय संस्थाहरुको लागि लण्डन एक केन्द्रको रुपमा हमेशा नै रहने छ, त्यसैले बेलायतको अर्थतन्त्रमा झन् बलियो प्रभाव पर्नेए छ, किनकि, राष्ट्रको हितको लागि बेलायतले समयसापेक्ष नीति कुनै पनि बेला ल्याउन सक्षम हुनेछ ।

रहनेः ज्यादाजसो व्यांकहरु बेलायतबाट बाहिरिने छन् किनकि युनियनमा बस्दा तिनलाई व्यावसायी फाइदा ज्यादा पुग्दछ ।

स्वाधीनता
छुट्टिनेः बेलायतको पार्लियामेन्ट अहिले स्वाधीन छैन । एभर क्लोजर युनियन नीति र अतिरिक्त आर्थिक संलग्नताले बेलायतलाई गहिरोमा जाकिरहेको छ, त्यसबाट मुक्ति छिटोभन्दा छिटो पाउनु उत्तम छ ।

रहने: विश्वव्यापीकरण भइरहेको बेलामा बेलायतले पृथकता चाहानु भनेको अँध्यारोतर्फ हाँकिनु हो । युनियनभित्र रहँदा बेलायत संरक्षित रहन्छ ।